प्राइम बैक र एसियन लाइफबीच सम्झौता
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेड र एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । जीवन बिमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहजता प्रदान गर्नेछ । योसँगै एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका बिमा योजना तथा बिमा सेवा सजिलैसँग प्राइम कमर्सियल बैंकका नेपालभरिका ५५ वटा शाखा कार्यालयबाटसमेत लिन सकिनेछ ।
एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालय रहेका छन् । २०७३ चैत समान्तसम्म यस कम्पनीको जीवनबिमा कोष नौ अर्ब ४२ करोड, लगानी नौ अर्ब ६ करोड तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।