ब्रेन हेमरेजले चिकित्सकको मृत्यु
राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत गाइनोकोलोलोजिष्ट डा. डिके अरबिन्द भनिने ध्रुव कुमारको ब्रेन हेमरेजका कारण मृत्यु भएको छ।
अस्पतालमा बिहीबार साँझ विरामी जाँचेर निवास पुगेका भारतको गणपतगञ्ज निवासी डा. अरबिन्दको ५२ वर्षको उमेरमा ब्रेन हेमरेज हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको अस्पतालका कार्डियोलोजोजिष्ट एवम् डायविटोलोजिष्ट डा. रञ्जीतकुमार झाले जानकारी दिनुभयो।
भारतको आसाम, नेपालको धरान हुँदै राजविराजमा विगत १८ वर्षदेखि उहाँ सेवारत हुनुहुन्थ्यो। अस्पतालमा निःशुल्क सेवा गरिरहेका उहाँले १४ वर्ष अघि गाइनोकोलिष्टको जिम्मेवारी डेढ वर्षसम्म सफलतापूर्वक सम्हाल्नु भएको थियो। डा. अरविन्दकी पत्नी सुनिता परियार सोही अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत हुनुहुन्छ।
डा. अरविन्दको निधनको शोकमा शुक्रबार अस्पतालमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरी श्रद्धाञ्जलि सभा गरिएको छ। सभामा चिकित्सक, स्वास्थ्यकर्मीसहित कर्मचारीले डा. अरविन्दको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए।