अरुले पिठो बेचे, हामी चामल त बेचौं : प्रचण्ड

अरुले पिठो बेचे, हामी चामल त बेचौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउनु भएको छ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताउनु भएको हो।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा बोल्दै यस्तो बताउनु भएको हो।  ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ। यही अवधिमा लोडसेडिङको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षाैदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हाम्रै पालामा महाकालीमा पुल बन्दैछ, १४ वटा ठूला सडकहरु हाम्रै पालामा बन्दैछन्, फास्ट ट्रयाक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलासययुक्त आयोजना सुरु हुँदैछ।’

आफ्नै पालामा आर्थिक वृद्धिदर उच्च भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले धेरै उपलब्धि माओवादीकै पालामा भए पनि जस लिन नसकेको गुनासो गर्नु भएको छ।

‘आर्थिक वृद्धिदर ७.५% पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ। इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ। २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं।’

प्रधानमन्त्रीले अरुले काम नै नगरी गफै गरेर चर्चा बटुलेको भन्दै माओवादी सांसदले आफ्नो सरकारले गरेका कामको प्रचार गर्न नसकेको बताउनु भयो।
‘अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं। तपाई सांसदहरु गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्’, प्रधानमन्त्रीले थप्नुभयो, ‘जनतालाई बुझाउनुस्। अरुले पिठो बेचे, हामी चामल त बेचौं।’

प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसदलाई निर्वाचनलाई सामान्य अर्थमा नलिन आग्रह गर्नुभएको छ।  ‘निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ। यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेसको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ’, प्रधानमन्त्रीले थप्नुभयो।

प्रधानमन्त्री प्रचण्डले एकै चरणमा निर्वाचन गर्दा निर्वाचन नै नहुने खतरा रहकाले दुई चरणमा चुनाव गर्नु परेको बाध्यता समेत सुनाउनु भएको छ। उहाँले मुस्लिम समुदायको विशेष पर्व रमजानलाई ख्याल राखेर असार १४ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय भएको समेत प्रष्ट पार्नुभयो।

‘हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं। तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो। सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गते चुनाव सार्ने निर्णय गरिएको छ।’

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मधेसवादी दल राष्ट्रिय जनाता पार्टी (राजपा) पनि सहभागी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नु भएको छ। उहाँले असार १४ को मौसमका विषयमा मौसमविद्सँग पनि परामर्श भएको समेत प्रष्ट पार्नु भएको छ। ‘अब राजपा पनि चुनावमा आउँछ, एमालेका साथीहरुको पनि आलोचनात्मक समर्थन छ। असार १४ को निर्वाचन फेरि सर्दैन’, प्रचण्डले भन्नुभयो, ‘चुनाव हुन्छ, मौसमविदहरुसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ।’

प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा दिइसकेको अवस्थामा सहमतीय सरकारका लागि पहल भएको भए पनि सम्भावना सकिएको बताउनु भएको छ। संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्ने प्रष्ट पार्नुभएको छ।  ‘छलफल त जारी छ तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’, उहाँले भन्नुभयो।

माओवादी संसदीय दलको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.