वियोन्ड ग्ल्यामर

वियोन्ड ग्ल्यामर

रोल्पाको जंगकोटमा जन्मेकी डा. निमा पुन मिस मंगोल नेपाल २०१३ मा भाग लिँदा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस छैटौं सेमेस्टरमा अध्ययनरत थिइन् । मेडिकलको विद्यार्थी सौन्दर्य प्रतियोगितामा भाग लिँदा कतिपयलाई अनौठो लाग्यो । नजिकका साथी र आफन्तले सोधे पनि । प्रतियोगितामा भाग लिनुको कारण र त्यसको औचित्य पुष्टि गर्ने प्रयास पनि गरिन् उनले । उत्कृष्ट १० सम्मको यात्रा तय गरे पनि शिरमा ताज सजाउने सपना भने साकार भएन ।

मनमा दृढ संकल्प बोकेर उनी पुनः कलेज फर्किन् । उनको सपना र चाहनाले हार खाएन । एमबीबीएस अध्ययन पूरा गरिन् । अनि दुई वर्षपछि अर्थात् सन् २०१५ को मिस मंगोलमा पुन भाग लिइन् । संयोग नै भनौं उक्त संस्करणमा डा. निमालाई पाइलट, इन्जिनियर, व्यावसायिक मोडेल, एयर होस्टेसका साथै विभिन्न प्रतियोगितामा भाग लिइसकेका अनुभवी प्रतियोगीले टक्कर दिए । तर उनको दुई वर्ष लामो मेहनत र संकल्प खेर गएन । दोस्रो प्रयासमा मिस मंगोल नेपालको ताज चुमेरै छाडिन् । 'दुई वर्ष मैले यति मेहनत गरेँ कि मलाई एमबीबीएस पास गर्नुभन्दा मिस मंगोल जित्न गाह्रो जस्तो लाग्यो', डा. निमा भन्छिन्, 'मिस मंगोलको जस्तो स्तर सबैमा नहोला तर सौन्दर्य प्रतियोगिता यति कठिन हुन्छ भन्ने मैले कल्पनै गरेकी थिइनँ।'

दुई वर्षको अवधिमा मिस वल्र्ड, मिस युनिभर्स, मिस इन्डिया, मिस चाइनादेखि नेपालमा भएका धेरैजसो प्रतियोगिता युट्युबमा हेरेको, मूल्यांकन गरेको, प्रतियोगीको हाउभाउ, शैली, प्रश्नोत्तर सबै कुरा अध्ययन गरेको उनको भनाइ छ । हाल थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत उनलाई अहिले चिकित्सकभन्दा मिस मंगोल विजेताका रूपमा धेरैले चिन्छन् । आफ्नो क्षेत्रमा उनको सेलिब्रेटी चिकित्सकका रूपमा पहिचान बनेको छ ।

दुई वर्ष मैले यति मेहनत गरेँ कि मलाई एमबीबीएस पास गर्नुभन्दा मिस मंगोल जित्न गाह्रो जस्तो लाग्यो । सौन्दर्य प्रतियोगिता यति कठिन हुन्छ भन्ने मैले कल्पनै गरेकी थिइनँ ।

डा. निमाको जस्तै मिस मंगोल नेपालका विजेताहरूको अनुभव उस्तैउस्तै छ । कतिपयलाई लाग्छ सौन्दर्य प्रतियोगितामा भाग लिनेहरू मोडलिङ, अभिनयतिरै लाग्छन् । तर मिस मंगोलका विजेताले त्यो क्षेत्र रुचाएका छैनन् । सन् २००९ कि विजेता सृष्टि राजकर्णिकार हाल अमेरिकामा छिन् । उपाधि चुमेको दोस्रो वर्ष अमेरिका लागेकी उनले त्यहीबाट पत्रकारितामा स्नातकोत्तर गरिन् । सञ्चारकर्म उनको रुचिमा पर्छ । सन् २०१० की विजेता वर्षारानी गुरुङले थाइल्यान्डको माहिडोल युनिभर्ससिटीबाट वातावरण विज्ञानमा स्नातक गरी हाल केयर नेपालमा कार्यरत छिन् । यो संस्था सामाजिक अन्याय एवं गरिबी निवारण क्षेत्रका क्रियाशिल छ । कोरियन लुककी उनलाई विभिन्न चलचित्रबाट प्रस्ताव आए पनि अभिनय गरिनन् । 'चलचित्र मेरो रुचिको क्षेत्र होइन', उनले भनिन्, 'अब समयसँगै मन पनि बदलियो भने गर्न पनि सक्छु तर अहिले मनले चाहेको छैन ।'

मिस मंगोल २०११ की विजेता सुम्मिना देवान लन्डनको 'एसओएएस, युनिभसिटी अफ लन्डन'बाट इन्टरनेसनल डेभेलोप्मेन्टमा स्नातकोत्तर पूरा गरी नेपाल फर्केकी छन् । मोडलिङ, अभिनय क्षेत्रमा लाग्नेबारे उनले कल्पना पनि गरेकी छैनन् । 'म त्यो क्षेत्रमा फिट हुनै सक्दिनँ', उनले भनिन् । सन् २०१२ की विजेता सपना रोका भने चलचित्र क्षेत्रमा लागेकी छन् । उनले 'डु यु लभ मी', 'उहिले बाजेको पालामा' जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । व्यवसायतिर लागेकी सपनाको कला क्षेत्रमा रुचि छ । 'दुईवटा चलचित्रमा काम गरेँ । निकै अनुभव भएको छ', उनी भन्छिन्, 'अभिनय मैले चाहेको क्षेत्र हो ।'

सपनाकी उत्तराधिकारी सन् २०१३ की विजेता मुस्कान लिम्बू चल्तीकी मोडेल हुन् । उनले टीजीआईएफ नेपाल फेसन विकलगायत नेपालमा प्रतिष्ठित दर्जनौं र्‍याम्प नापेकी छन् । हाल उनी कतार एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छिन् । एअर होस्टेस उनको रुचि र लक्ष्य भएकाले त्यसपछि उनी मोडलिङ क्षेत्रमा फर्किएकी छैनन् ।

सन् २०१४ की विजेता एनिस्ता गुरुङ पनि मेडिकलकै विद्यार्थी हुन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा बीडीएस अन्तिम सेमेस्टर अध्ययनरत उनको पनि अभिनय मोडलिङमा रुचि छैन । अर्को वर्ष आफ्नो नामको अगाडि डा. थप्न लागेकी उनले पनि केही चलचित्र एवं म्युजिक भिडियोको अफर अस्वीकार गरेकी छन् । सन् २०१५ की विजेता डा. निमा हुन् । सन् २०१६ की विजेता प्रीति गुरुङ आफ्नो उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् । उनले सोसल साइन्समा स्नातक गरेकी छन् । कला क्षेत्रमा उनको पनि खासै रुचि छैन ।

अहिले मिस मंगोल नेपाल २०१७ मा सहभागीहरू प्रशिक्षणमा जुटेकी छन् । प्रतियोगितामा १७ जिल्लाका २८ जना अन्तिम प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको यो नवौं संस्करण हो । यस वर्षदेखि यो प्रतियोगी नयाँ ढाँचा र शैलीमा हुने आयोजकले जनाएको छ । यस संस्करणलाई प्रयोगात्मक, सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक संस्करणका रूपमा आयोजना गरिने एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङको भनाइ छ ।

यसअघि विजेता छनोटमा उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइँदै आएको थियो । यसवर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ । यसले प्रतिभावान्, जिम्मेवार र नयाँ दृष्टिकोण बोकेका विजेता छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितामा समावेश गरिएकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सिधै उत्कृष्ट १५ मा प्रवेश पाउनेछन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । मिस मंगोलका विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.