एक्सन कटमा नारी आकर्षण

एक्सन कटमा नारी आकर्षण

भनिन्छ, नारी 'प्रकृति' हो । प्रकृति सदासर्वदा सिर्जनशील हुन्छ । तर, हिन्दू संस्कृतिले नारीलाई उच्च सम्मान गर्‍यो तर घरबाहिर निस्कन दिएन । पितृसत्तात्मक समाजमा त झन् नारी दमित रूपमा रहँदै आए । हुनेखानेले नारीलाई काम गर्न दिएन भने नपुग्दो परिवारमा नारीले घरभित्रकै काममा जीवन बिताए । तर, पछिल्लो समय नेपाली नारीले अनेक क्षेत्रमा उच्च स्थान प्राप्त गर्दै गएका छन् । मुलुककै सर्वोच्च पद राष्ट्रपतिदेखि, न्यायालयको उच्च ओहोदामा नारी पुगेका छन् । सभामुखदेखि ठूला कर्पोरेट हाउसको नेतृत्व पनि नारीले नै गरिरहेको अवस्था छ ।

उद्योग, व्यापार, राजनीति, शिक्षा, पत्रकारिता, कृषिजस्तै नेपाली चलचित्र उद्योगमा पनि नारी निर्देशक थपिने क्रम यति बेला उत्साहजनक छ । नेपाली भाषामा २००८ सालमै चलचित्र 'सत्य हरिश्चन्द्र' प्रदर्शन भएको थियो । नेपालमै भने २०२२ सालमा चलचित्र 'आमा' बनेपछि देशभित्रै चलचित्र बन्ने परम्परा सुरु भयो । यो अवधिलाई हेर्ने हो भने चलचित्र निर्देशनमा महिलाको प्रवेश ढिलो भएको मान्न सकिएला ।

नेपाली चलचित्र निर्देशनको सुरुआत सुचित्रा श्रेष्ठले गरिन् । उनीसँगै हेलिकोप्टर पाइलट सबिना गुरुङ पनि चलचित्र निर्देशनमा प्रवेश गरेको देखिन्छ । सबिनाले चलचित्र 'रिसिम' निर्देशन गरेकी थिइन् । नेपाली भाषामा चलचित्र बनेको इतिहास हेर्ने हो भने नेपाली चलचित्र उद्योगले ६६ वर्ष पार गर्दा हाल १४÷१५ जना नारी निर्देशक पाएको छ । नेपालमै बनेको इतिहास हेर्ने हो भने ५२ वर्षको यात्रामा यो अवस्था आएको हो ।

चलचित्र निर्देशनमा नयाँ ऊर्जा लिएर यति बेला रेनासा राई देखा परेकी छन् । उनी चलचित्र 'इन्टु मिन्टु लन्डनमा'को निर्देशनको तयारीमा व्यस्त छिन् । '१० वर्ष कोरियोग्राफीको अनुभवले चलचित्र निर्देशनमा निखार दिन सक्छु' भन्ने उनको विश्वास छ । तर, उनलाई चिन्ता पनि छ । 'एउटा गीतको निर्देशन गरेजस्तो चलचित्र होइन भन्नेहरू पनि छन्', उनले भनिन्, 'उहाँहरूलाई मैले कामबाट प्रमाणित पनि गर्नु छ र आजसम्मको यात्रामा माया गर्ने, विश्वास गर्नेलाई कायम गर्नु पनि चुनौती छ ।'

चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा यसलाई सकारात्मक ठान्छिन् । 'सामाजिक, सांस्कृतिक रूपले बाँधिएको महिला जगत् अब बलियो रूपमा देखा परेको छ', अध्यक्ष सुचित्राले भनिन्, 'ढिलो गरी आए पनि आशलाग्दो रूपमा आएका छन् ।' धेरै ढिला आगमन भएकाले पुरुषजत्तिकै ह्वात्तै संख्या बढ्न भने अझै समय लाग्ने उनको आकलन छ । प्राकृतिक, पारिवारिक रूपले पनि महिलालाई पुरुषजस्तै फुत्त निस्केर काम गर्न भने कठिन भएको उनको बुझाइ छ ।

अनुभव र टिम राम्रो भए सिर्जनात्मक रूपमा महिला पनि कम नहुने निर्देशक दीपा श्री निरौलाको भनाइ छ । जुन कुरा उनीद्वारा निर्देशित चलचित्र 'छक्कापञ्जा'ले पनि प्रमाणित गरिसकेको छ । टिमका कारण निर्देशनका क्रममा आफ्नो इनर्जी लेबल जहिले पनि उच्च रहेको उनले सुनाइन् । तर, अझै पनि समाजमा 'जेन्डर' छुट्याउने मानसिकता पूरै नपखालिएको उनले अनुभव सुनाइन् । 'कतैकतै अझै पनि यो महिला हो, यसले के गर्न सक्ली र ! भन्ने सोच जीवितै छ', कलाकार तथा निर्देशक निरौलाले भनिन् । पुरुषप्रधान समाजमा जसरी राजनीति, शिक्षा, उद्योग, निर्देशन लगायतका क्षेत्रमा नारीको प्रवेश बढिरहेको छ, त्यो भने आशावादी कुरा भएको उनको भनाइ छ ।

महिला भएकै कारण अब कुनै पनि क्षेत्रमा मन खुम्च्याउनुपर्ने अवस्था नरहेको बताउँछिन् निर्देशक रक्षासिंह राना । 'द गेम' चलचित्र निर्देशन गरेकी उनले १६÷१७ वर्षदेखि चलचित्र 'कट पेस्ट' गर्दै आएकी छन् । उनले यति बेला 'एक्सन कट' गर्न थालेकी हुन् । उनी महिला र पुरुषमा सिर्जनशीलता उस्तै हुने बताउँछिन् । अनुभव, लगन र मेहनतले निर्देशनमा कुनै गाह्रो नहुने भए पनि पारिवारिक व्यवस्थापन तथा लामो समयको सुटिङले केही अप्ठ्यारो भने आइपर्ने उनको अनुभव छ ।

'कथा काठमाण्डु'की निर्देशक संगीता श्रेष्ठलाई चलचित्रको पोस्ट प्रोडक्सन गर्न भ्याइनभ्याइ छ । निर्देशक बन्न उनलाई म्युजिक भिडियो, टीभी कार्यक्रम, डकुमेन्ट्री र छोटा चलचित्र निर्माणको अनुभवले निकै सघायो । उनी रहरले भन्दा अनुभव लिएर यो क्षेत्रमा प्रवेश गरेकाले खासै समस्या नपरेको सुनाउँछिन् । 'सानो टिममा काम गरेको अनुभव थियो', उनले भनिन्, 'चलचित्रको टिम स्वभावैले ठूलो हुन्छ, त्यसको नेतृत्व गर्न केही बढी जिम्मेवार त हुनैपर्छ ।'

नारीलाई पुरुषजस्तो भनेकै समयमा निस्कन भने सहज नहुने उनी बताउँछिन् । बालबच्चा, परिवार, गृहस्थीको म्यानेज पुरुषभन्दा महिलाले बढी गर्नुपर्ने भएकाले पनि अलि समस्या हुने उनले बताइन् । 'तर, योजनाबद्ध काम गर्ने हो भने कामले पुरुष र महिला छुट्याउँदैन', उनले भनिन् । उल्लिखित पात्रबाहेक सम्झना उप्रेती रौनियार, रेखा थापा, झरना थापा, लक्षु गौतम, दीपा बस्नेतलगायत नारी निर्देशक नेपाली रजतपटमा उदीयमान र आशलाग्दा अनुहार हुन् । यसले नेपाली चलचित्रको स्वादमा नारी मनोविज्ञानलाई समेत 'इनरोल' गर्ने आशा नेपाली दर्शकले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.