बलिउडमा जुजु आकर्षण
बलिउडका सफल निर्देशक कवीर खानले चलचित्र 'दंगल'पछि अर्को चलचित्र निर्देशन गरेका छन्, 'ट्युबलाइट' । सलमान खानको मुख्य भूमिका रहेको यस चलचित्रमा उनको अपोजिटमा कसलाई अभिनय गराउने भन्ने बलिउडमा निकै समय बहसको विषय बन्यो । कसैले दीपिका पादुकोणको नाम लिए त कसैले कटरिना कैफ । कुन अभिनेत्री लिने भन्ने विषय निर्माण पक्षले लामो समय गुपचुप राख्यो ।
एक्कासि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सलमान खान र चाइनिज अभिनेत्री जुजुको तस्बिर भाइरल बन्यो । त्यो तस्बिर भारतको लदाकमा लिइएको थियो । उक्त तस्बिर भाइरल बनेपछि थाहा भयो, चीन र भारतबीच युद्धको विषयवस्तु समेटिएको 'ट्युबलाइट'मार्फत चिनियाँ नायिका जुजु बलिउड डेब्यु गर्दैछिन् । त्यो पनि सलमान खानका साथमा ।
सिमा विवादमा चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । उत्तरपूर्वी भारत र दक्षिण चीन सिमा हिमालयन भूभागको विषयलाई लिएर त्यहाँ हिंसात्मक गतिविधि भएकाले राजनीतिक रूपमा पनि उथलपुथल भएको थियो । म्याकमाहोन लाइनका पूर्वी भागलाई चीनले दावी गरेको थियो । तीन हजार दुई सय पच्चीस किलोमिटरको हिमालयन भूभागमा भारतको हिमाली क्षेत्र 'लदाक'मा जोडिएको छ ।
यस भूभागमा चीनले सन् १९६२ को अक्टोबर २० मा आक्रमण गरेको थियो । चीन र भारतका सैनिकले चार हजार मिटरभन्दा माथि युद्ध गरेका थिए । अन्तत: नोभेम्बर २० मा चीनले युद्धविराम घोषणा गरेर शान्तिको विषय खोजेको थियो । चलचित्र 'ट्याब्लाइट' यही विषयमा आधारित छ ।
जुजुको बलिउड प्रवेशलाई महत्वका साथ हेरिएको छ । त्यसमा पनि सलमान खानका साथमा डेब्यु गर्ने अवसर पाएकाले बलिउडमा उनको चर्चा र खोजी ह्वात्तै बढेको छ । चलचित्र 'ट्युबलाइट'को प्रमोसनका लागि उनी भारतमा आइसकेकी छन् । उनको सौन्दर्यको प्रशंसा गर्नेको संख्या बलिउडमा दिनानु दिन बढ्दै छ । यो चलचित्र जुन २३ मा रिलिज हुँदैछ । अचम्म के छ भने उनी गणेश भगवान्को भक्त हुन् । हिन्दु धर्मको गणेश देवताको फ्यान भन्दै उनी आफ्नो साथमा संधै गणेशको सानो मूर्ति बोक्ने गर्छिन् ।
कथाअनुसार चिनिया अभिनेत्री जुजु चलचित्रमा अनुबन्धित गरिएको हो । 'इलेक्ट्रोनिक एन्ड इन्फर्मेसन इन्जिनियरिङ' विषयमा 'बेइजिङ बिजनेस युनिभर्सिटी'बाट डिग्री लिएकी ३२ वर्षीया जुजु चीनमा प्रसिद्ध सेलिब्रेटी मानिन्छिन् । चीनमा राष्ट्रियस्तरको गायन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि गायनमा पनि उनको भाग्य चम्कियो । त्यस्तै चाइनिज एमटीभीमा भीजे गरेर सन्सनी मच्चाइन् । दर्जनौंपटक आकर्षक फोटो सुट गराएर उनले थप चर्चा पाइन् । यसले उनको करिअरलाई निकै माथि उकास्यो। अमेरिकन टीभी सिरिज 'मार्को पोलो'मा पनि उनले काम गरेकी छन् ।
गायनमा स्थापीत भएपछि उनी चलचित्रमा प्रवेश गरेकी हुन् । सन् २०१० मा 'ह्वाट वुमन वान्ट'बाट अभिनय यात्रा आरम्भ गरेकी उनले 'सांघाई कलिङ', 'द म्यान विथ द आइरन फिस्ट', 'द ओल्ड सिन्डे«ला', 'लास्ट फ्लाइट'लगायतका एघारवटा अन्तर्राष्ट्रिय चलचित्रमा अभिनय गरीसकेकी छन् । सन् २०१२ र २०१३ मा विश्वका एकसय औं सुन्दर महिलामा परेकी उनी भ्यानिटी फेयरमा फिचर हुने पहिलो चिनिया नायिका पनि बनिन् । हलिउडकी नायिका मेरिल स्ट्रिपलाई आफ्नो आदर्श महिला मान्ने जुजु घोडा चढ्न मन पराउँछिन् । मिलिटरी परिवारमा हुर्किएकी उनका हजुरबुवा पिपल लिबरेसन आर्मीमा लागेका थिए ।
(एजेन्सीको सहयोगमा)