विजेतालाई दुई तोला सुनको पदक
काठमाडौं: अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आगामी असार ६ देखि १० गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ। प्रतियोगितामा सहभागिताका लागि दर्ता प्रक्रिया खुला गरिएको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिनुभयो।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले नेपाल ब्याडमिन्टन संघको केन्द्रीय कार्यलय, काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण पोस्ट् मुख्यालय कर्पोरेट टावर वा वेभ साइटमार्फत पनि फारम भर्न सक्ने मालीले बताउनुभयो।
प्रतियोगितालाई विगतको तुलनामा सहभागिता र स्वरूपमा अझ बृहत् बनाइएको जानकारी उहाँले दिनुभयो। विगतमा सफलतापूर्वक तीनवटा संस्करण पूरा गरेको यस प्रतियोगितालाई यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरूपमा सञ्चालन गर्न लागिएको हो। काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीसँगै देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म र इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो । ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन्।
कुल ६ स्पर्धा रहेको प्रतियोगितामा कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिएको छ। कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ।
अन्नपूर्ण पोस्ट्ले नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय स्तरको कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागेको हो। देशभर छरिएर रहेका ब्याडमिन्टनका उत्कृष्ट खेलाडीलाई एउटै थलोमा भेला गराएर अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गराउँदै ब्याडमिन्टनको नयाँ प्रतिभा जन्माउनु प्रतियोगिताको उद्देश्य रहेको छ।
प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं बाहिरबाट छनोट भई आउने खेलाडीका लागि यातायातको व्यवस्थासमेत आयोजकले नै गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनबाट गरिनेछ।