‘इम्बोस्ट नम्बर प्लेट' जडानको मूल्य निर्धारण

‘इम्बोस्ट नम्बर प्लेट' जडानको मूल्य निर्धारण

काठमाडौं :  सरकारले सवारीसाधनमा जडान गरिने उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर प्लेट' को लागत मूल्य निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको मूल्य सिफारिस समितिको सुझावका आधारमा इम्बोस्ड नम्बर जडान गर्दा सवारीधनीले तिर्नुपर्ने मूल्य निर्धारण गरिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले न्यूनतम २५ सयदेखि अधिकतम ३६ सय रुपैयाँ मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो । समितिले तीन तहको मूल्य सिफारिस गरेको थियो । उहाँका अनुसार मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यसैगरी कार/जिप/भ्यान र ट्र्याकटरले इम्बोस्ड नम्बर जडानमा ३२ सय रुपैयाँ तिर्नुपर्नेछ ।

यसबाहेकका सबै ठूला सवारीसाधनमा सवारीधनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । समितिले तय गरेको मूल्य सवारी ऐन २०४९ को अनुसूचीमा समावेश गरेर संशोधन गर्ने तयारी मन्त्रालयले गरेको छ । पाँच वर्षभित्र देशभरका सबै सावरीसाधनमा इम्बोस्ड नम्बर जडानका लागि अनुमति पाएको बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटुर टाइगरले प्लेटको नमुना तयार गरिसकेको छ । विभागले तयारी नमुना प्लेट जडान गर्ने तयारी गर्दै गर्दा कानुनी अड्चन आएपछि अनुसूची संशोधनका लागि मन्त्रालयसँग सहकार्य गरेको थियो ।

मोटरसाइकल/स्कुटरका लागि २५ सय -कार/जिप/भ्यान तथा ट्र्याक्टरका लागि ३२ सय -ठूला र अन्य सबै प्रकारका सवारीका लागि ३६ सय

विभागले अब अनुसूची संशोधन भएर आएको एक साताभित्रै सरकारी सवारीसाधनबाट इम्बोस्ड नम्बर प्लेट जडानको काम अगाडि बढाउने भट्टराईले जानकारी दिनुभएको छ । सरकारी सवारीसाधनसँगै निजी र सार्वजनिक सवारीसाधनमा समेत इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु हुने उहाँको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट जडानसँगै सवारीचालकको समस्या अन्त्य हुनेछ । लामो समयदेखि करको दायराभन्दा बाहिर रहेका सवारीसाधन पनि करको दायरामा आउने उहाँको भनाइ छ ।

एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर' भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस' ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो । यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छलगायत सबै तथ्य यातायात व्यवस्था कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नुपर्दैन । परिवर्तन गर्नुपरेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ । सरकारले कुल ३८.७५० मिलियन अमेरिकी डलर खर्चंदै देशभरका सवारीसाधनमा नम्बर प्लेट जडान गर्न लागेको हो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने यसको विरोध गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले अवैज्ञानिक, अव्यवहारिक र हचुवाको भरमा मूल्य तय भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आम यातायात व्यवसायीले मात्रै नभइ सर्वसाधरणले समेत कुन आधारमा मूल्य तोकिएको हो त्यसको जानकारी पाउनुपर्छ ।' सरकारले सरोकारवालासँग छलफल नै नगरी मूल्य तोकेको उहाँको दाबी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.