अत्याधुनिक पेट्रोल पम्प सञ्चालन हुने

अत्याधुनिक पेट्रोल पम्प सञ्चालन हुने

काठमाडौं : मुलुकका विभिन्न स्थानमा सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा आउने भएका छन् । नेपाल आयल निगमले अत्याधुनिक सुविधासहितका पेट्रोल पम्प सञ्चालन गर्न अनुमति दिएसँगै सरकारी र निजी क्षेत्रले यस्ता पम्प खोल्ने गर्ने तयारी गरेका छन् । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३ मार्फत उपभोक्ताका लागि आवश्यक सम्पूर्ण सुविधासहितको पम्प खोल्न दिने प्रक्रिया अघि बढाएको हो ।

नयाँ मापदण्डअनुसार सञ्चालन हुने पम्पमा बैंकको एटीएम काउन्टर, रिफ्रेसिङ सेन्टरसहित आराम गृह, अपांगमैत्री शौचालय, सपिङ मल, रेस्टुँरा, हरियालीसहित ठूलो पार्किङ, सवारीसाधन मर्मत केन्द्रलगायत सुविधा हुनुपर्नेछ । उपभोक्ताले पैसा बोकेर पम्पमा जानुपर्ने झन्झट हट्नेछ । उपभोक्ताले पम्पमै हुने एटीएम काउन्टरमा एटीएम कार्ड प्रयोग गरी सिधै भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ताले खरिद गरेबापत स्वचालित बिलिङ मेसिनबाट बिलसमेत प्राप्त गर्न पाउनेछन् । निगमका प्रवक्ता सीताराम पोखरेलले यो मापदण्डअनुसार हालसम्म ७३ वटा पेट्रोल पम्प सञ्चालन गर्न प्रस्ताव परेको जानकारी दिनुभयो । यसमा सरकारी र अर्धसरकारीतर्फ १७ वटा र निजी क्षेत्रबाट ५६ वटा प्रस्ताव परेको छ ।

पोखरेलका अनुसार सरकारी र अर्धसरकारीतर्फ सबैभन्दा बढी नेसनल ट्रेडिङ लिमिटेडले सातवटा सञ्चालन गर्न अनुमति मागेको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन र साझा सेवाले चार÷चारवटा पेट्रोल पम्प सञ्चालन गर्न प्रस्ताव गरेका छन् । यस्तै नेपाली सेनाले बुटवलमा एक र पोखरामा एक गरी दुई पम्पका लागि प्रस्ताव गरेको छ ।

नमुना पम्प सञ्चालनका लागि सबैभन्दा बढी मध्यमाञ्चलबाट प्रस्ताव परेका छन् । मध्यमाञ्चलबाट २६ वटा, त्यसपछि पश्चिमाञ्चलबाट १७, पूर्वाञ्चलबाट १३, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट एक÷एकवटा प्रस्ताव परेको छ । निगमका अनुसार नमुना पेट्रोलपम्प सञ्चालनका लागि ६ वटाले इजाजत पत्रसमेत प्राप्त गरिसकेका छन् । पोखरामा विकास आयल स्टोर र सेनाको रिपुमर्दिनी आयल स्टोरले इजाजत प्राप्त गरिसकेको छ । सेनाको रिपुमर्दिनी केही समयपछि सञ्चालनको क्रममा छ । यसैगरी सिरहाको गोलबजारमा गणपति बाबा ट्रेडर्स, सप्तरीमा ओम श्री आयल स्टोर, धनकुटामा महावोधी पेट्रोल पम्प सेन्टर र रूपन्देहीमा मसिना इन्धन सप्लायर्सले इजाजत प्राप्त गरेको हो ।

निगमले यस्तो पम्प सञ्चालनका लागि यही वैशाखमा असार मसान्तसम्मको अवधि दिएर दोस्रोपटक सूचना प्रकाशित गरेको थियो । यसअघि गत २०७३ को पुसमा माघ मसान्तसम्मको अवधि दिएर पहिलो पटक सूचना जारी गरेको थियो । २०६९ देखि पम्प सञ्चालनका लागि आवश्यक अनुमतिपत्रमा रोक लगाइएको थियो । नयाँ मापदण्ड आएसँगै अनुमतिपत्रका लागि बाटो खुलेको हो । नेपालमा हाल परम्परागत प्रकृतिको दुई हजार एक सयको संख्यामा पम्प सञ्चालनमा छ । निगमका अनुसार एउटा पेट्रोल पम्प सञ्चालन गर्न १० करोड रुपैयाँ लाग्छ । यसअनुसार ७३ वटा पम्प निर्माण गर्न निजी र सरकारीतर्फबाट सात अर्ब ७३ करोड रुपैयाँ लगानी हुनेछ ।

यस्तो पम्पको अनुमतिपत्र लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै यो पम्प निर्माण गर्न पहाड र हिमालमा पाँच रोपनी र तराईमा एक बिघा जग्गा अनिवार्य गरिएको छ । पुरानो पम्पभन्दा पाँच सय मिटर र नमुना पम्पभन्दा तीन किलोमिटरको दुरीमा नमुना पम्प सञ्चालन गर्न पाउने व्यवस्था छ ।

यस्तो हुनेछ पम्पमा सुविधा

पम्पमा कम्तीमा २० वटा सवारीसाधन अटाउने हरियालीसहितको पार्किङ सुविधा हुनेछ । यसैगरी अपांगमैत्री शौचालय ६ वटा र अन्य शौचालय ६ वटा हुनेछ । सवारीसाधन मर्मत सम्भार गर्ने वर्क सप, रेस्टुँरा, रिफ्रेसिङ सेन्टरसहितको आराम गृह, सपिङ मल र एटीएम काउन्टर हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.