रोल्पा सदरमुकामकै बालबालिका कुपोषणको सिकार !
रोल्पा: रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन्।
बाबु श्यामलाल विक मजदुरीका लागि घरबाट निस्केपछि नफर्कुन्जेल बन्द कोठमा एकोहोरिएर सुतिरहन्छन् उनी। ओछ्यानमै दिसापिसाब गर्छन्, भोकप्यास लागे पनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै हुन्छ । दाजु विकास विवेकभन्दा १ वर्ष मात्र जेठा छन्।
भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन्। बाबु समयमै घरमा आए खान पाउँछन नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् ।
चालिस वर्ष उमेर पुगिसकेका श्यामलालले ४ वर्षअघि स्थानीय मिझिङकी अप्सरा कामीसँग विवाह गरे। वर्षौटे दुई छोरा जन्मिए पनि आर्थिक समस्याका कारण राम्रोसँग स्याहार गर्न नसकेकाले दुवै छोरालाई कुपोषण भयो।
विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशुस्याहार केन्द्र दाङमा लगी भर्ना गरे। पोषण पुनः स्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु केही पोषित भएपछि श्यामलाल घर फर्किदा श्रीमती भने घरमा थिइनन्।
श्रीमतीका वारेमा लामो समयसम्म खोजी गर्दा कसैले काठमाडौं ईंट्टा भट्टा गएको सुनाए भने कसैले पोइल गई भने तर म भने छोराहरुको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ तर चार महिना बितिसक्दासमेत श्रीमती नफर्केको उनले गुनासो गरे।
यी छोरालाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने, घरमा अरु कोही छैनन्। काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हुँदैन सुनारले गम्भीर हुँदै भने। नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने गरेकाले दुई छोराको भत्ताबाट केही दिन जुगारा चले पनि बाँकी दिनका लागि भने मजदुरीमै भर पर्नुपर्छ।
बालबालिकाको ८० प्रतिशत दिमागको विकास २ वर्षमै भइसक्ने भनिए पनि अल्पआहारका विवेक सुस्त विकास भने कम सुस्त छन्। रासस