अब नियमित कर्ममा सत्यस्वरूप
युवापुस्ताले रुचाएका गायक हुन्, सत्यराज र स्वरूपराज आचार्य । बाउको बिँडो थाम्दै संगीत क्षेत्रमा लागेका उनीहरूको ख्याति देशविदेशका नेपालीमाझ उत्तिकै छ । अस्ट्रेलियाका विभिन्न स्थानमा भएको लगभग डेढ महिना लामो सांगीतिक कार्यक्रम सकेर सत्यस्वरूप नेपाल फर्किएका छन् । अस्टे«लयाका नेपालीमाझ निकै रुचाइएका उनीहरू कार्यक्रम अवधिभर व्यस्त रहे । उनीहरूलाई भ्याइनभ्याइ भयो । नेपाल आगमनसँगै अब उनीहरू नियमति काममा फर्कनेछन् ।
अस्ट्रेलियाको सिड्नी, मेलबर्न, एडिलेट, पर्थजस्ता सहरमा उनीहरूको सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । नेपाली कलाकार र गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले कार्यक्रम आयोजना गरेको हो । सत्यस्वरूपको यो दोस्रो अस्ट्रेलिया यात्रा हो । कार्यक्रममा श्रोतादर्शकले अत्यधिक मन पराएका जहाँ छन् बुद्धका आँखा, सोल्टिनी, गुराँस फुल्यो पाखैमा, जिन्दगी अब यस्तै होस्जस्ता गीतहरू उनीहरूले प्रस्तुत गरेका थिए ।
सत्यराजले आफ्नो गजल एल्बम मधुशाला र स्वरूपराजले आफ्नो पछिल्लो एल्बम मनमोहिनीका गीत पनि गाए । 'विदेशमा रहेका दर्शकको माया हाम्रो लागि ठूलो कमाइ हो', स्वरूपराजले भने, 'विदेशमा पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रोतादर्शक धेरै पायौं ।' । उनीहरूले बुवा भजनशिरोमणि भक्तराज आचार्यका लोकप्रिय गीतहरूसमेत प्रस्तुत गरेका थिए । डेढ महिना विदेश बसाइले धेरै प्रोजेक्ट रोकिएकाले नेपाल फर्किएलगत्तै नियमित काममा लाग्ने उनीहरूको योजना छ । 'अब लगातार रेकर्डिङ छ । धेरै काम पेन्डिङ भएका छन्', स्वरूपले भने । संगीत सिर्जना एवं गायन दुवै विधामा दखल राख्ने सत्यस्वरूप नेपाली नयाँ वर्षको अवसर पारेर अस्ट्रेलिया गएका थिए ।