नोकिया ३३१० को आकर्षण
काठमाडौं : गत शुक्रबारदेखि नोकियाको सिग्नेचर उत्पादनको रूपमा ३३१० मोडलको फोन नेपाली बजारमा भित्रियो । भित्रियो पनि कसरी, जम्मा दुई हजार सेटका साथ । नेपालमा भित्रिएको दुई घन्टामा कम्पनीले यो प्रोडक्ट बजारमा पठाइसकेको थियो । माग बढ्यो उत्पादन छैन र फेरि तुरुन्तै ल्याउने पनि कुनै सम्भावना छैन । किनकी ३३१० लाई नोकियाले बिक्रीका लागिभन्दा पनि आफ्ना पुराना ग्राहकलाई नोकियाको इतिहास सम्झाउन ल्याएको हो । सन् २०१७ को अन्त्यबाट यसको उत्पादन फेरि बन्द हुनेछ ।
नोकियाको ३३१० पहिलो पटक सन् २००० मा बजारमा आएको थियो । जुन अहिलेसम्म पनि सबैभन्दा बढी बिक्री हुने फोनको रूपमा विश्व बजारमा चिनिएको छ । त्यस समयमा ३३१० को बिक्री १५ करोड भएको थियो । यसमा भएको स्नेक र स्पेस इमप्याक्ट गेमले त्यस समय सबैलाई आकर्षण गरेको थियो जसको क्रेज आज पनि उस्तै देखिएको छ । केही समयको बि श्रामपछि फेरि कमब्याक गरेको नोकियाको क्रेज नेपालमा मात्र नभई विश्व बजारमै उस्तै देखिएको छ । पहिलो त कमब्याकको समयमा यसले पाएको चर्चा हो । अर्को सार्वजनिक भएपछि बजारमा देखिएको यस फोनको अभावले प्रयोगकर्तामाझ नोकियाको छाप अझै पनि जीवित रहेको देखाएको छ ।
नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउन्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नेपालमा भित्रिएको दुई घन्टामा कम्पनीले नोकियाको ३३१० लाई बिक्री गरिसकेको उल्लेख गर्नुभयो । ‘हामीले ल्याएको सबै सेट बजारमा गइसकेको छ,' उहाँले भन्नुभयो, ‘बजारमा पनि २० प्रतिशत सेटमात्र बिक्री हुन बाँकी छ ।' कम्पनीले बजार मागअनुसार उत्पादन पुर्याउन सकेन ।
‘पाँच सय सेट माग भएको ठाउँमा ५० वटा सेट दिनुपर्ने बाध्यता आयो', उहाँ भन्नुहुन्छ, ‘कम्पनीले पनि एकै ठाउँमा धेरै उत्पादन दिनुभन्दा पनि देशको सबै ठाउँमा पुगोस् भन्ने सोचका साथ माग भएका ठाउँमा १०-१२ वटा सेट पुर्याएको छ ।' ता कि, किन्न रहर भएका सबैले पाउन् । ‘कम्पनीले नोकिया ३३१० को मूल्य पाँच हजार दुई सय ५५ तोकेको छ । तर बजारमा कतिपय व्यापारीले तोकिएको मूल्यभन्दा पनि बढी लिएर मोबाइल बिक्री गरिरहेको पाइयो', उहाँ थप्नुहुन्छ ।
नोकियाले ३३१० मोडललाई बिक्रीका लागिभन्दा पुराना ग्राहकलाई नोकियाको इतिहास सम्झाउन ल्याएको हो । सन् २०१७ को अन्त्यबाट यसको उत्पादन फेरि बन्द हुनेछ ।
शर्माका अनुसार नोकियाले ३३१० सबैको लागिभन्दा पनि आफ्ना फ्यानको लागि पुनः सार्वजनिक गरेको हो । त्यसैले यो सेट नेपालमा पुनः आउँछ आउँदैन भन्ने कम्पनीलाई नै थाहा छैन । आएको खण्डमा पनि एकदुई महिनापछि मात्र आउला भन्ने अनुमान हो । यो पटक निलो र ग्रे रङमा नेपालमा आएको नोकिया ३३१० अर्को पटक ल्याउँदा सबै रङमा उपलब्ध गराउने कम्पनीले योजना बनाएको छ । अहिले जुन रूपले स्मार्टफोनमा रमाइरहेका ग्राहकले बारफोन नोकिया ३३१० मा आकर्षण देखाए त्यो नोकियाप्रतिको ग्राहकको विश्वास हो । शर्माका अनुसार कसैले ब्याट्री ब्याकपको लागि यो फोन किनेभने कसैले सजाएर राख्न । नकिन्नु पनि कसरी फोन बोक्न सुरुगर्दा सबैले बोकेको बारफोन हो यो । तर सन् २०१७ को अन्त्यबाट यो सेटको उत्पादन पुन बन्द हुने उहाँ बताउनुहुन्छ ।
कम्पनीले नोकिया ३३१० लाई बजारमा ल्याएसँगै एन्ड्रोइडमा आधारित पहिलो पटक विश्व बजारमा भित्रिएको नोकिया थ्री, नोकिया फाइभ र नोकिया सिक्सलाई पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । शर्माका अनुसार ‘नोकिया थ्री' र ‘नोकिया फाइभ' यसै महिनाको अन्त्यसम्म र ‘नोकिया सिक्स' भने असारमा नेपाली बजारमा आइपुग्नेछ । नेपालमा आइपुग्दा नोकिया थ्रीको बजार मूल्य १६ हजार, नोकिया फाइभको २२ हजार तथा नोकिया सिक्सको २६ हजारको हाराहारी हुने कम्पनीले जनाएको छ । यो मूल्यमा नोकियाको कमब्याक बजारमा रहेको अन्य कम्पनीको लागि चुनौती पनि हुनसक्छ । किनभने स्मार्टफोनको साथ बजारमा कमब्याक गरेसँगै नोकियाले नेपाली स्मार्टफोन बजारको १५-२० प्रशित बजार कब्जा गर्ने विश्वास कम्पनीले लिएको छ ।
नोकिया ३३१०
स्क्रिन : २.४ इन्च क्यूभीजीए एलसीडी
स्टोरेज : १६ एमबी (३२ जीबी सम्मको एसडीकार्ड)
अपरेटिङ सिस्टम : नोकिया सिरिज ३० प्लस
क्यामेरा : २ मेगापिक्सल विद एलइडी फ्ल्यास
सिम : डबल सिम
कनेक्टिभिटी : टूजी, ब्लुटुथ, एफएम, यूएसबी
ब्याट्री : १२०० एमएएच
तौल : ८० ग्राम
मूल्य : ५,२५५