यसरी जन्मियो तक्मे बूढो पात्र
'तक्मे बूढा'बाट चर्चा बटुलेपछि अभिनेता विल्सनविक्रम राईलाई आफ्नो जीवन 'के भयो के भयो ? ' जस्तो लाग्छ । नलागोस् पनि किन, कलाकार बन्ने सपना थाती राखेर जीवन सेटल गर्न मलेसिया भासिएको दुई महिनामै नेपाल फर्किएका थिए उनी, म नेपालकै लागि जन्मिएको हुँ भनेर । सँगै साथीहरूले नेपाल जान नउकासेका भए सायद उनको जीवन मलेसिया वा खाडीतिरै रल्लिरहेको हुन्थ्यो होला । तर आज उनी नामी हास्य कलाकार बनिसकेका छन् । उनको पाइला नेपालको सीमाभन्दा पर बलिउडसम्म पुगिसकेको छ । उनी फिल्मका निर्माता पनि बनिसकेका छन् । शुक्रबार उनी निर्मित 'रातो घर' रिलिज हुँदैछ । त्यसैको सेरोफेरोमा उनी यस्तो सुनिए ।
देशविदेशका स्टेज कार्यक्रममा भ्याइनभ्याइका बीच फिल्म निर्माणमा किन आउनुभयो ?
हो, चलिरहेकै थियो, चलिरहेकै छ । तर, आफूलाई दिएको र कमाएको चलचित्र क्षेत्रबाट लिनेमात्र हैन, दिन पनि पर्छ भनेर आएको हुँ । हामीले नै हाम्रो क्षेत्रमा लगानी गर्नुपर्छ, खालि बाहिरको मान्छेलाई मात्र लगानी गर भनिरहन हुँदैन भन्ने लागेर गरेको हुँ । फेरि यसले यसमा लगानी गर्न चाहने नयाँ मान्छेलाई पनि प्रेरणा मिल्छ ।
भनेपछि 'रातो घर'को निर्माणलाई 'तक्मे बूढाको'को नामबाट प्राप्त ख्यातिको प्रतिफल भनेर मान्दा हुन्छ ?
'तक्मे बूढा'को नाम र कमाइले नै आज म फिल्मको निर्मातासम्म बन्न पुगेकोमा मलाई कुनै शंका छैन ।
'तक्मे बूढा'ले टेलिभिजनको पर्दामा प्रवेश नपाउँदो हो त विल्सनविक्रम राई आज कहाँ हुन्थ्यो ?
अझै संघर्षको मैदानमै हुन्थ्यो होला । 'सायद' फिल्म हेरेकाले अरू केही अर्कै पनि गरिरहेको हुन सक्थ्यो । फिल्ममै मात्र हुन्थेँ होला ।
संघर्षका दिनमा कुनै दिन बेकार आइएछ भन्ने निराशाको अनुभव कहिल्यै भयो ?
एकचोटि थोरै भयो तर मेरोभन्दा पनि घरपरिवारको कारणले । परिवारमा जेठो छोरो भएको कारणले । सँगैका साथीहरू कोही ब्रिटिस लाहुरे त कोही केहीमा लागेर सेटल भइसकेको अवस्थामा मेरो उमेर गइसक्यो, अब के गर्ने भन्ने चिन्ताले त्यो भएको थियो । तँ पनि त्यसरी सेटल हुनुपर्नेमा किन यस्तो भन्ने प्रश्नहरू उठे । अनि म घरको कुरा राख्न भए पनि ऋण लिएर मलेसिया हानिएँ ।
गएँ पनि सायद म मलेसियाको लागि थिइनँ । दुई महिनापछि मेरो मनले मानेन । मनले नेपाल जा जा भनिरह्यो । त्यहाँ हलजस्तो करिब एक सय ५० जति साथीलाई म मेरो प्रस्तुति दिन्थेँ । उनीहरूले पनि तपाईं यहाँको लागि हैन, नेपालको लागि हो भनेपछि म फर्किएँ । दिदीसँग जाने पैसा लगेको थिएँ, दिदीलाई सक्दिनँ भनेपछि दिदीले नै आइज भन्दा मलाई के चाहियो र ? मलेसिया लैजानेले नेपाल गएपछि हाम्रो एजेन्टलाई केही नगर्ने भन्ने ल्याप्चे लगाएर छोडे ।
'तक्मे बूढा' कसरी जन्मियो ?
तक्मे बूढाचाहिँ हाम्रा बाजे हुन् । गाउँघरतिर देखिइराख्ने चरित्र हो, मेरो बाजे, आमा, मामाले बोल्ने लवज हो । 'आआँच'जस्ता लवज आइसकेका थिए । यो ठेट पूर्वेली लवज थियो । यही नै राम्रो भयो अनि राम्रो नै हाम्रो भइगयो । मैले केदार दाइ 'माग्ने बूढा'लाई चारवटा चरित्र देखाएको थिएँ, उहाँले यो मन पराउनुभयो । किन मन पराउनुभयो भन्ने कुरा युरोप जाँदा खुलाउनुभयो ।
उहाँले ल के छ भनेर देखाउँदा कतिले नक्कल देखाउँथे, तिमीले चारवटै आफ्नै र नयाँ देखायौ । तिम्रो यही कारणले म प्रभावित बनेको हुँ भन्नुहुँदा मेरो छाती गर्वले ठूलो भयो । 'मेरी बास्सै'मा उहाँले ठेट क्यारेक्टर हुन्छ, यही बजारमा चल्छ भनेर छान्नुभएको रहेछ । सिरियलमा तीनचार भागसम्म मेरो नाम नै थिएन, पछि उहाँले ल तिम्रो नाम तक्मे बूढो भनेर भन्नुभयो । त्यसपछि त के भयो भने मेरो बुवालाई समेत तक्मेको बाउ भनेर चिन्न थाले ।
बलिउड फिल्म 'भोरीबेलीका सुपर हिरो' कसरी आयो ?
खै कसरी आयो आयो, मलाई नै थाहा छैन । सुरुमा म त्यसलाई लिएर अचम्ममा परेको थिएँ । उतैबाट मेरो फ्यानपेजमा प्रस्ताव आएको थियो । म्यासेज पनि मैले एक महिनापछि मात्र देखेको थिएँ । उता गएपछि थाहा भयो, इन्डियन आइडलमा गिटार बजाउनेले नेपाल आएका बखत मेरो सो हेरेका रहेछन् । उनैले मेरो नाम सुझाएका रहेछन् । उनी को हुन् भनेर मैले आजसम्म पत्ता लगाउन सकेको छैन । मलाई लक गर्नुअघि मेरो अडिसन लिनुभएको थियो । तर, यो आउनुअघि नै म एक बलिउड फिल्ममा अनुबन्धित भने भइसकेको थिएँ, केही समयपछि त्यसको सुटिङ हुन्छ । योचाहिँ सुनिल थापा दाइले सिफारिस गर्नुभएको हो ।
'रातो घर' रिलिजको सँघारमा छ, दिमागमा के चलिरहेको छ ?
मलाई यो फिल्मबाट दाम चाहिएन, राम्रो नाम होस् । यही चाहना छ । पहिलो प्रयास हो, दर्शकले माया गर्नुहुन्छ भन्ने आशा बोकेको छु । एसएलसीको विद्यार्थीको रिजल्ट कुर्दाको अवस्था जे हुन्छ, त्यही अवस्था छ । अलिअलि डर लागिरहेको छ ।
'रातो घर'को झखमले चरित्र कसरी जन्मियो ?
गाउँघरतिर अलि खाइलाग्दो खसीबोकालाई 'झखमले' भनिन्छ , मान्छेलाई जिस्काउन पनि त्यही भनिन्छ । मेरो काकीको छोराको पेट नेम हो तर पर्दामा देखिने हर्कत भने मेरो आफ्नै व्यक्तिगत जीवनसँग धेरै मिल्छ ।