बजेटमा परराष्ट्र मामिला, चीन र भारतसँग समदूरीको सम्बन्ध

बजेटमा परराष्ट्र मामिला, चीन र भारतसँग समदूरीको सम्बन्ध

काठमाडौं : सरकारले दुई छिमेकी चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्ने उल्लेख गर्दै दुवै छिमेकीको आर्थिक विकासबाट लाभ लिन सक्ने नीति अख्तियार गरिने जनाएको छ ।अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार घोषणा गरेको आव ०७४/७५ को बजेटमा छिमेक सम्बन्ध महत्वसाथ उल्लेख गरिएको छ । दुवै छिमेकीले गरेको आर्थिक विकासबाट लाभ लिने नीति सरकारले लिएको बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनसँग रेल, सडक, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने गरी एक महिनाअघि 'बेल्ट एन्ड रोड' अवधारणामा हस्ताक्षर गरेको थियो । त्यस्तै, भारतसँग पनि रेल, सडकलगायत कनेक्टिभिटी परियोजनालाई गति दिने गठबन्धन सरकारको धारणा आएको छ । गठबन्धन सरकारले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने उल्लेख गरेको छ ।

वर्तमान सत्ता गठनबन्धन कायमै रहने हुँदा अब गठन हुने सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा अहिलेकै सरकारले अघि बढाएको नीति लिनेमा विश्वस्त रहेको सरकारी अधिकारीले बताए । मुलुकको आर्थिक विकासका लागि यस्तो नीति बनाउन लागिएको उल्लेख छ । सरकारले विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण र प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गर्ने भएको छ ।

बजेट भाषणमा अर्थमन्त्री महराले बजेटमा सरकारले परराष्ट्र सम्बन्ध प्रभावकारी बनाउँदै विश्व रंगमञ्चमा नेपालको उपस्थिति सारपूर्ण बनाइने उल्लेख गर्नुभयो । विदेशस्थित नेपाली नियोगलाई आर्थिक कूटनीति, श्रम कूटनीति, पर्यटन कूटनीति र व्यापार कूटनीति सञ्चालन गर्न क्षमतावान् बनाइने सरकारले जनाएको छ ।उच्चस्तरीय भ्रमणका क्रममा चीन र भारतसँग भएका सहमति, सन्धि र समझदारीअनुरूप परियोजना निर्माण प्राथमिकतासाथ अघि बढाउने मन्त्री महराले उल्लेख गर्नुभयो ।

विद्युतीय राहदानी (ई—पासपोर्ट) का लागि आवश्यक पूर्वाधार तयार गरिने मन्त्री महराले उल्लेख गर्नुभयो । सरकारले मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आए पनि यसलाई केही वर्षभित्रै प्रतिस्थापन गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुझावअनुसार ई—पासपोर्ट लागू गर्ने नीति लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पूर्वाधार विकास गरी विदेश नीति विश्लेषण तथा अनुसन्धान केन्द्रका रूपमा विकसित गर्दै लैजाने नीति सरकारले लिएको छ ।

मानवअधिकारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेका प्रतिबद्धता पूरा गरिने मन्त्री महराले बताउनुभयो । मानवअधिकार प्रत्याभूति गर्न सम्बन्धित सरकारी निकाय सजग गराइने उहाँले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा परिचालन गरिने जनाउँदै मन्त्री महराले संघीयता अनुकूल हुनेगरी विकास सहायता नीति परिमार्जन गरिने बताउनुभयो । स्थानीय तह र प्रदेशमा अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने विधि र प्रक्रिया तय गरी कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो।

'विकास प्रक्रियामा सरकारी, निजी, सरकारी र गैरसरकारी क्षेत्रको समन्वयात्मक परिचालन गरिनेछ', बजेटमा भनिएको छ, 'गैरसरकारी संस्थाको कार्यसञ्चालन र प्रक्रिया पारदर्शी बनाउन अनुगमन प्रभावकारी बनाइनेछ ।' अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले तोकेको क्षेत्र र स्थानमा पारदर्शी रूपमा काम गर्नुपर्ने व्यवस्थामा कडाइ गर्ने नीति लिएको छ ।

सरकारले बजेटमार्फत सम्बन्धित स्थानीय निकायले अन्तर्राष्ट्रिय गैरसकारी संस्थाको कार्यक्रम अनुगमन गर्ने व्यवस्था गरिने जनाएको छ । 'यससम्बन्धी विद्यमान कानुन प्रतिस्थापन गरी नयाँ कानुन ल्याइनेछ', बजेटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.