आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो
म्याग्दी : अन्नपूर्ण गाउँपालिका-७ महभिरमा बन्दुकको गोली लागेर एक सिकारीको ज्यान गएको छ।
हिस्तानको जङ्गल क्षेत्रमा शनिबार राति सिकार खेल्न गएका मालिका गाउँपालिका–२ रुमका ३४ वर्षीय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार महभिरस्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लिएर लडेपछि आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घाइते भएका थिए।
घटनाको अनुसन्धानका लागि पुनसँगै सिकार खेल्न गएका अन्नपूर्ण गाउँपालिका-७ महभिरका २० वर्षीय विवेक शेरपुञ्जा र अन्नपूर्ण-१ दोवाका ३४ वर्षीय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस