गर्मीमा वाक्स
वाक्स भनेको शरीरमा भएको अनावश्यक रौंलाई निकाल्ने साधारण तरिका हो । यसले छालालाई सुन्दर, सफा र नरम देखिन मद्दत पुर्याउँछ । वाक्स विशेषगरी गर्मी महिनामा बढी गरिन्छ । गर्मीमा प्राय:धेरैले स्लिभलेस लुगा लगाउनुका साथै मिनिस्कर्ट र हाफ पाइन्ट जस्ता छोटा र खुला लुगा लगाउने गर्छन् । वाक्स नगर्नाले आफ्नो व्यक्तित्वमा प्रभाव पर्छ । कोही व्यक्ति आकर्षक छ, ड्रेस अप फेसनेबल छ, मेकअप पनि सुहाउँदो छ तर पनि हातखुट्टा एवं काखीभरि रौं छन् भने व्यक्तित्व त्यति खुल्दैन । समयसमयमा यस्ता अनावश्यक रौंलाई हटाउनु राम्रो हुन्छ । यो शरीरको सम्पूर्ण भागमा गर्न सकिन्छ । तर पनि यो विशेषगरी हातखुट्टा र काखीमा गर्ने गरिन्छ । वाक्स गर्नाले शरीरलाई कुनै पनि हानि पुर्याउँदैन । हामीले यसलाई घरमा आफैंले वा पार्लरमा गएर पनि गर्न सकिन्छ ।
वाक्स विभिन्न तरिकाले गर्न सकिन्छ
१) इपिलेसन :यसअन्तर्गत रौंलाई जरैदेखि निकाल्ने काम गरिन्छ । जस्तै— थ्रेडिङ, प्लकर (चिम्टीले रौं निकाल्ने) ।
२) जिपिलेसन :यसअन्तर्गत रौंलाई छालाको सतहभन्दा माथिबाट हटाइन्छ । जस्तै— हेयर रिमुभर क्रिम, रिमुभर साबुन, रेजर, हेयर रिमुभर मेसिन आदि पर्छन् । यसो गर्दा एक सातामा वा तीनचार दिनमै फेरि गर्नुपर्ने हुन्छ ।
३) इलेक्ट्रोलाइट :यसअन्तर्गत विद्युतीय मेसिनबाट रौंलाई हटाइन्छ । यो गर्दा रौंको जरालाई नै पोल्ने काम गरिन्छ । यो तरिका अपनाउँदा ६ महिना, वर्ष दिन वा सधैंका लागि रौं हटाउन सकिन्छ ।
वाक्स तीन प्रकारका हुन्छन् ।
१) होम वाक्स
यो वाक्स घरमै तयार पारिएको हुन्छ । यो अनुहारमा समेत प्रयोग गर्न सकिन्छ ।
२) कोल्ड वाक्स
यो मसिना रौं निकाल्न प्रयोग गरिन्छ । यो बजारमा किन्न पाइन्छ ।
३) हट वाक्स (पाराफिन)
यो कडा रौं निकाल्न प्रयोग गरिन्छ भने यो पनि बजारमा सजिलै किन्न सकिन्छ ।
वाक्सका लागि आवश्यक सामग्री
१) वाक्स क्रिम
२) वाक्स हिटर
३) वाक्स प्याक
४) धार नभएको चक्कु
५) लोसन
६) पाउडर
७) रुमाल
८) धागो
वाक्स गर्ने तरिका
सबैभन्दा पहिले वाक्स गर्ने ठाउँको कपडा हटाउने । वाक्स गर्ने ठाउँमा सफा गरी त्यहाँ पाउडर लगाउने । वाक्स हिटरमा वाक्स तताएर धार नभएको चक्कुको सहायताले रौं जतातिर फर्किएको छ, उतैतिर वाक्स लगाउने । यसो गरेपछि वाक्स प्याड राखेर त्यसमाथि पाउडर लगाएर औंलाले हल्का रगड्ने । वाक्स लगाएको विपरीत दिशाबाट वाक्स प्याड तान्ने र अर्को हातले थपथपाउने । यसरी नै सम्पूर्ण रौं हटाउने र सफा गरी पुछिदिने । बाँकी भएमा धागोको सहायताले हटाउने र लोसनले मसाज गरिदिने ।
वाक्स गर्दा हुने फाइदा
वाक्स गर्नाले सफा, नरम र राम्रो देखिन मद्दत गर्छ । आफ्नो व्यक्तित्वमा निखारपना आउँछ ।
दुर्गन्धित हुनबाट बच्न सकिन्छ ।
आफूले चाहेजस्तो पहिरन लगाएर गर्मी मौसममा हिँड्न सकिन्छ ।
यो आफैंले पनि गर्न सकिन्छ ।
रौं भएको शरीरका भागहरू हेर्दै घिनलाग्दो देखिने हुनाले वाक्स गरेपछि यसलाई सफा र सुन्दर बनाउन सकिन्छ।
वाक्सका बेफाइदा
सही तरिकाले वाक्स गरिएन भने शरीरमा घाउखटिरा हुने र रगत आउने समस्या देखिन सक्छ । कसैको छाला संवेदनशील छ भने पनि यस्तो छालामा वाक्स नगर्दा नै उपयुक्त हुन्छ ।
आत्मनिर्भर हुन सिकाउने पेसा
पाटनको कोबहल धुम्बहालमा रहेको नसिब ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी सञ्चालक नसिब श्रेष्ठ करिब १२ वर्षदेखि यो पेसामा आबद्ध हुनुहुन्छ । पहिलेदेखि आफू घरमै बसेर केही गरौं भन्ने सोचाइ र अरूलाई सिँगार्दा र आफू सिँगारिँदा आनन्द आउने हुनाले यो पेसा रोजेको उहाँ बताउनुहुन्छ । अहिले यो पेसालाई समाजले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गएको छ भने यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन पनि सजिलो भएको उहाँको अनुभव छ । अहिले साथीभाइ र आफन्तले जागिरभन्दा तिम्रो पेसा राम्रो छ भनेको सुन्दा उहाँलाई आनन्द आउँछ । सीप भनेको खेर जाने कुरा होइन , जागिर भनेको आज हुन्छ भोलि हुँदैन । त्यसैले विवाहपछि जागिर छाडेर घरै बस्नेहरूले पनि यो सीप सिकेर यसलाई पेसा बनाए आत्मनिर्भर हुन सकिने उहाँको सुझाव छ ।