राजनीतिप्रति शून्य चाहना : नम्रता
नेपाली चलचित्र क्षेत्रका नायिका पछिल्लो समय राजनीतितिर आकर्षित हुने क्रम बढ्दो छ । तर, नायिका नम्रता श्रेष्ठलाई भने राजनीतिमा शून्य प्रतिशत पनि रुचि छैन । देश बनाउन के गर्नुपर्ला ? भन्ने जिज्ञासामा भने उनको सुझाव छ, 'यो त तलदेखि माथिसम्मै सच्याउनुपर्छ होला ।' भित्रको गडबडीले बाहिर परिणाम देखिएको उनलाई लाग्छ । 'कहीँ न कहीँ खराबी छ, फोहोर छ', नायिका नम्रताले भनिन्, 'त्यसको प्रतिक्रिया हामीले भोग्नु परेको अव्यवस्था, असमन्जस र अन्योल हो ।' हेल्दी माइन्डले मात्रै हेल्दी बडी निर्माण गरेझैं सिस्टम सफा भएमात्रै मुलुक स्वस्थ हुने उनको तर्क छ । सन् १९९६ मा धरानको बीपी क्याम्पमा माता बेला श्रेष्ठ र पिता देवेन्द्र श्रेष्ठको कोखबाट जन्मिएकी नम्रतालाई कलाकार बन्ने पटक्कै रहर थिएन ।
अनि कसरी बनिन् त कलाकार ? जिज्ञासा स्वाभाविक होला । 'हिरोइन बन्ने सोच र रुचि दुवै थिएन', नायिका नम्रताले भनिन्, 'राजधानीमा पढ्दै गर्दा आलोक नेम्बाङ दाइले अडिसनका लागि बोलाउनुभयो, अडिसन दिएँ, म छानिएँ । पहिलो पटकमै 'सानो संसार'मा लिड रोलमा अभिनय गरेँ ।' कक्षा ७ सम्म धरानमा पढेकी उनले कक्षा १ भने राजधानीमै पढेकी थिइन्, त्यही बेला उनले 'संगिनी'मा बालकलाकार भएर खेलेको स्मरण ताजै छ । र पनि कलाकार बन्ने हुटहुटी उनमा कहिल्यै चलेन । सानो संसारमा अभिनय गर्दागर्दै स्क्रिप्ट र टिम राम्रो पाएपछि भने उनलाई चलचित्र क्षेत्रले आकर्षित गर्यो । 'कथा र टिम राम्रो पाएँ, त्यसैमा मोहित भएँ', नम्रताले भनिन् । उसो त उनी आफू चलचित्रमा प्रवेश गरेदेखि यसको धारै परिवर्तन भएको दाबी पनि गर्छिन् ।
वर्षमा एउटामात्रै चलचित्र खेल्ने गरेको बताए पनि उनले अभिनयकर्मले नै आफूलाई आर्थिक रूपमा पुगिरहेको बताइन् । सन् २००८ देखि व्यावसायिक अभिनयमा लागेकी नम्रताले सानो संसारपछि 'मेरो एउटा साथी छ', 'फस्ट लभ', 'मिस यु', 'छड्के','मुना', 'नोभेम्बर रेन', 'ताण्डव', 'अध्कट्टी', 'सम्बोधन' हुँदै यति बेला 'पर्व' प्रदर्शनको पर्खाइमा छिन् ।
पर्वले परिवर्तनको आशा
दिनेश राउतको निर्देशनमा सुवास गिरी र निकिता पौडेलले निर्माण गरेको 'पर्व' शुक्रबार (आज) देशभर प्रदर्शन हुँदैछ । आजसम्म प्रेमकथामा आधारित चलचित्र गर्दै आएकी नम्रता पर्वले भने आफ्नो अभिनयको धार नै परिवर्तन भएको भन्न रुचाउँछिन् । 'यो सामाजिक कथामा आधारित थ्रिलर चलचित्र हो', उनले भनिन्, 'एउटा सूक्ष्म सामाजिक कथालाई टिपेर बनाइएको यो चलचित्रमा मैले न्याय गर्न सकेकी छुजस्तो लाग्छ ।' विशेष गरी नारी दर्शकले रुचाउने संकेत पाइएको चलचित्रमा समाजमा 'सानो' लाग्ने कथालाई पस्कन खोजिएको उनले बताइन् । 'आजसम्मको चलचित्र हेरेर मेरा दर्शकले जसरी मलाई चिन्नुभएको छ, अब त्यसमा फरक रूपले पनि मलाई सम्झने आशा गरेकी छु', नम्रताले भनिन् ।
कालेदाइको भरोसा
'पर्व'मा समेटिएको 'काले दाइ काले दाइ' गीत बजारमा चर्चित छ । डिस्को, पार्टी र प्रायःको मोबाइलमा समेत गुञ्जने यो गीत हेर्नकै लागि पनि दर्शक हलसम्म पुग्ने आशा निर्मामा निर्देशकजस्तै नम्रतामा पनि छ । 'तर, गीतसँगै मीठो कथाको पनि स्वाद दर्शकले पाउनुहुनेछ', नम्रताले दाबी गरिन् ।
उसो त दर्शकले उनको अभिनयको कौशल 'जलपरी', 'ओलियाना' र 'एम्मा'जस्ता नाटकमा पनि देखिसकेका छन् । नम्रताको अभिनयलाई सन् २०१५ मा सरकारबाट राष्ट्रिय चलचित्र पुरस्कार, २०१४ मा इन्फा अवार्ड हङकङ, २०१५ को बेस्ट एक्टर नेफ्टा अवार्ड, एलजी फिल्म अवार्ड, फान अवार्डलगायत सम्मान प्राप्त पनि भएका छन् ।
ज्ञानोदय आवासीय विद्यालयबाट एसएलसी गरेर किस्ट कलेजबाट मास कम्युनिकेसन, समाजशास्त्र र कल्चरमा डबल स्नातक गरेकी नम्रता कलाकारितामा कस्तो सम्भावना देख्छिन् त ?
'मैले प्रवेश गर्दा चलचित्र क्षेत्रको यति 'ग्रोथ' थिएन । अहिले निकै राम्रो अवस्थामा छ । तमाम अवसरहरू छन्', नायिका नम्रताले भनिन्, 'अहिले त मिडिया पनि कति छन् कति, प्रचार पाउन सहज छ, केही गोपनीयताको पनि समस्या छ ।' हरेक काममा सम्भावना र असफलता हुने उनले बुझेकी छन् । 'हरेक काममा समर्पण र सम्मान हुनुपर्छ', उनले भनिन्, 'लगाव, समर्पण र आफ्नो कामलाई माया गरिएन भने कुनै काममा पनि सफलता सम्भव हुँदैन होला !'
नेपाली चलचित्र उद्योगलाई हेर्ने उनको आँखा कस्तो होला ? 'मैले त सम्मानित आँखाले हेर्छु, हरेक चलचित्र सामाजिक उत्तरदायित्वलाई बुझेर बनाइनुपर्छ भन्ने मेरो मान्यता हो', नम्रताले भनिन्, 'अरूले कसरी हेर्छन्, उनीहरूको आँखाको हेराइ म भन्न सक्दिनँ ।'
चलचित्रले जीवन धान्ने र नधान्ने विषय बहसमा आइरहे पनि नम्रता भने वर्षमा एउटा चलचित्र गरेरमात्रै आफूलाई पुगिरहेको बताउँछिन् । 'मैले मेरो लाइफ स्टाइलअनुसार मेन्टेन गर्न सकेकी छु', उनले भनिन्, 'अरूको के छ, मैले कसरी भनौं ।'
राजनीतिमा आउनै नचाहने कारण पनि त होला ? उनले जिज्ञासाको जवाफ दिइन्, 'नम्रताले कथाले मागेअनुसार अभिनयमा न्याय गर्नसक्छ भन्दैमा राजनीतिमा सक्षम हुन्छ भन्ने छैन नि !' कुनै दिन कविता लेख्ने नम्रता यति बेला एकचित्तले चलचित्र अभिनयमा छिन् । उनले भनिन्, 'म जहाँ छु त्यहीँ बसेर इमानदारीपूर्वक समाज परिवर्तनको सन्देश दिन हो भने देशप्रतिको मेरो योगदान त्यही हो ।'