कञ्चन बैंकको ३० प्रतिशत राइट सेयर
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकले आइतबार उक्त अनुमति पाएको हो । कञ्चन डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार बराबरको १० लाख ३९ हजार ५०० कित्ता हकप्रद सेयर निस्कासन गर्नेछ ।
यसका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरिसकेको बैंकले जनाएको छ । हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ४५ करोड चार लाख ५० हजार पुग्नेछ ।
बैंकले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयर धनीलाई बोनस सेयर वितरण गरिसकेको छ । यसका साथै यस वर्षको मुनाफाबाट चार करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँडफाँट गरी कुल चुक्ता पँजी ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।