यसपाली मोबाइलमा बजेट
काठमाडौं : अर्थ मन्त्रालयले बजेटसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने मोबाइल एप सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट छलफल कार्यक्रममा एप सार्वजनिक गरेका हुन् । 'बजेट नेपाल' नामक एपबाटै बजेटसँग सम्बन्धित सुझाव र गुनासा पनि राख्न सकिन्छ ।
एपबाट पुराना बजेट, बजेट निर्माण प्रक्रियाका बारेमा पनि जानकारी पाइनेछ । एपमा मन्त्रालयगत बजेट र खर्च पनि हेर्न सकिन्छ । एपमा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले बताउनुभयो । बजेट खर्चको ट्रेन्ड एनलाइसिस पनि एपमा राखिने छ ।
पाइचार्ट र बार चार्टमा बजेटको ट्रेन्ड एनलाइसिस हेर्न पाइनेछ ।तत्कालका लागि मोबाइ एप एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध हुनेछ । अबको १५ दिनभित्र आईओएस भर्सनमा पनि एप उपलब्ध हुने बताइएको छ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर एप डाउनलोड गर्न सक्नेछन् ।