आईजीपी मुद्दामा असार १ गते सुनुवाइ
काठमाडौं : प्रहरी आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेपछि डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा अर्को सुनुवाइ असार १ गते हुने भएको छ । बिहीवारबाटै सुरु सुनुवाइ नसकिएपछि अर्को पेसी एक सातापछि तय भएको हो ।
न्यायाधीशहरू चोलेन्द्रशमशेर राणा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहद् इजलासमा भएको सुनुवाइमा बिहीवार सिलवालका कानुनव्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब दुई घण्टा बहस गर्नुभयो । उहाँले डीआईजीको कार्यसम्पादन मूल्यांकनका लागि गठित महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ संलग्न समितिलाई नै संविधान र कानुनले नचिनेको जिकिर गर्नुभयो ।
आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई सरकारले गरेको नियुक्ति सर्वोच्चबाट बदर भएपछि अर्यालको नियुक्ति भएको थियो । अर्यालविरुद्ध सिलवालले दिएको अर्को रिटमा अन्तिम सुनुवाइ चलिरहेको छ ।