सरकार बनाउन देउवाको कसरत

सरकार बनाउन देउवाको कसरत

काठमाडौं : सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिनु एक दिनअघि कांग्रेसले आफ्ना पक्षमा समर्थन जुटाउन संसद्मा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गरेको छ । कांग्रेसले बुधबार प्रमुख विपक्षी दल एमाले नेतासँग छलफल गर्ने भएको छ । सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार सकिँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० मा राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि एक साताको समय दिनुभएको थियो । उक्त समय बुधबार सकिँदै छ । बुधबार सहमतीय सरकार गठन नभए बिहीबारदेखि सरकार गठन बहुमतीय प्रक्रियामा अघि बढ्नेछ । अहिलेसम्मको अवस्था हेर्दा बुधबार नै सहमतीय सरकार गठन हुन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।

आफैंले संसद् भवन नयाँ बानेश्वरमा मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनाव सम्पन्न गरेपछि मात्रै नयाँ संविधानको पूर्ण कार्यान्वयन हुने भन्दै आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

देउवाले तराई-मधेसका समस्यालाई समाधान गरी संविधानलाई सर्वस्वीकार्य बनाउने पक्षमा आफ्नो दल रहेको धारणा व्यक्त गर्नुभएको थियो । ‘माघ ७ गतेसम्म तीनै तहको चुनाव सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने हामीबीच ठूलो जिम्मेवारी छ', देउवाले भन्नुभयो, ‘संविधान कार्यान्वयन गराउनुपर्ने दायित्व संसद्मा रहेको सबै दलको भएकाले पनि सबैलाई सहमतीय सरकार गठनका लागि आग्रह गर्दछु ।'

देउवाले वर्तमान सरकारले तराई मधेसका समस्या समाधान गर्न संविधान संशोधन प्रस्ताव संसद्मा पेस गरेको बताउँदै उपयुक्त समयमा पारित हुने पनि उल्लेख गर्नुभयो । ‘संविधानलाई सर्वस्वीकार्य बनाउन हामीले तराई-मधेसका समस्या समाधान गर्न संशोधन प्रस्ताव दर्ता गरेका हौं', देउवाले भन्नुभयो, ‘यसलाई हामी उपयुक्त समयमा पास हुने अवस्था आएपछि मतदानमा लैजान्छौं ।'

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमतिअनुसार आफूले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिएको बताउनुभएको थियो । बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सहमतीय सरकार गठनको विषयमा संविधानमा उल्लेख प्रावधान नै गलत भन्दै लोकतन्त्रमा प्रतिपक्ष हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अध्यक्ष थापाले तीन प्रमुख दल सरकारमा सहभागी भए आफू प्रतिपक्षमा बस्ने तर दुई दल मात्रै सरकारमा सहभागी भए आफ्नो दल पनि सरकारमा सहभागी हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो ।

संविधान सर्वस्वीकार्य बनाउन मेरो नेतृत्व ।

‘तीन ठूला दल मिलेर सरकार बन्छ भने हाम्रो पार्टी प्रतिपक्षमा बस्छ', थापालाई उद्धृत गर्दै कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले अन्नपूर्णसँग भन्नुभयो, ‘बहुमतको सरकार बन्ने दिशामा गयो भने कांग्रेसलाई समर्थन गर्न हाम्रो कुनै आपत्ति रहँदैन ।'

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले मधेसका समस्या समाधान गर्ने प्रयास भए पनि कुनै निष्कर्ष ननिस्किएको भन्दै सरकारमा सहभागी नहुने धारणा व्यक्त गर्नुभएको थियो । ‘मधेसका माग सम्बोधन गर्ने प्रयत्न भए तर सम्बोधन हुन सकेन', कर्णले भन्नुभयो, ‘संशोधन विधेयक पारित गरी हामीले उठाएका मुद्दालाई जसले सम्बोधन गर्छ त्यसकाप्रति हाम्रो समर्थन रहन्छ ।'

नेकपा माले र नेमकिपाले भने सहमतीय सरकार गठन गर्ने भए सरकारको नेतृत्वमा खुला हुनुपर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, फोरम (लोकतान्त्रिक), राजपा नेपाल, नेमकिपा, नेकपा (माले), नेकपा (संयुक्त), थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो । बैठकमा प्रमुख प्रतिपक्ष एमाले भने सहभागी थिएन ।

कांग्रेस सभापति देउवाले एमालेसँग आफूले छुट्टै भेटेर सहमतीय सरकार गठनका लागि आग्रह गर्ने धारणा बैठकमा व्यक्त गर्नुभएको थियो । देउवाले बुधबार एमाले नेताहरूलाई भट्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.