मोबाइल मर्मत व्यवसायमा भ्याइनभ्याइ
स्याङ्जा : भीरकोटका २२ वर्षीया मञ्जली बस्याल सार्र्कीलाई हिजोआज मोबाइल मर्मत गर्न र मोबाइलमा विभिन्न कार्यक्रम राख्न भ्याइनभ्याइ छ । बिहानदेखि साँझसम्म भीरकोट नगरपालिका-१ स्थित बयरघारी बजार रहेको पसलमा मोबाइल हेरेरै उहाँको दिन बित्ने गर्छ । ३ महिनादेखि मोबाइल पसल सञ्चालन गर्दै आउनुभएकी बस्यालको प्रतिदिन मोबाइलसम्बन्धी सेवा लिन आउने ग्राहकको संख्या पनि बढ्दै गएपछि उहाँलाई भ्याइनभ्याइ भएको हो ।
उहाँ स्याङ्जामा मोबाइल मर्मत गर्ने पहिलो महिला हुनुहुन्छ । बयरघारी बजारमा हेलो दिदीबहिनी मोबाइल रिपेयरिङ सेन्टर सञ्चालन गरी सेवा दिँदै आउनुभएकी बस्यालले ९ महिना तालिमपछि सो पसल खोलेको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम सूर्याेदय क्लबद्वारा सञ्चालन गरिएको थियो । क्लबले उपलब्ध गराएको ४५ दिनको तालिमले मोबाइल बनाएर जीविकोपार्जन गर्न सकिने क्षमता दिएपछि थप ९ महिना फेरि आफैंले तालिम लिएर बयरघारीमा पसल सञ्चालन गरेको बस्यालले बताउनुभयो । बस्यालको लगनशीलता र कार्यकुशलताबाट प्रभावित भई क्लबले पुनः एक महिना थप तालिम उपलब्ध गराएको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बस्यालले स्याङ्जा सदरमुकामस्थित हेलो मोबाइल पसलका सञ्चालक निजामद्दिन मियासँग मोबाइल मर्मतलगायत अन्य सीप सिकेर पसल सञ्चालन गर्नुभएको हो । केही जाने पनि अझ धेरै सिक्न बाँकी भएको बताउँदै बस्यालले भविष्यमा पनि यही पेसालाई निरन्तरता दिइने बताउनुभयो । स्नातक तहमा अध्ययनरत बस्यालका पति रामबहादुर गोतामे वैदेशिक रोजगारका लागि साउदीमा हुनुहुन्छ । उहाँहरूकी एक छोरी छन् । वैदेशिक रोजगारीमा रहेका पति गोतामे नेपाल फर्किएपछि मोबाइल व्यापार विस्तार गरी पती÷पत्नी सँगै बस्ने बस्यालको लक्ष्य छ । छोटो समयमै सोचेभन्दा राम्रो कमाइ र सेवाग्राही पनि खुसी राख्न पाएकोमा बस्याल दंग र हर्षित हुनुहुन्छ ।
कला, गीत र संगीतमा धेरै रुचि भएको बताउने बस्यालले मोबाइलका हार्डवेयर र सफ्टवेयरबारे बुझ्नुुभएको छ । सानो उमेरमा व्यवसाय चलाउने बस्यालजस्ता युवती अन्य बेरोजगार युवा जगतका लागि प्र्रेरणा बन्न सक्ने र यस्ता व्यावसायिक युवालाई राज्यले थप लगानी र हौसला प्रदान गर्नुपर्ने बताउनुहुन्छ भीरकोट नगरपालिकाका उपमेयर सीमा कर्माचार्य क्षत्री ।
त्यसो त मञ्जली पनि रोजगारको खोजीमा बिदेसिने हुन् वा स्वदेशमै रोजगार नपाएर भौंतारिने युवा÷युवतीलाई मिहिनेतसाथ काम गरे अवश्य सफल हुने बताउनुहुन्छ । आफ्ना वरपर रहेका विभिन्न अवसरलाई समयमै उपयोग गर्न सके रकम कमाउनकै लागि बिदेसिनु वा अन्यत्र जानु नपर्ने बस्यालको भनाइ छ ।सीप सिक्छु भनेर बस्याल आएपछि तत्काल सीप विकास तालिममार्फत उहाँलाई मोबाइल बनाउने तालिम उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख शिवशंकर बानियाँले जानकारी दिनुभयो ।
प्रमुख बानियाँका अनुसार बस्यालले कम समयमा आफूलाई उद्यमी\व्यवसायी बनाउन सफल भएको भन्दै उहाँको लगनशीलता र कार्यकुशलतालाई प्रोत्साहन गर्दै कार्यालयले ५० हजार रुपैयाँको सामान ८० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ ।बस्यालले हेलो दिदीबहिनी मोबाइल रिपेयरिङ सेन्टरमा नयाँ तथा पुराना आवश्यकताअनुरूप कार्यक्रम राख्ने, गीत भर्ने, मोबाइल बिग्रेमा बनाउने र नयाँ मोबाइल खरिद तथा बिक्री गर्नेलगायत सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।