एनसेलसँग कर असुल्न विज्ञको सुझाव

एनसेलसँग कर असुल्न विज्ञको सुझाव

काठमाडौं : एनसेलमाथि कर निर्धारण गर्न ठूला करदाता कार्यालयद्वारा नियुक्त विज्ञ टोलीले प्रतिवेदन बुझाएको छ । विज्ञहरूले एनसेलमाथि पुँजीगत लाभकर असुल्नुपर्ने रायसहित असुल गर्ने तरिका पनि सुझाएका छन् । प्रतिवेदन बुझाए पनि कार्यालयले कर निर्धारण प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेको छ ।कार्यालयले पूर्वमन्त्री\अर्थसचिव विद्याधर मल्लिक, पूर्वमुख्य सचिव तीर्थमान शाक्य र चार्टड एकाउन्टेन्ट शिवहरी शर्मालाई विज्ञ नियुक्त गरेको थियो ।

कार्यालयले मल्लिकलाई कर, शाक्यलाई कानुन र शर्मालाई एकाउन्टको अध्ययन गरी सुझाव दिने जिम्मेवारी दिएको थियो । राजस्व समूहकै कर्मचारी मल्लिक आन्तरिक राजस्व विभागको महानिर्देशक र अर्थसचिव भएका थिए, करका विज्ञ मानिन्छन् । शाक्य कानुनसचिव हुँदै मुख्य सचिव भएका थिए ।एनसेलले कर निर्धारण गर्न आवश्यक कागजपत्र दिन अटेर गरेको थियो । विज्ञ टोलीको मागअनुसार कार्यालयले ड्युडिलिजेन्स अडिट रिपोर्ट (डीडीए), सेयर खरिदबिक्री सम्झौता (एसपीए) का लागि पटकपटक पत्राचार गरे पनि एनसेलले बिक्रेता टेलिया र क्रेता एक्जियाटासँग मात्र हुने भन्दै दिन इन्कार गरेको थियो । 'डीडीए, एसपीए एनसेलसँग नहुने कुरै हुदैन', विज्ञ टोलीका एक सदस्यले भने, 'नभए पनि मागेर दिने दायित्व उसको हो ।'

वेबसाइटमार्फत सार्वजनिक गरिएबाहेकका कुनै सूचना उसले दिएन । टोलीले वेबसाइटमार्फत सार्वजनिक गरिएका सूचनाकै आधारमा कर निर्धारण गर्न पर्याप्त रहेको ठहर्‍याएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले पनि कर निर्धारणलाई सजिलो बनाइदिएको छ । प्रतिवेदनमा एनसेलको खरिद बिक्रीमा ३२ अर्ब रुपैयाँ लाभकर तिर्नपर्ने ठहर्‍याउँदै सो रकम अर्थ मन्त्रालयको बेरुजुमा समावेश गरिएको छ । राय दिए पनि कर निर्धारणको प्रक्रिया नबढाइएकामा विज्ञ टोलीका सदस्य सशंकित छन् । तत्काल कर निर्धारणका लागि चिठी काट्नुपर्नेमा कार्यालयले कहिले अर्थमन्त्री, कहिले प्रधानमन्त्रीको दबाब भन्दै आलटाल गर्न थालेका छन् ।

केही दिनभित्र प्रक्रिया अघि नबढाए पत्रकार सम्मेलनमार्फत दबाब गर्न पछि नपर्ने एकजना सदस्यले बताए । एनसेलेको लाभकर विवादमा कर निर्धारण नगरी नहुने अवस्थामा पुगे पनि निर्धारण प्रक्रिया रोक्न अझै दबाब पर्ने निश्चित छ । विज्ञ टोलीले स्थानीय साझेदारको २० प्रतिशत सेयरको खरिद बिक्रीमासमेत थप लाभकर उठाउन सुझाव दिएकाले पनि राजनीतिक नेतृत्वले कर निर्धारण प्रक्रिया रोक्न दबाब बढ्न सक्छ । २० प्रतिशत सेयर सिंगापुर बस्ने व्यवसायी सतिशलाल आचार्यले श्रीमती भावनासिंह श्रेष्ठको नाममा खरिद गरेका हुन् ।

स्रोतका अनुसार सुरुमा ८० प्रतिशत सेयरको खरिदबिक्रीमा लाभकर तिर्न नपर्ने बन्दोवस्त मिलाउने जिम्मा उनैले लिएका थिए । राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कर्मचारीतन्त्र सबैतिर लविङ उनैले गरिरहेका हुन् । तर, समयक्रममा उनले खरिद गरेकोमा पनि ठूलो परिमाणमा थप कर निर्धारण हुने अवस्था आएको छ । कम्पनीको ८० प्रतिशत सेयर १ खर्ब ४४ रुपैयाँमा बिक्री हुँदा स्थानीय साझेदारको २० प्रतिशत सेयर ११ अर्ब ५७ करोड रुपैयाँ घोषणा गरिनुलाई महालेखाले अनुचित ठहर्‍याएको छ ।

८० प्रतिशत सेयरको बिक्री मूल्यलाई नै आधार मानेर स्थानीय साझेदारसँग पनि ६ अर्ब १५ करोड रुपैयाँ थप कर असुल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । आचार्यको ठूला दलका शिर्षस्थ नेतासँग सम्बन्ध रहेको ठानिएको छ । प्रभावशाली नेता सिंगापुरमा उनको पाहुना भएका छन्', स्रोतले भन्यो, 'उनकै निम्तोमा सिंगापुर गई अरु केही बहाना बनाई फर्किने पनि छन् ।' यसैले आफैंमाथि ६ अर्ब १५ करोड रुपैयाँ कर दायित्व पर्ने भएपछि उनले आफ्नो सम्बन्ध र लगाएको गुन तिराउन लविङ गर्ने ठानिएको छ ।

२०६५ सालमा स्विडेनको टेलियाले १ अर्ब १२ करोड रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व गत वर्ष मलेसियाको एक्जियाटालाई १ खर्ब ४४ अर्ब रुपैयाँमा बेचिएको थियो । पुँजीगत लाभकर तिर्नै नपर्ने अड्डी कसेको एनसेलले दबाब परेपछि ६६ अर्ब ४६ करोड रुपैयाँ लाभ भएको देखाइ त्यसको १५ प्रतिशतबापत हुने ९ अर्ब ९६ करोड रुपैयाँ कर दाखिला गरेको थियो । बाँकी १० प्रतिशतचाहिँ बिक्रेता टेलियाले तिर्नुपर्ने अड्डी उसले लिँदै आएको छ । महालेखाका अनुसार १० प्रतिशतबापत हुन आउने ६ अर्ब ६४ करोड रुपैयाँ त असुल्नु पर्नेछ नै, थप कर असुल्नपर्ने हुन्छ । एनसेलले कम्पनी खरिद ७८ अर्ब ३१ करोड रुपैयाँमा गरेको आधारमा गणना गरी १५ प्रतिशत लाभकर दाखिला गरेको थियो । तर, अभिलेखमा १ अर्ब १२ करोड रुपैयाँमा खरिद गरेको देखिँदा बाँकी ७७ अर्ब १२ करोड लाभमा समेत १५ प्रतिशतको दरले १९ अर्ब २९ करोड रुपैयाँ असुल्नपर्ने महालेखाले ठहर्‍याएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.