राष्ट्रिय खेललाई बजेटको अभाव हुँदैन
काठमाडौं : युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय खेल भलिबललाई बजेटको अभाव नहुने बताउनु भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको अवसरमा नेपाल भलिबल संघद्वारा आयोजित बधाई तथा कृतज्ञताज्ञापन कार्यक्रममा मन्त्री श्रीपाइलीले हालै सार्वजनिक भएको आर्थिक वर्ष २०७४/०७५ को बजेट मन्तव्यमा भलिबल खेल सम्बोधन नभए पनि राष्ट्रिय खेललाई बजेटको अभाव नहुने बताउनु भयो ।
‘भलिबल राष्ट्रिय खेल घोषणा हुँदा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको थियो । त्यही कारण राष्ट्रिय खेलले बजेट वक्तव्यमा स्थान पाउन सकेन । तर भलिबलका लागि बजेट अभाव हुँदैन' मन्त्री श्रीपाइलीले भने ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले राष्ट्रिय खेल घोषणा भएपछि अवसरसँगै चुनौती पनि थपिएकाले भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले समन्वय गरेर अगाडि बढेमात्र भलिबलको विकास हुने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सबैको प्रयासबाट मात्रै राष्ट्रिय खेल भलिबललाई उचाइमा पुर्याउन सकिने बताउनु भयो । कार्यक्रममा भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न सहयोग पुर्याउने मन्त्री, सचिव र सदस्यसचिवलगायतलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले खेलाडी कल्याणका लागि अक्षयकोष स्थापना गर्न १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, परिषद्का पदाधिकारी तथा कर्मचारी, राष्ट्रिय खेलाडी, विभिन्न संघका पदाधिकारी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।