फुटबलको प्रत्यक्ष प्रसारण एपी वान टेलिभिजनमा

फुटबलको प्रत्यक्ष प्रसारण एपी वान टेलिभिजनमा

काठमाडौं : नेपाली फुटबल खेलको प्रत्यक्ष प्रसारण अबदेखि एपीवान एचडी टेलिभिजनले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र एपी वान एचडी टेलिभिजनबीच बिहीबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र एपी वान एचडी टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरे । सम्झौताअनुसार एपी वानले प्रसारणसहित फुटबलको मार्केटिङ र प्रायोजनको अधिकारसमेत प्राप्त गरेको छ । त्यसका लागि एपी वानले एन्फालाई फुटबल खेलको विकास र विस्तार गर्न वार्षिक एक करोड ७५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

उक्त सम्झौता तीन वर्षका लागि भएको एपी वान एचडी टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । 'नेपाली फुटबलको प्रत्यक्ष प्रसारणसहित मार्केटिङ र स्पोनसरसिपको अधिकार हामीलाई प्राप्त भएको छ । एन्फासँगको यो सम्झौताले फुटबल खेलका लागि नयाँ कोसेढुंगा सावित हुनेछ । एपी वान एचडी टेलिभिजनले नेपाली दर्शकको इच्छालाई समेट्ने प्रयास गर्नेछ । हामी टेलिभिजनमार्फत खेलकुदप्रेमीलाई जोड्ने प्रयास गर्नेछौं', पौडेलले भने ।

उनले एन्फासँगको सम्झौतालाई अवसरको रूपमा लिँदै दर्शकलाई गुणस्तरसहितको फुटबलको स्वाद चखाउने प्रतिबद्धता पनि व्यक्त गरे । सम्झौताअनुसार एन्फाले 'ए' डिभिजन लिग सहित कम्तीमा वार्षिक ३० वटा राष्ट्रियस्तरको फुटबल खेल सञ्चालन गर्नुपर्नेछ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने अधिकारसमेत एपी वानलाई हुनेछ । तर अन्तर्राष्ट्रिय खेलको मार्केटिङको अधिकार भने फिफा र एफसीमै सीमित रहने बताइएको छ ।

यसैगरी एन्फाका अध्यक्ष श्रेष्ठले एपी वान एचडी टेलिभिजनसँगको सम्झौता नेपाली फुटबलका लागि नयाँ आयाम भएको बताए । 'एन्फाका लागि यो विन विनको क्षण हो । हामीले यसलाई सुखद दिनको रूपमा लिएका छौं । यो सम्झौतापछि नेपाली फुटबलले आगामी दिनमा थप गति लिने विश्वास पनि लिएका छौं', श्रेष्ठले भने । नेपालको एउटैमात्र दशरथ रंगशाला भूकम्पपछि लथालिंग अवस्थामा रहे पनि फुटबल खेललाई चलायमान बनाउने एन्फाको प्रयास जारी रहेको श्रेष्ठले बताए ।

'सन् २०१७ र सन् २०१८ नेपाली फुटबलका लागि निकै व्यस्त हुनेछ । हामी प्राविधिक कारणले रोकिएको 'ए' डिभिजन लिगको खेल तालिका छिट्टै तयार गर्दैछौं । आगामी दिनमा नेपालमा युवा, महिला र सिनियर स्तरका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितासमेत सञ्चालन हुँदैछन् । एन्फाले सशस्त्र प्रहरी बल (एपीएफ) सँगको सहकार्यमा हल्चोकस्थित एपीएफ मैदानमा फुटबलका गतिविधि सञ्चालन गर्नेछ', श्रेष्ठले भने ।

एन्फाले आयोजना गरेको प्रतियोगिता बाहेक मोफसलमा सञ्चालन हुने अन्य प्रतियोगिताका लागि सम्झौता बाध्यकारी नहुने पनि स्पष्ट पारिएको छ । सम्झौता कार्यक्रममा एपी वान एचडी टेलिभिजनका निर्देशक सन्देश गुरागाईं, एन्फाका प्रथम उपाध्यक्ष मणि कुँवर, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, महासचिव धीरेन्द्र प्रधानलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.