दोस्रो चरणको चुनाव असार १४ गते हुने
काठमाडौं : दोस्रो चरणको चुनाव असार १४ गते हुने भएको छ । मन्त्रिपरिषद्को बुधबार बिहान सम्पन्न बैठकले असार ९ गते तय भएको चुनावको मिति सारेर १४ गते दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।
असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले असार १४ गते सारिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । सुरुमा दोस्रो चरणको चुनाव जेठ ३१ गते तय गरिएपनि केही दिनअघि मात्र चुनावको मिति सारेर असार ९ गते पुर्याइएको थियो ।
दोस्रो चरणको चुनाव प्रदेश नम्बर १, २, ५ र ७ मा हुने छ । अन्य ३, ४ र ६ प्रदेशको चुनाव वैशाख ३१ गते नै भइसकेको छ । केही दिनअघिमात्र असार ९ गते चुनावको मिति तय गरिएको थियो । रमजान पर्व पर्ने भएकाले मुस्लिम समुदायले चुनाव सार्नका लागि मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका थिए ।
चुनावको मिति सार्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा मंगलबार नै छलफल गर्नुभएको थियो ।
केही दिनअघि मात्र असार ९ गते दोस्रो चरणको चुनावको मिति तोकिएको भए पनि मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मिति सार्ने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमासमेत छलफल भएको थियो।