व्यक्तित्व झल्काउन मेकअप
केही वर्ष अघिसम्म मेकअप आर्टिस्ट र हेयर स्टाइलिसलाई करिअरको आधार मानिँदैनथ्यो । तर, अहिले समय परिवर्तन भइसकेको छ । नयाँ पुस्ता फेसन, मेकअप एवं हेयर स्टाइलमा जति सचेत र लालायित देखिन थालेका छन्; ती क्षेत्र त्यत्तिकै व्यावसायिक साबित भएका छन् । यो क्षेत्रबाट धेरैले नाम, दाम, काम पाएका छन् । तिनैमध्येका एक मेकअप आर्टिस्ट हुन्, सानु गुरुङ ।
विभिन्न फेसन सोमा आफ्नो कला प्रस्तुत गरिसकेकी उनले पछिल्लो समय चलचित्र 'प्रेमगीत २', 'लाहुरे'मा काम गरिन् । उनले नसिँगारेका सेलिब्रेटी कमै छन् । निशा अधिकारी प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, आस्था पोखरेल, ऋचा शर्मा, मेनुका प्रधान, श्वस्तिमा खड्का, आशिष्मा नकर्मी, अश्मि श्रेष्ठ, सुविन लिम्बुलगायत धेरै सेलिब्रेटीलाई उनले कुची चलाइसकेकी छन् । विभिन्न म्यागेजिनका फोटो सुटमा मेकअप आर्टिस्टका रूपमा काम गरिसकेकी सानु पाँच वर्षदेखि फ्रिलान्सर मेकअप आर्टिस्टका रूपमा यस क्षेत्रमा क्रियाशील छिन् ।
'मेकअप सबैका लागि महत्वपूर्ण छ । मेकअअप्रति सचेत हुन जरुरी छ', सानुले भनिन्, 'यो युग व्यक्तित्व, आत्मविश्वासको युग पनि हो । अफिस, मिटिङ, भेटघाट, पार्टी आदिमा सहभागी हुँदा समय र परिस्थितिअनुसारको मेकअप गर्नुपर्छ । मेकअपले व्यक्तित्व झल्काउँछ । आत्मविश्वास बढाउँछ।'
अध्ययनको सिलसिलामा चितवनबाट काठमाडौं आएकी सानुले राजधानीको सिग्मा कलेजबाट पत्रकारितामा स्नातक गरेकी छन् । सानैदेखि मेकअपप्रति रुचि राख्ने उनी स्नातकपछि यस पेसामा लागेकी हुन् । 'मलाई कलेजभन्दा मेकअप प्यारो लाग्यो', उनी भन्छिन्, 'आफ्नो रुचिको विषय पहिचान गरेर सुरुमा ब्युटिसियनसम्बन्धी तालिम लिएँ । त्यसपछि मेकअपसम्बन्धी तालिम लिएर यो पेसा अँगालेकी हुँ ।'
पछिल्लो समय नेपालमा युवापुस्ता सुन्दरता, तन्दुरुस्ती एवं मेकअपका बारेमा सचेत हुन थालेको उनले बताइन् । उनको अनुभवमा तन्नेरीमात्र होइन, गृहिणीहरूसमेत मेकअपसम्बन्धी ज्ञान हासिल गर्न प्रशिक्षण लिन थालेका छन् । 'यो सत्य कुरा हो कि सबै नारीलाई राम्री देखिने मन हुन्छ । फिट एन्ड फाइन रहने चाहना हुन्छ', सानुले भनिन्, अहिले मेकअपमा पहिलाको जस्तो बेमतलबी कोही छैनन् तर आफूलाई कस्तो मेकअपले सुहाउँछ जान्न आवश्यक छ ।' मेकअप आफूले लगाएको पहिरनअनुसार हुनुपर्ने सानुको भनाइ छ ।
मेकअपमा पनि विविधता पाइन्छ । सबैमा आआफ्नै रुचि र बुझाइ देखिन्छ तर पनि अहिले स्मोकी आई, न्युड मेकअप चल्तीमा रहेको उनको भनाइ छ । बढी उमेर हुनेका लागि भने यो मेकअप उपयुक्त हुँदैन । उनीहरूलाई परम्परागत शैलीका मेकअप सुहाउने गुरुगंले बताइन् । मेकअप आर्टिस्ट बन्न मेहनत, धैय र लगनशिलता चाहिने उनको बुझाई छ । 'यस पेसामा जति काम गर्योश उति नै पोख्त भइन्छ', उनले आफ्नो अनुभव सुनाइन्, 'कतिपय मान्छेमा मेकअप के गाह्रो हुन्छ र भन्ने सोचाइ हुन्छ तर आफू सुहाउँदो मेकअप गर्न सजिलो छैन ।'
यो क्षेत्रमा काम गर्न निकै चुनौतीपूर्ण लाग्छ उनलाई । 'अरूलाई चित्त बुझाउनुपर्ने काम हो यो । सबैको चित्त बुझाउन सजिलो छैन', उनले कारण भनिन्, 'कहिलेकाहीँ आफूले मेहनतका साथ राम्रो गरे पनि अरूको चित्त नबुझ्न सक्छ । धेरै कुरामा विचार पुर्यापउनुपर्छ ।' पढेर, आवश्यक कोर्स गरेर यो क्षेत्रमा लागे पनि पूर्ण रूपमा परिपक्व हुन गाह्रो हुने सानुको अनुभव छ । तर, त्यसका लागि मेहनतका साथै प्रविधिको साथ पनि लिन आवश्यक रहेको उनको बुझाइ छ ।