जनता बैंक नेपालको विशेष साधारणसभा
काठमाडौं : जनता बैंक नेपाल लिमिटेडको विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले गर्नुभएको थियो । सभाले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न एवं सेयर आदानप्रदान अनुपात १ : १ लाई स्वीकृत गरेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड प्राप्तिपश्चात् बैंकको चुक्तापँजी करिब सात अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकको चुक्तापँजी आठ अर्ब रुपैयाँ पुर्याउन अपुग हुने रकम चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर जारी गरिने बैंकले जनाएको छ । बैंकको जगेडा कोषमा करिब एक अर्ब ३६ करोड रुपैयाँ रहेको जनाएको छ । यसरी बैंकको चुक्तापँजी आठ अर्ब पुग्ने भएकाले सातौं वार्षिक साधारणसभाबाट पारित हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णयलाई विशेष साधारणसभाले फिर्ता लिएको बैंकले जनाएको छ ।
प्राप्तिपश्चात् ०७४ असार मसान्तमा बैंकको निक्षेप करिब ५१ अर्ब, कर्जा लगानी करिब ४८ अर्ब, खुद नाफा करिब ७५ करोड, स्थिर सम्पत्ति करिब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले एक सय १२ शाखा तथा ६० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।