‘पाँच वर्षभित्र उत्कृष्ट बैंक'
पाँच वर्षमा जनता बैंकलाई उत्कृष्ट १० वाणिज्य बैंकको सूचीमा सूचीकृत गर्ने लक्ष्यसहित हामी मर्जरमा जाँदैछौं । जनता बैंकको बिजनेस ग्रोथ हेर्ने हो भने त्यति आश लाग्दो छैन । यति हुँदाहुँदै पनि हामी जनता बैंकसँग मर्जरमा जान लागेका हौं । मर्जरमा जाँदा अन्य प्राविधिक पक्ष अर्थात् सेयर स्वाप रेसियो मिले पनि कर्मचारी समायोजनका विषयमा कुरा नमिल्दा अन्तिम समयमा धेरै मर्जर भाडिएका छन् । ६ महिनासम्म दुई अर्ब चुक्ता पुँजीको बैंक हामी जानेबित्तिकै अर्ब नाफा गर्ने क्लबमा दर्ता हुन्छ । यसले ब्रान्च र बिजनेस विस्तार गर्न सहज गर्छ ।
मर्जरपछि हाम्रो माध्यमबाट जनता बैंक पनि साना तथा मध्यम इन्टरप्राइजेटसम्म पुग्न सक्नेछ । यसकारण ग्रामीण क्षेत्रमा कृषिलगायत एसएमई कर्जा प्रवाह हुन्छ । जनता बैंकसँग गाभिएपछि हाम्रा एक सय १२ वटा शाखा पुग्छन् । ती शाखा सहरोन्मुख गाउँमा बढी छन् । यसबाट जनता बैंकले बढी फाइदा लिन सक्छ । पाँच लाख जनता प्रत्यक्ष जनता बैंकसँग जोडिन्छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी पुग्न सफल हुनेछौं । वाणिज्य बैंक बनेपछि सीमित क्षेत्रमा खुम्चिएर बस्नु पर्दैन । बजार विस्तार हुँदै जान्छ ।
सिद्धार्थ र त्रिबेणी विकास बैंक जनता बैंकसँग गाभिएपछि जनता बैंकको चुक्ता पुँजी पनि आठ अर्ब पुग्छ । यस वर्षको नाफा र बोनस सेयरबाट निर्धारित पुँजी पुग्छ । हामीलाई स्वाप रेसियो वाणिज्य बैंक सरहको चाहिएको थियो । जनतासँगको मर्जर सम्झौताअनुसार जनता र सिद्धार्थका सेयरधनीको सेयर स्वाप रेसियो बराबार हुन्छ । विकास बैंकको सेयर होल्डरले वाणिज्य बैंकबराबरको सेयर पाउनु राम्रो हो ।
मर्जरपछि पनि शतप्रतिशत कर्मचारी समायोजन हुन्छन् । कसैले जागिर गुमाउनु पर्दैन । हामी जानेबित्तिकै जनता बैंकले हकप्रद सेयर निष्कासन गर्छ । दुई विकास बैंक गाभिएपछि जनता बलियो वाणिज्य बैंक बन्छ । लगानीकर्ताले हेर्ने भनेको बजारको सेयर मूल्य हो । सिद्धार्थ बैंकको प्रतिसेयर मूल्य दुई सय ५७ रुपैयाँमा बन्द भएको छ भने जनता बैंकको तीन सय १८ रुपैयाँ छ । मर्जरपछि बजारमा जाँदा सिद्धार्थको सेयर मूल्य पनि एक्कासी माथि जान्छ ।
हामी र त्रिबेणी विकास बैंक जनता बैंकसँग गाभिएपछि एकातिर हाम्रा सेयरधनीले आफ्नो जति नै सेयर पाउनेछन् भने अर्कोतर्फ कर्मचारी पनि शतप्रतिशत प्रमोसनसहित समायोजन हुनेछन् ।
वाणिज्य बैंकलाई कानुनी व्यवस्था राम्रो छ भने सिद्धार्थ र त्रिबेणीकोे ग्रामीण परिवेशमा राम्रो पकड छ । सिद्धार्थको मात्रै ३८ वटा शाखा छन् । शाखा भएका स्थानमा प्रतिस्पर्धा कम छ । कस्ट अफ फन्ड सहरी क्षेत्रको तुलनामा कम छ ।
सक्षम सिद्धार्थ विकास बैंक
सिद्धार्थमा व्यक्तिगत निक्षेपकर्ता (६७ प्रतिशत) धेरै छन् । सिद्धार्थ बैंकलाई चुक्ता पुँजी पुर्याउन कुनै चिन्ता छैन । राष्ट्र बैंकले चुक्ता पुँजी पुर्याउन दिएको समय सीमासम्म हाम्रो बैंकको पुँजी साढे दुई अर्बभन्दा माथि छ । सुरुको समय जति बेला राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्यायो, त्यति बेला अलि असहज थियो । अहिले नै बैंकको चुक्ता पुँजी दुई अर्ब ६० करोडभन्दा माथि छ । ६० प्रतिशत हकप्रद सेयर दिँदैछौं ।
अहिलेको अवस्थामा हामी मर्जरमा नगएको भए हामीले पाउने रिटर्न १४÷१५ प्रतिशत मात्रै हो । अर्को वर्ष धेरै कमाए पनि यो अवस्था रहँदैन । यो वर्ष सेयर होल्डरलाई कुनै नोक्सान छैन । सिद्धार्थ अहिले नै अर्बपतिको क्लबमा पुग्न लागिसकेको विकास बैंक हो ।
मर्जरपछि एक अर्ब २५ करोड कमाउन सकिन्छ भन्ने आँकलन छ । सिद्धार्थको दुई वर्षअघिको ग्रोथ हेर्ने हो लोभ लाग्दो छ । भोलि नहुन सक्छ । बाफियालगायत राष्ट्र बैंकको नीति तथा ऐन÷नियम हर्ने हो भने विकास बैंकलाई अझ च्यापेको देखिन्छ । यसले दायरालाई खुम्च्याउँछ । त्यसैले दीर्घकालसम्म लगानीकर्तालाई राम्रो र उच्च प्रतिफल दिन वाणिज्य बैंकसँग मर्जरमा गएका हौं । विकास बैंकको सेयर होल्डरले वाणिज्य बैंकको सेयर पाउने भएपछि लगानीकर्ता अझ उत्साहित हुनेछन् ।
कर्मचारीलाई क्षमताअनुसारको पद
हामीले हाम्रा कर्मचारीलाई प्राथमिकितामा राख्यौं । जनता बैंकसँग हाम्रो सहमति कर्मचारीलाई क्षमताअनुसारको पद दिने भएको छ । कर्मचारीको क्षमता परीक्षण गरौं पास गर्छन्, समान पद, राम्रो गर्नेलाई प्रमोसन र फेल हुनेलाई घटुवा गर्ने गरी कर्मचारीको समायोजन गर्न लागेका छौं । धेरै राम्रो गर्नेलाई दुई तह बढुवा गर्ने सहमति भएको छ । सिद्धार्थमा हाल तीन सय पाँच जना कर्मचारी छन् ।
कार्यक्षेत्र विकास बैंकको मुख्य समस्या
अहिले विकास बैंकको मुख्य समस्या कार्यक्षेत्रमा देखिएको छ । ग्यारेन्टीकै कुरा गर्दा पनि सरकारी निकायले डिपोजिट हामीलाई नदिने, वाणिज्य बैंकलाईमात्र दिने, तर प्रतिस्पर्धा भने वाणिज्य बैंकसँग गर्नुपर्ने बाध्यता छ । पुँजी हिजोको वाणिज्य बैंकभन्दा बढी राख्नु तर दायरा साह्रै संकुचित छ । साँच्चै सरकारले विकास बैंकलाई राम्रोसँग फस्टाउन दिने हो भने दायरा फराकिलो पारिदिनुपर्छ ।
नेपालको अर्थतन्त्रलाई आधार मान्दा १०/१२ वटा वाणिज्य बैंक भए पुग्छ ।
राम्रो गर्नेलाई प्रमोसन र फेल हुनेलाई घटुवा गर्ने गरी कर्मचारीको समायोजन गर्न लागेका छौं ।
मर्जरपछि बजारमा जाँदा सिद्धार्थको सेयर मूल्य पनि एक्कासी माथि जान्छ ।
अहिले विकास बैंकको भन्दा वाणिज्य बैंकको ब्याज बढी छ । वाणिज्य बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव भए पनि यसको प्रभाव विकास बैंकमा पछिमात्र देखा पर्यो ।
पुँजी बढ्नुपर्ने मेरो धारणा
पुँजी बढ्नुपर्छ भन्नेमा म पहिलदेखि नै स्पष्ट थिए र बढ्यो पनि । दुई वर्षको समय पर्याप्त हो कि होइन भन्ने कौतुहलता थियो । पहिला गाह्रो भए पनि अहिले सबै बैंकले विभिन्न योजनामार्फत पुँजी पुर्याउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था घटाउने योजनासहित पुँजी वृद्धि योजना ल्याएको हो । नेपालको अर्थतन्त्रअनुसार हाल भएका बैंक तथा वित्तीय संस्था बढी हो । तर, यो पुँजी वृद्धि योजना अन्तिम भने होइन, फेरि चाडै नै नयाँ पुँजी वृद्धि योनजा राष्ट्र बैंकले ल्याउँछ ।
बैंक तथा वित्तीय संस्था जति बलियो हुन्छन् त्यति वित्तीय स्थायित्व हुन्छ भने जति संख्या घट्छ उति नियमनकारी निकायलाई नियमन गर्न सजिलो हुन्छ । नेपालको अर्थतन्त्रलाई आधार मान्दा १०÷१२ वटा वाणिज्य बैंक भए पुग्छ । काठमाडौंमा बैंकको उपस्थिति र पहुँच बढी छ भने पुग्नु पर्ने ठाउँमा बैंकिङ सेवा पुग्न सकेको छैन ।
ग्रामीण क्षेत्रमा बैंक पुग्न पूर्वाधार पूर्वशर्त
बैंक पुग्नलाई केही पूर्वाधार तय हुनुपर्छ । बाटो, इन्टरनेट बैंकका लागि नभई नहुने पूर्वशर्त हुन् । शान्ति सुरक्षा हुनपर्यो । सुरक्षा नभएको स्थानमा बैंक जान सक्दैन । त्यसैले यी तीन पूर्वाधार तयार नभएको स्थानमा बैंक जान सम्भव हुँदैन । राज्यले सबैभन्दा पहिला बैंकको लागि आवश्यक पूर्वाधार तयार पारिदिनुपर्छ । त्यसपछि बैंक आफैं विस्तार हुन्छन् ।
ऐननियमको कार्यान्वयन पाटो कमजोर छ । ट्याक्स सिस्टममा पनि समस्या छ । आयकरमा व्यक्तिगत ३५ प्रतिशत छ भने कर्पोरेट ट्याक्स ३० प्रतिशतमात्रै छ । मदिरामा २५ प्रतिशत ट्याक्स लगाइन्छ भने बैंकले ३० प्रतिशत ट्याक्स तिर्नुपर्छ । यसले गर्दा कताकता तालमेल नमिलेको जस्तो देखिन्छ । यसलाई समायोजन तथा तालमेल मिलाउनेतर्फ नियमनकारी निकाय लाग्नुपर्छ ।
मेनुका कार्कीसँगको कुराकानीमा आधारित