तनहुँमा सवारी दुर्घटना हुँदा एको मृत्यु, १९ घाइते
दमौलीः तनहुँ जिल्लाका विभिन्न भागमा भएका सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। घटनामा परी १९ घाइते भएका छन्।
काहुँशिवपुरबाट कच्ची सडकमार्फत दमौली झर्दै गरेका ऋषिङ गाउँपालिका १ झापुटारका २९ वर्षका तिलबहादुर थापाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो।
काहुँबाट ओह्रालो झापुटार झर्ने क्रममा भीरबाट करिब एक सय मिटर तल उनी सवार ग १२ प ४८५ नम्बरको मोटरसाइकल खसेको थियो।
घटनामा परी थापा र उनीसँगै सवार झापुटारकै ३२ वर्षका मनबहादुर थापा घाइते भएका थिए। घाइतेमध्ये तिलबहादुरको उपचारका क्रममा दमौली अस्पतालमा मंगलबार राति ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते चालक मनबहादुरलाई प्रहरीले उपचारपश्चात नियन्त्रणमा लिएको छ। उता, म्याग्दे गाउँपालिकाको गुणादीस्थित पृथ्वी राजमार्गमा विहान माइक्रोबस दुर्घटना हुँदा त्यसमा सवार १६ जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४९५२ नम्बरको तीव्र गतिको माइक्रो माथिल्लो गुणादीको खोल्सामा दुर्घटना भएको हो।
यता, व्यास नगरपालिका १२ कमलाबारीमा ट्रकले माइक्रो तथा बस र एक मोटरसाइकललाई ठक्कर दिएको छ।
दमौलीतर्फ आइरहेको ना ४ ख २७२५ नम्बरको ट्रकले कमलाबारीमा पर्यटक बस, माइक्रो बस तथा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी ग ११ प ५३२ नम्बरको मोटरसाइकलमा सवार दुई यात्रु सामान्य घाइते भएका छन्। घटनाका कारण केहीबेर राजमार्ग अवरुद्ध बनेको थियो। ट्रक एक स्थानीयको घरमा ठोक्किएको छ। ट्रकको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरी निरीक्षक वसन्तबहादुर मगरले बताए।