काठमाडौं नुवाकोट सुरुङमार्ग
काठमाडौं : सरकारले काठमाडौं टोखाबाट नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग आफैं लगानी जुटाएर निर्माण गर्ने भएको छ । यसलाई इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन तथा फाइनान्स (ईपीसीएफ) मोडलमा बनाउने तयारी गरिएको छ । सडक विभागले सरकारलाई ईपीसीएफ मोडलमा यो सुरुङमार्ग निर्माण गराउन सुझावसहितको सिफारिस गरेको विभागका वैदेशिक महाशाखा प्रमुख इन्जिनियर सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले अन्नपूर्णसँग भन्नुभयो, ‘दुई साता अगाडि मेरै संयोजकत्वमा यो सुरुङमार्ग ईपीसीएफ मोडलमा बनाउन उपयुक्त हुने गरी सिफारिस गरेको छु ।'
विभागले गरेको यो सिफारिस भौतिक र अर्थ मन्त्रालयबाट स्वीकृति हुनुपर्छ । अर्थको अनुमतिपछि सरकारले औपचारिक रूपमै यो प्रक्रिया अगाडि बढाउन सकिने उहाँको भनाइ छ । यो योजनाका निम्ति दातृ निकायकै चासो आइरहेकाले विभागले निर्माणको उपयुक्त विकल्प सुझाएको शाहले जानकारी दिनुभयो ।
भौतिक मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार यो सुरुमार्ग बनाउन चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी)ले रुचि देखाएको थियो । यसको प्रस्ताव दुई महिना अगाडि नै आएको भए पनि पछिल्लो सुझावका बारेमा मन्त्रालयको सम्बन्धित विभागबाटै जानकारी लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार विभागले गरेको भएकाले सिफारिस आएको हुनुपर्छ ।
टोखाबाट नुवाकोट जोड्ने सुरुङमार्गसहितको सडक निमार्ण गर्न चिनियाँ कम्पनीले सहरी विकास मन्त्रालयमार्फत प्रस्ताव गरेको छ ।
टोखाबाट नुवाकोट जोड्ने सुरुङमार्गसहितको सडक निमार्ण गर्न चिनियाँ कम्पनीले सहरी विकास मन्त्रालयमार्फत प्रस्ताव गरेको छ । प्रस्तावमा सीएमईसीले काठमाडौबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्गदेखि सडक पनि निर्माण गर्ने गरी प्रस्ताव गरेको छ । यो प्रस्तावमा चार किलोमिटर सुरुङ मार्गसहितको ३४ किलोमिटर सडक निर्माण गरिदिने उल्लेख छ । चिनियाँ कम्पनीले आवश्यक लागतको ऋणसमेत उपलब्ध गराउने उल्लेख छ । यस्तो ऋणको वार्षिक ब्याजदर भने दुई प्रतिशत राख्ने गरी ऋण जुटाइदिनेसम्मको प्रस्ताव रहेको उल्लेख छ ।
इन्जिनियर शाहका अनुसार टोखा-छहरे सुरुङमार्ग बनाउन यस अघि नै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले सम्भाव्यता अध्ययन गरिसकेको छ । यो सुरुङमार्ग निर्माण गर्न भौतिक मन्त्रालयले टोखा-गुर्जेभञ्ज्याङ सडक, सिद्घार्थ राजमार्गको सिद्घवावा खण्डलगायत अन्य सम्भाव्य सडक खण्डमा सुरुङमार्गको आर्थिक एवं प्राविधिक सभाव्यता अध्ययन गर्न पाँच वर्षे रणनीतिमा उल्लेख छ ।
सुरुङमार्गलाई ११ अर्ब
सडक विभागले सञ्चालन गर्ने गरी तय भएको समृद्ध नेपालका लागि सडक सञ्जाल विकासको पाँच वर्षे रणनीतिक योजनामा यो सुरुङमार्ग समावेश गरिएको छ । यो रणनीतिमा चालू आर्थिक वर्ष २०७४÷७५ बाट विस्तृत सम्भाव्यता अध्ययनसकेर काम सुरु गर्ने उल्लेख छ । प्रारम्भिक सम्भाव्यतामा २७ अर्ब रुपैयाँ लाग्ने ३४ किलोमिटर लामो सुरुङमार्गमा सरकारले विदेशी सहयोग अपेक्षा गरेको छ । भौतिक मन्त्रालयले सुरुङ मार्गका लागि मात्रै ११ अर्ब रुपैयाँ लाग्ने र यसको व्यवस्था दातृ निकायको सहयोग गर्ने गरी पाँचवर्षे रणनीतिक योजनामा उल्लेख छ ।
यो सुरुङमार्ग निर्माणसँगै सरकारले ८५ किलोमिटरको गल्छीबाट रसुवागढी जोड्ने सडक पनि निर्माणलाई प्राथमिकतामा राखेको छ । गल्छीबाट रसुवागढी जोड्ने स्तरीय सडकसँगको पहुचका कारण यो सुरुङमार्ग प्रयोग गरेर काठमाडौंदेखि चीनको बोर्डर साढे दुई घन्टाको यात्रामै तय गर्न सकिने दाबी पनि इन्जिनियर शाहको छ । उहाँका अनुसार पाँच वर्षभित्रै सुरुङमार्गसहितको उक्त सडक निर्माण गर्ने सरकारी योजना छ ।
सरकारले ८५ किलोमिटर गल्छी-रसुवागढी सडक विस्तारको काम आगामी दुईदेखि पाँच वर्षभित्रमै सक्ने गरी योजना तय गरेको छ । यो सडकको ५१ किलोमिटर ट्र्याकसमेत खोलिसकिएको सडक विभागको भनाइ छ । सरकारले पछिल्लो समय सुरुङ विभाग बनाएर यो क्षेत्रको गति बढाउन थालेको छ । विभागमार्फत देशका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।