जित र हारका पाँच कारण पठाउन एमालेको निर्देशन
काठमाडौ : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबै भन्दा बढी एक सय २४ स्थानीय तहमा आफनो नेतृत्वलाई विजयी गराएको नेकपा एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीमा आफूलाई केन्द्रित गरेको छ ।
एमालेले पहिलो चरणको निर्वाचनमा जित्नुका पाँच र हार्नुका पाँच कारण स्थानीय तहबाट मगाएर दोस्रो चरणको निर्वाचनको रणनीति बनाउन खोजेको छ । पहिलो चरणको निर्वाचनमा बिजय हासिल गरेका जनप्रतिनिधिहरुका लागि एमालेले पठाएको बिशेष निर्देशनमा जित्नु र हार्नुको काण पठाउन माग गरिएको छ ।
‘निर्वाचनमा सफलता या असफलताका लागि आधार तथा कारणहरुको व्यवस्थित समिक्षा निकै महत्वपूर्ण हुने र यसले दोस्रो चरणको निर्वाचनका लागि सन्दर्भ सामग्रीको काम गर्ने हुनाले जेठ २५ गते भित्र बिजय हासिल भएका स्थानमा सफलताका पाँच मुख्य आधार तथा पराजित भएका स्थानमा पराजयका पाँच मुख्य कारणहरु उल्लेख गरेर केन्द्रीय सचिवालयमा पठाउनुहुनेछ’महासचिव इश्वर पोखरेलले पठाएको बिशेष निर्देशनमा भनिएको छ ।
स्थानीय सरकारका लागि सबै कानूनहरु ६ महिना भित्र बनाइसक्ने गरी काम शुरु गर्न, पाँच बर्षे योजना अनुरुप सरकारले पहिलो बर्ष,दोस्रो बर्ष हुँदै पाँच बर्षभित्र गर्ने कामको फेहरिस्त तयार गर्ने, र त्यस अनुसार नै कार्यक्रमको प्राथमिकीकरण गर्ने र बार्षिक कार्यक्रम तथा बजेट तयार गर्न एमालेले निर्देशन दिएको छ । आफनो क्षेत्रमा देखा पर्न सक्ने जोखिमहरुको आँकलन गर्ने र त्यसको न्यूनीकरण गर्ने कार्यलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न पनि एमालेले निर्देशन दिएको छ ।
आफनो क्षेत्रको भू उपयोग सम्बन्धी अध्ययन गरी गराई कुन क्षेत्र के प्रयोजनका लागि उपयोग गर्ने हो,त्यसको निक्र्यौल ६ महिना भित्र गरिसक्न,त्यसैका आधारमा आवास, कार्यालय,व्यवसाय,निर्माण,सार्वजनिक स्थान आदिका लागि अनुमति दिन निर्देशन दिइएको छ ।
यस्तो छ एमालेको बिशेष निर्देशन