फिट एन्ड फाइन आमा
सन्तान जन्माएपछि महिलाको शारीरिक बनावट बिग्रने र सुन्दरता घट्ने मान्यता धेरैको छ । आमा हुनु प्रकृतिको सुन्दर प्रक्रिया हो । आमा हुने चाहना सबै नारीमा भए पनि सन्तान जन्माएपछि सुन्दरता गुम्ने डर पनि हुन्छ । सन्तान जन्माएपछि मोटोपन बढ्नुको साथै अनुहारको चमक हराउने डर धेरैमा हुन्छ । तर केही आमाहरूले सन्तान जन्माएपछि पनि उत्तिकै सुन्दर हुन सकिन्छ भनी प्रमाणित गरेका छन् ।
गायिका रेखा शाहको छोरा ११ कक्षामा पढ्छन् । उनी भने छोराको साथी जस्तो देखिन्छिन् । म्युजिक भिडियोमा मोडलिङसमेत गरिरहेकी रेखाको सुन्दरताको चर्चा उनका साथीहरूमाझ मात्र होइन प्रशंसकहरूबीच पनि हुन्छ । शारीरिक सुगठन उनले जिनमै लिएर आएकी हुन् रे । सुन्दरताको राज चाहिँ स्वस्थ जीवनशैली नै हो । चिल्लो, गुलियो एकदम कम खाने रेखाको दैनिकी एक गिलास मनतातो पानीबाट सुरु हुन्छ । कालो चिया, एकदाना ओखर, चारदाना आलमण्ड बिहानको खुराक ।
सरिता लामिछाने
दिउँसो १ बजेतिर मात्र खाना खान्छिन्, त्यो पनि भात पाँच चम्चामात्र । सागसब्जी बढी खान्छिन् । उनको भान्छामा साग कहिल्यै टुट्दैन । दिउँसो जुस, फलफूल खान्छिन् । बेलुकीको खानामा दुई रोटी, एक ग्लास दूध र तरकारी पर्छ । कलाकारलाई सधैं आफैंले भनेजस्तो त कहाँ मिल्थ्यो र १ कहिलेकाहीँ बाहिर खाना खानुपर्छ । त्यतिबेला पनि उनी सकेसम्म हलुका खाना रोज्छिन् । मासुभन्दा माछा खान मन पराउँछिन् । हाइजिनमा निकै ध्यान दिने रेखा खाना आफैं बनाउँछिन् ।
यही दैनिकी उनको शारीरिक सुगठनको सूत्र हो । मानिस स्वच्छ र सुन्दर हुन शरीरले मात्र हुँदैन सकारात्मक सोच सबैभन्दा महत्वपूर्ण हो । भन्छिन्, 'ज्ञान, आत्मविश्वास र सकारात्मक ऊर्जाले नै अनुहारमा चमक ल्याउँछ, ईश्र्याले मानिसको सुन्दरता घटाउँछ ।' सन्तान जन्माएपछि शरीरमा हार्मोन परिवर्तन हुन्छ । यसले सोचमा पनि परिवर्तन ल्याउँछ । त्यसलाई सन्तुलन गर्न गाह्रो हुन्छ । कसैले बढी मेहनत गर्नुपर्ने हुन्छ । त्यसलाई आफूले व्यवस्थापन गर्ने हो ।
रेखाले अपरेसन गरेर सन्तान जन्माएकी हुन् । यस्तोमा प्राय: पेट बढ्ने समस्या हुन्छ । रेखालाई भने त्यस्तो समस्या भएन । उनले अहिलेसम्म शारीरिक व्यायाम गर्नु परेको छैन । उमेर ढल्किँदै गएपछि स्वस्थ रहन उनले व्यायामको खाँचो महसुस गरेकी छन् । छोराको अनुरोधमा भर्खरै फिटनेस क्लबमा भर्ना भएकी छन् । सुहाउँदो पहिरन र मेकअपले व्यक्तित्वलाई निखार्छ । रेखा समयअनुसारको मेकअप र ड्रेसअपमा ध्यान दिन्छिन्।
रेखा शाह
टेलिचलचित्रमा सुन्दर नारीको भूमिकाबाट सबैको मन जितेकी अभिनेत्री सरिता लामिछाने वास्तविक जीवनमा उस्तै सुन्दर छिन् । उनको जीवनशैली
अनुशासित छ । कहिलेकाहीँ धेरै रातिसम्म सुटिङ भएर सुत्न ढिला भयो भने बिहानको योग छुट्छ । नभए सधैं योग प्राणायमबाट उनको दैनिकी सुरु हुन्छ । सन्तुलित भोजन गर्छिन् । अति नै मन पर्ने कुरा अगाडि आए पनि मन थाम्ने उनको बानी छ । तारेको खाना घरमा पाक्दैन । कुनै समयमा भेटघाट खानपान खुब चल्थ्यो । अहिले भने कसैले खान कर नगरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
अरूलाई पनि खान कर गर्दिनन् । 'खाना आफ्नो इच्छाले खाने हो । कहिलेकाहीँ आफन्तकहाँ जाँदा खान्न भन्न मिल्दैन', उनले भनिन्, 'प्रेमले दिएको खानालाई कसरी नकार्नु रु त्यतिबेला खाए पनि पछि ब्यालेन्स गरिहाल्छिन् ।' रक्तचाप कम भएकाले उनी झोलामा इलेक्ट्रोबियोन बोकेरै हिँड्छिन् । पानी धेरै पिउँछिन् । घरको काम आफैं गर्छिन् । भन्छिन्, 'त्यसैले पनि मोटाएको महसुस हुँदैन ।'
सुन्दरताकै लागि भनेर खासै ध्यान दिने बानी उनको छैन । ब्युटिपार्लर कमै जान्छिन् । सोच सबैभन्दा महत्वपूर्ण लाग्छ उनलाई । मानिस सबै कोणबाट खुसी हुन सक्दैन । केही न केही अपूर्ण हुन्छ । पूर्णता पाउन तनाव लिनु हुँदैन । तनावबाट टाढा रहन उनी संगीत सुन्छिन् । घरमा होस् या बाटोमा संगीत उनको साथी हो । बाटोमा जाममा पर्दा ठूलो आवाजमा गीत बजाएर बस्छिन् ।
उनलाई संगीत सुन्न कुनै विशेष मुड चाहिँदैन । जतिबेला पनि सुनिदिन्छिन् । आफूले दिने अभिव्यक्ति, समाजमा प्रस्तुत हुने तरिकाले नै सुन्दरता निर्धारण गर्छ भन्ने उनको मान्यता छ । बेलाबेलामा आ श्रम जान्छिन् । वृद्धवृद्धा, बालबालिकासँग समय बिताउँछिन् । त्यसले मनलाई शान्ति मिल्छ । मनको शान्तिले अनुहारमा कान्ति आउने उनी बताउँछिन् । 'बाहिरी सुन्दरतामा जति ध्यान दिए पनि भित्री सुन्दरता छैन भने त्यसले कुनै अर्थ राख्नैन', उनी भन्छिन् ।
मिसेस नेपाल ग्लोब २०१६ सविता पाण्डेलाई सबैले 'सन्तान जन्माएपछि पनि उत्तिकै सुन्दर' भन्ने गर्छन् । यही सुनेर उनी फिट र फाइन छन् । फिट फाइन रहन विशेष केही गरेकी छैनन् । घरको सबै काम आफैं गर्छिन् । व्यवसाय धानेकी छन् । बच्चाको जिम्मेवारी पूरा गर्दागर्दै उनको शरीर मोटाउन पाएको छैन । उमेर २८ वर्षमात्र भयो । यही उमेरका अरू महिला सन्तान जन्माएपछि मोटोपनको सिकार भएका छन् । उनी आफ्नो फिटनेसलाई भगवान्कै आशीर्वाद ठान्छिन् । खानामा पनि केही नियन्त्रण छैन । भन्छिन्, 'अहिलेसम्म त यत्तिकै चलेको छ, पछि कस्तो हुने हो थाहा छैन ।' अरूले फिट भनिदिएको सुनेर खुसी हुन्छिन् । भन्छिन्, 'खुसी मेनटेन गरियो भने आफैं राम्रो भइन्छ ।'
यी आमाहरूका अनुसार सन्तान जन्माउँदैमा सुन्दरता बिग्रिँदैन । इच्छाशक्ति भए आफूलाई सधैं फिट एन्ड फाइन राख्न सकिन्छ । अभिनेत्रीहरू करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, मेलिना मानन्धर, शुभेच्छा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बा यसका उदाहरण हुन् ।