औषधि आयात रोक प्रकरण, उत्पादक र आयातकर्ता विभाजित

औषधि आयात रोक प्रकरण, उत्पादक र आयातकर्ता विभाजित

काठमाडौं : सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकता दिन 'आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने' निर्णय गरेपछि उत्पादक र आयातकर्ता दुई कित्तामा उभिएका छन् ।नेपाली औषधि उद्योगहरूले बजार धानिसकेका विभिन्न ३५ प्रकारका औषधिको आयात रोक्ने सरकारी निर्णयविरुद्ध आयातकर्ताहरू उत्रिरहेका बेला उत्पादकर्ताहरूले भने खुलेरै उक्त निर्णयको स्वागत गरेका छन् ।

नेपालमा औषधि आयात गर्दै आएकाहरूले सोमबार जुलुसपछि स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि उत्पादक संघ र नेपाल आयुर्वेदिक औषधि संघले भने छुट्टै पत्रकारसम्मेलन गरेर उक्त निर्णयले सबै प्रकारका औषधिमा आत्मनिर्भर हुने बाटो खुलेको भन्दै प्रशंसा गरे ।

करिब २६ अर्ब रुपैयाँ लगानी रहेको नेपाली औषधि बजारले अहिले जम्मा ४६ प्रतिशत हिस्सा ओगटेको छ । बाँकी बजार विदेशी औषधिले धानेको छ । यस्तो अवस्थामा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी निर्णयलाई उत्कृष्ट कदमका रूपमा लिएको नेपाल औषधि उत्पादक संघले जनाएको छ । संघका अध्यक्ष शंकर घिमिरेले औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन आफूहरू सक्षम भएको र त्यो वातावरण सरकारले यसैगरी मिलाउनुपर्ने बताउनुभयो । 'आफूलाई कमजोर ठानेर सधैं अरूमा निर्भर भयौं भने नेपालको समृद्धि कहिल्यै हुनेछैन ।

जुन कुरा हामी आफैं गर्न सक्छौं त्यसमा अरू मुलुकको भर पर्नु पर्दैन', घिमिरेले भन्नुभयो, 'नेपालमै औषधि उत्पादनको संस्थागत पहल भएको ३५ वर्षमा बल्ल प्रोत्साहन पाउन थालेका बेला उल्टै विरोध गरिएको छ । यो गलत हो । यसमा हामीलाई दुःख लागेको छ ।' संघका अनुसार सरकारले नेपाली औषधि उद्योगको प्रवद्र्धन र प्रोत्साहन गर्ने नीति लिए नेपाली औषधि उद्योगले कम्तीमा २० अर्बको विदेशी औषधि आयातलाई प्रतिस्थापित गर्न सक्नेछ ।

आफूलाई कमजोर ठानेर सधैं अरूमा निर्भर भयौं भने नेपालको समृद्धि कहिल्यै हुनेछैन । जुन कुरा हामी आफैं गर्न सक्छौं त्यसमा अरू मुलुकको भर पर्नु पर्दैन ।'
-शंकर घिमिरे, अध्यक्ष, नेपाल औषधि उत्पादक संघ

विदेशी औषधिको आयात पूरै बन्द गर्ने हो भने स्वदेशीले एकाधिकार जमाउन सक्छन् र झन् जनता चर्को मूल्यमा औषधि किन्न बाध्य हुनेछन् ।
-पवन आचार्य, महासचिव, नेपाल औषधि आयातकर्ता संघ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विदेशी औषधिको आयात रोक्दै स्वदेशी औषधिका लागि बजार खुला गर्दा समग्र नेपाली अर्थतन्त्र फस्टाउने मौका मिल्ने बताउनुभयो । विदेशी औषधि आयातमा रोक लगाउने निर्णयले नेपालको व्यापारघाटा कम गर्ने, परनिर्भरतामा कमी ल्याउने र राष्ट्रिय संकटको सामना गर्नसमेत सहयोग मिल्ने उहाँको धारणा छ । नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले नेपाल आयुर्वेदिक क्षेत्रमा आत्मनिर्भर हुनसक्ने जनाउँदै त्यसका लागि उपयुक्त वातावरण, खोज र अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाल उद्योग परिसंघका कृष्ण अधिकारीले नीतिगत सुधारमा लागेको स्वास्थ्य मन्त्रालय र सरकारलाई पूर्ण रूपमा साथ दिए नेपालको अर्थतन्त्र माथि उक्लने बताउनुभयो ।

गुणस्तरको जाँचमा चुनौती

औषधि उत्पादकले नेपाली औषधिको गुणस्तर नभएको भन्दै प्रचारबाजी गर्नेहरू र सरकार आफैंले पनि त्यसको जाँच गरेर त्रुटि फेला पार्न चुनौती दिएका छन् । नेपाली औषधि अमेरिका र भारतका भन्दा कम गुणस्तरको भए पुष्टि गरेर देखाउन उनीहरूले चुनौती दिएका हुन् ।

सरकारी निर्णयविरुद्ध उत्रेका औषधि आयातकर्तालाई लक्षित गर्दै नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपक दाहालले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उत्पादन गरिएका नेपाली औषधिको गुणस्तरप्रति प्रश्न उठाउने ठाउँ नभएको बताउनुभयो । अस्थिर राजनीतिक र अन्य समस्याका बीच पनि नेपाली औषधि उद्योगले स्तरीय औषधि उत्पादन गरेको उहाँको भनाइ छ ।

खुला अर्थतन्त्रमा आयात निषेध गर्न मिल्दैन

सरकारी निर्णयको विरोधमा उत्रिएका नेपाल औषधि आयातकर्ता संघसहित विभिन्न ६ वटा संघसंस्थाले खुला अर्थतन्त्रको नीति अपनाएको मुलुकमा पूरै औषधिको आयात बन्द गर्ने निर्णय गर्नु गलत भएको भन्दै आक्रोशित बनेका छन् । 'विश्व व्यापार संघको सदस्य भइसकेको नेपालमा यस्तो निर्णय हुनु आफैंमा आपत्तिजनक छ', संघका महासचिव पवन आचार्यले भन्नुभयो, 'विदेशी औषधिको आयात पूरै बन्द गर्ने हो भने स्वदेशीले एकाधिकार जमाउन सक्छन् र झन् जनता चर्को मूल्यमा औषधि किन्न बाध्य हुनेछन् । सरकारले त गुणस्तर जाँचमा पो ध्यान दिने हो ।'

एकपक्षीय रूपमा गरिएको सरकारी निर्णय उल्टिनुपर्ने संघको माग छ । ' सरकारले केही उद्योगीको प्रलोभनमा परी आयात गर्दै आएको स्तरीय औषधि प्रतिबन्ध लगाउने निर्णय गरेको छ अनि हामीले आयात गर्दै आएको औषधि अत्यधिक महँगो भन्दै भ्रामक समाचार बाहिर ल्याइएको छ', उहाँले भन्नुभयो, 'यो सबै नियतबस गरिएको छ । यसका विरुद्ध हामी उत्रिएका हौं ।'

नेपाल औषधि लिमिटेडको जीवनजल बजारमा

काठमाडौं : लामो समय बन्द भई पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सोमबारदेखि जीवनजल बजारमा ल्याएको छ । लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीका अनुसार हरेक दिन १० हजार प्याकेट उत्पादन गर्ने काममा लिमिटेड जुटेको छ । उहाँले सोमबार मात्रै बजारमा पाँच हजार प्याकेट पठाइएको बताउनुभयो । उहाँका अनुसार आवश्यक सबै स्थानमा समयमै जीवनजल पुर्‍याउनका लागि के गर्ने भन्नेबारे छलफल भइरहेको छ । अहिले बजारमा पठाइएको जीवनजल प्रतिप्याकेट ९ रुपैयाँ पर्छ ।

'जीएमपी' प्रविधिबाट औषधि उत्पादन सुरु गरेको लिमिटेड लामो समयपछि जीवनजल बजारमा ल्याउन सफल भएको हो । अर्थ मन्त्रालयले केही महिनाअघि पुनः औषधि उत्पादनका लागि लिमिटेडलाई ६ करोड ४८ लाख रुपैयाँ प्रदान गरेको थियो । २०२९ सालमा स्थापना भएको लिमिटेड 'जीएमपी' प्रविधिबाट औषधि उत्पादन गर्न नसकेपछि सात वर्षदेखि बन्द थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.