काठमाडौं ल्याउन नसकेपछि एयर होस्टेस प्रज्ञालाई लुक्ला अस्पतालमै फर्काइयो
काठमाडौं : लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन नसकिएपछि लुक्ला अस्पतालमै फर्काइएको छ।
केहीबेर अघि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर काठमाडौं आउन नसकेपछि सोलुखुम्बुको चौरीखर्कमा अवतरण भएको थियो।
चौरीखर्कबाट काठमाडौं आउने पटकपटकको प्रयास असफल भएपछि प्रज्ञालाई पुनः लुक्ला अस्पतालमै फर्काइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो।
तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको गोमा एयरको कार्गो विमान दुर्घटनाका घाइते पाइलट पारसकुमार राईको निधन भइसकेको छ। कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस महर्जन घाइते हुनुहुन्छ। कोपाइलट मानन्धरको अवस्था गम्भीर छ। उहाँको लुक्ला अस्पतालमै उपचार भइराखेको छ। प्रज्ञालाई काठमाडौं ल्याउने प्रयास अफसल भएपछि पुनः लुक्ला फर्काइएको ठाकुरको भनाइ छ।
ठाकुरका अनुसार अब कोपाइलट र एयर होस्टेस दुवैजनालाई आज अर्थात् शनिबार काठमाडौं ल्याउने सम्भावना सकिएकाले उहाँहरुको उपचार लुक्लामै हुने छ।