उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
सोल : उत्तर कोरियाले आइतबार पुनः अर्को क्षेप्यास्त्रको परीक्षण गरेको छ । उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमा देखाएको लगातारको मोहपछि संयुक्त राष्ट्रसंघद्वारा कडा नाकाबन्दी लगाउनुपर्ने चेतावनी दिइरहेका बेला प्योङयाङले यो अर्को परीक्षण गरेको हो ।
दक्षिण कोरियाले आइतबार गरेको परीक्षण यस वर्षको आठौं र एक सातायताको दोस्रो परीक्षण भएको बताएको छ । सोलले लगातारको हतियार परीक्षण उत्तर कोरियाको ‘असावधान र गैरजिम्मेवार' कार्य भन्दै भत्र्सना गरेको छ । अमेरिकाले परीक्षण गरिएको क्षेप्यास्त्रलाई मध्यम दूरीको हतियार भनेको छ ।
आइतबार प्योङयाङले दक्षिण प्योङगान प्रान्तको पुकचाङबाट क्षेप्यास्त्र छोडको र करिब ५ सय किलोमिटर टाढा गएर खसेको दक्षिण कोरियास्थित अमेरिकी सैन्य बलले बताएको छ । अमेरिकाले क्षेप्यास्त्र परीक्षणपछि भनेको छ, ‘उत्तर कोरियाको थप उत्तेजनात्मक गतिविधिको अमेरिकी सेनाले नजिकबाट नियालिरहेको छ ।
प्योङयाङका थप उत्तेजक क्रियाकलाप देखिएमा अमेरिका आक्रमणको तयारी अवस्थामा छ ।' गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तरलाई क्षेप्यास्त्र परीक्षण रोक्न अनुरोध गरेको थियो । सबै खाले परमाणु हतियारबाट उत्तर कोरियाले आफूलाई अलग गर्नुपर्ने परिषद्को भनाइ थियो ।
उत्तर कोरियाद्वारा दिएका लगातारका चुनौती सामना गर्दै अमेरिकी सेनाले यस क्षेत्रमा रहेको आफ्ना सहयोगीलाई कुनै पनि प्रकारको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । उत्तर कोरियाको परीक्षणबाट प्रभावित हुने अमेरिकी मित्रहरूमा जापान, दक्षिण कोरिया, फिलिपिन्स मरहेका छन् ।