‘जेठ २१ गते देउवा प्रधानमन्त्री’
काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले जेठ २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनु भएको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता पुनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गर्दै यस्तो बताउनु भएको हो।
‘सकेसम्म सहमति अनुसार नै उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, यदि सम्भव भएन भने उहाँ बहमुतको प्रधानमन्त्री बन्नुहुन्छ’, नेता पुनले भन्नुभयो, ‘हामी ढुक्क छौं, देउवा यही २१ वा २२ गते नै प्रधानमन्त्री बन्नुहुन्छ।’
सँगै पुनले देउवालाई सहमतीय सरकारको नेतृत्व गर्नको लागि सबैभन्दा सुविधाजनक अवस्था आएको समेत जिकिर गर्नुभयो। ‘कम्तिमा पनि तीन तहकै निर्वाचन सम्पन्न नहुँदासम्म प्रमुख तीन दल मिलेर जानुपर्छ, सहमतिय सरकारका लागि यो नै उपयुक्त समय पनि हो’, नेता पुनले भन्नुभयो, ‘देउवा नेतृत्वको सरकारमा एमाले आए राम्रो हुन्छ नआए पनि हाम्रो गठबन्धन अगाडि बढ्छ।’
पूर्वअर्थमन्त्री समेत रहेका पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताउनु भयो।
‘यसपाली समयमै बजेट आएको छ, सम्मानीय प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महराको नेतृत्वमा संघीय बजेटको रुप दर्ज भएको छ’, पुनले भन्नुभयो, ‘यो खुशीको कुरा हो यो बजेटले एउटा इतिहास लेखेको छ।’
दोस्रो चरणको निर्वाचनकै बीचमा बजेट आएकाले आचारसंहितालाई ध्यान दिएर ल्याइएको पुनले प्रष्ट पार्नुभयो। ‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ,’ पुनले भन्नुभयो।
मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको भन्दै पुनले खुशी व्यक्त गर्नुभयो।