गर्मीमा चिल्ड बियर !

गर्मीमा चिल्ड बियर !

काठमाडौं :  बुद्धनगर निवासी मोहित श्रेष्ठ गर्मी मौसममा बिदाको समय पारी साथीसँग बियर बोकेर सुनकोसी नदीतिर लाग्छन् । बालुवामा बियर गाडेर उनीहरू पौडी खेल्छन्, अनि चिसो भइसकेको बियर झिकेर पिउँछन् । नदीको किनारमा बालुवाबाट चिसो बियर झिकेर पिउनुको मज्जा बेग्लै हुन्छ, उनी भन्छन् । देशमा गर्मी सुरु भइसकेको छ । अघिल्लो शनिबार श्रेष्ठको टोली सुनकोसी पुगेर फर्किसकेको छ । ‘अबको गन्तव्य त्रिशूली नदी हो' उनले अन्नपूर्णसँग भने ।

उनका अनुसार नदीको किनारमा बसेर चिसो बियर पिउनेहरू धेरै हुन्छन् । अझ दिनभरि नदीमा र्‍याफ्टिङ गरेर थाकेको ज्यानलाई त चिसो बियर नभई हुँदैन । भैरहवाका राकेश गुरुङ गर्मी मौसममा दिउँसै साथीसँग बसेर चिसो बियरको चुस्की लिन रुचाउँछन् । भैरहवा बढी गर्मी हुने ठाउँ, घामले हपहप्ती पोल्छ । ‘गर्मीको राप मेटाउन पनि आत्माले चिसो बियरको तिर्सना गर्छ', उनी भन्छन् । चिसो बियर पिएपछि बल्ल मन ठण्डा हुने र जाँगर पलाउने उनको अनुभव छ।

ठण्डा मौसमा अक्सर ह्विस्की र रम पिउने प्युठानका पदम पोखरेल गर्मीमा चिसो बियर पिउँछन् । ‘गर्मीमा थकान भएको शरीरलाई चिसो बियरले ऊर्जा दिन्छ', उनले अन्नपूर्णसँग भने, ‘गर्मी हुनासाथ मनले पनि एक गिलास चिसो बियरको कल्पना गर्छ ।' घुम्न निस्कँदाबाहेक प्रायः घरमै बियर पिउने गरेको उनी बताउँछन् । बिदाको दिन घुम्न जाँदा दिउँसै बियर खाए पनि खासै फरक नपर्ने भएकाले बिहानैदेखि बियर पिउन मज्जा आउने उनले बताए ।

गर्मीको समयमा बियर धेरैको रोजाइ हुने गरेको छ । चिसो बियर भन्नेबित्तिकै बियर पारखीको मुख रसाउन थाल्छ । अझ गर्मी मौसममा आत्माले नै चिसो बियर पिउन पाए मज्जा आउने कल्पना गरिहाल्छ । होटेले, रेस्टुराँमा होस् अथवा नदीकिनार वा डाँडाकाँडा चहार्दा धेरैको रोजाइमा बियर पर्छ । नेपालमा बियरका प्रयोगकर्ता बढ्दै जाँदा बिक्री पनि ह्वात्तै बढेको व्यवसायी बताउँछन् । ठण्डाभन्दा गरम मौसममा बियरको माग बढी हुने बुद्धनगरका मदिरा पसले बताउँछन् ।

नेपालमा बियरको बजार ह्वात्तै बढेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् । ह्विस्की, भोड्कालगायत मदिरा उत्पादन गर्दै आएका उनले छिट्टै बियर उत्पादन सुरु गर्ने बताए । ‘नेपालमा बियरको पारखी बढ्दै गइरहेका छन्, बजार पनि विस्तार भइरहेको छ', उनले भने, ‘मदिरा पारखीलाई क्याच गर्न पनि बियर उत्पादन गर्नुपर्ने देखिएको छ ।' नेपालमा बियरको बजार वार्षिक २५ प्रतिशतले बढिरहेको बियर उत्पादक बताउँछन् ।

अहिले नेपालमा आधा दर्जनभन्दा बढी उद्योग गोर्खा ब्रुअरी (समर्सबी, टुबोर्ग, सानमिगल, गोर्खा), टाइगर ब्रुअरी (टेन्सबर्ग), यती ब्रुअरी (अर्ना), सिजी ब्रुअरी (नेपाल आइस), माउन्ट एभरेस्ट ब्रुअरी, युनाइटेड ब्रुअरीलगायतले बियर उत्पादन गर्दै आइरहेका छन् । योभन्दा बढी संख्यामा ब्रुअरी उद्योग सञ्चालनको तयारीमा छन् । सरकारले मदिरा उद्योगको लाइसेन्स बन्द गरिदिँदा धेरै लगानीकर्ता लाइसेन्स कुरेर बसेका छन् ।

बियर पिउने कुनै निश्चित वर्ग र समूह छैनन् । धनी÷गरिब, युवा÷प्रौढ सबैले बियर उत्तिकै रुचाउँछन् । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा बियरका पारखी हुन् । उनले ह्वाइट हाउसमै बियर बनाएर पिउने गरेको समाचार बाहिर आएको थियो । धनाढ्य वर्गदेखि तल्लो वर्गसम्म सबै बियरमा रमाउन खोज्छन् । नेपाली समाजमा पनि भोज भतेरमा बियर अनिवार्यजस्तै भइसकेको छ । गर्मीयाममा महँगो ह्विस्कीभन्दा सस्तो बियर खोज्ने धेरै हुने गरेको बार टेन्डर बताउँछन्।

पर्यटन क्षेत्रका अभियन्ता किशोर खड्का गर्मी समयमा सबैभन्दा बढी मन पर्ने पेय पदार्थ बियर भएको बताउँछन् । ‘टुरमा जाँदा दिउँसै खान्छु, किनकि टुरमा खाँदा कसैलाई डिस्टर्व हुँदैन', उनले भने, ‘टुरमा निस्कनासाथ धेरैले बियर पिउन खोज्छन् ।' बिदाको समयमा राजधानी काठमाडौंमा पनि दिउँसै बियर खाने गरेको उनले सुनाए । उनी भन्छन्, ‘गर्मी महिनामा साथीहरूसँग बसेर चिसो बियर खानुको मज्जा बेग्लै हुन्छ ।'

गर्मी मौसममा होटेल, रेस्टुरेन्टमा पनि बियर बढी खपत हुन्छ । रेस्टुरेन्टका बार टेन्डरका अनुसार बियरका पारखी बढ्दै गएका छन् । गर्मीमा मात्रै होइन, ठण्डा मौसममा पनि बियर पिउनेको संख्या बढेको बार टेन्डरको बुझाइ छ । बियर सफ्ट ड्रिङ्समा पर्ने भएकाले परिवारसँग पनि पिउन सकिन्छ । छोराले बियर र छोरीले वाइन पिउने संस्कृति नेपालमा ह्वात्तै बढेको छ । तर, छोरी मान्छेले पनि बियर उत्तिकै पिउन थालेको बार टेन्डर बताउँछन् ।

नेपालीको आयस्रोत बढ्दै गएपछि मदिराको बिक्री पनि बढ्दै गएको छ । सहरमा मात्र होइन, गाउँका दूरदराजसम्म बियर पुग्न थालिसकेको छ । बिजुली गएको ठाउँमा फ्रिजमा राखेर चिसो बनाइने बियर बिजुली नपुगेको ठाउँमा घैंटोमा पानी राखेर बियर डुबाई चिसो बनाउने गरिएको पाइन्छ । खासगरी वैदेशिक रोजगारी र अन्य पेसाका कारण गाउँका मान्छेको समेत आयस्रोत बढ्न थालेपछि गाउँ-गाउँसम्म बियर पुग्न थालेको हो ।

सहरका डान्सबार, गजल साँझ र दोहोरी साँझमा पनि बियरको प्रयोग बढी हुन्छ । अझ दोहोरी साँझमा बियर बढी खपत हुने व्यवसायी बताउँछन् । यस्तै, रेस्टुरेन्ट, होटेलमा पनि बियर धेरै खपत हुन्छ । महेश बस्नेत उद्योगमन्त्री हुँदा होटेललाई माइक्रो ब्रुअरीको लाइसेन्स दिएर बियर उत्पादन गर्ने निर्णय गरेका थिए । होटेलमा आउने ग्राहकलाई ताजा बियरको स्वाद चखाउन यस्तो निर्णय गरिएको थियो । विदेशतिर ठूला होटेल तथा रेस्टुरेन्टले आफैं बियर उत्पादन गरेर ग्राहकलाई सर्भ गर्छन् । नेपालमा भने सरकारले मदिराको लाइसेन्स रोकिदिएको हुँदा होटेल÷रेस्टुरेन्टले माइक्रो ब्रुअरी खोल्न सकेका छैनन्।

मदिरा बिक्रेता भन्छन्, घरमै लगेर बियर पिउने पनि उत्तिकै हुन्छन् । गर्मीको समयमा २÷४ जना भेला भएमा बियर पिउने योजना तत्कालै बनिहाल्छ । बियर नेपालीको संस्कृति बन्दै गइरहेको छ । तीर्खाको तिर्सना र गर्मीको हपहपी हटाउन चिसो बियर नै उपयुक्त ठानिन्छ । चिसो बियरको तीतो-मीठो स्वादले धेरैलाई तान्दै गइरहेको व्यवसायी बताउँछन् ।

नेपालमा ठूलो परिमाणमा मदिरा आयात हुन्छ । तर, बियरमा नेपाल करिब आत्मनिर्भर भइसकेको छ । बियरमा लगानी पनि ओइरिँदै गइरहेको मदिरा उत्पादक संघका अध्यक्ष केसी बताउँछन् । सञ्चालनमा रहेका उद्योगले पनि क्षमता विस्तार गरिरहेका छन्, नयाँ कम्पनी थपिने क्रम पनि जारी छ । ठूला व्यावसायिक घरानाले पनि बियर उत्पादनमा आँखा लगाउँदै आएका छन् ।

चौधरी समूहको सिजी ब्रुअरीले धमाधम क्षमता विस्तार गरिरहेको छ । नवलपरासीमा रहेको ब्रुअरीले नेपाल आइसलगायत ब्रान्डको बियर उत्पादन गर्छ । चौधरी समूहले ब्रुअरीमा एक अर्ब रुपैयाँ थप्दै छ । उद्योगको विस्तारपछि वार्षिक ३० हजार केस बियर उत्पादन थपिनेछ । विशाल समूह पनि बियर उत्पादनमा एग्रेसिभ भएर लागिरहेको छ । शारडा समूहको पनि बियरमा मोटो लगानी छ । यस्तै, खेतान समूह बियरको खेलाडी नै हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.