तराई-मधेस आन्दोलनका घटना छानबिन : बल्ल १३ जिल्लाको अनुगमन

तराई-मधेस आन्दोलनका घटना छानबिन : बल्ल १३ जिल्लाको अनुगमन

काठमाडौं :  तराई-मधेस, थरुहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या-हिंसा र तोडफोडलगायत गतिविधिको सत्यतथ्य छानबिन गर्न गठित उच्चस्तरीय जाँजबुझ आयोगले समयसीमाभित्रै काम सम्पन्न गर्न नसक्ने भएको छ ।

आयोगले एक वर्ष समय थप्न माग गरे पनि ०७३ चैतमा सरकारले जम्मा तीन महिना समय थपेको थियो । थपिएको समय सीमाअनुसार आयोगको समय आगामी असार मसान्तसम्म छ । ‘हामीले उजुरी केलाउने काम गरिरहेका छौं । धेरै उजुरी आइरहेकाले अझ नौ महिना अवधिमा सम्पूर्ण तथ्य जम्मा पारी दोषीउपर कारबाही सिफारिससहितको प्रतिवेदन दिन सक्छौं’, आयोग अध्यक्ष गिरीशचन्द्र लालले अन्नपूर्णसँग भन्नुभयो ।

०७३ साल असोज २ मा गठित आयोगले कात्तिकदेखि काम सुरु गरेको हो । उच्चस्तरीय आयोगलाई २०७२ साउनदेखि २०७३ असोजसम्म तराई र थरुहट क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्याहिंसाको छानबिन गर्ने अधिकार दिइएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश लाल अध्यक्ष रहेको आयोगमा सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, खुसीप्रसाद थारू र बालकृष्ण पन्थी सदस्य हुनुहुन्छ ।

धेरै उजुरी आइरहेको, घटना भएका जिल्लामा आन्दोलन र निर्वाचनका कारण काम गर्न समस्या भएको, समयमा सरकारले स्रोत तथा साधन उपलब्ध नगराएकाले काममा ढिलाइ भएको अध्यक्ष लालले बताउनुभयो । प्रमाण संकलन गर्ने प्रक्रिया नै लामो भएकाले काम ढिलो भएको आयोगका सदस्यहरूको भनाइ छ । आयोगमा अहिले १४ सयजति उजुरी संकलन गरेर सत्यतथ्य केलाउने काम भइरहेको छ । आयोगले तराई र थरुहट क्षेत्रका १३ जिल्लामा पुगी पीडित परिवार तथा घाइतेसँग भेटेर प्रमाण संकलन गरिसकेको छ ।


प्रमाण संकलन गर्ने प्रक्रिया नै लामो भएकाले काम ढिलो भएको आयोगका सदस्यहरूको स्पष्टोक्ति ।

कपिलवस्तु, रूपन्देही, सिरहा र सप्तरी जिल्लामा स्थलगत अध्ययन गर्न अझै बाँकी नै छ । स्थलगत अध्ययन गरी तथ्य संकलन गरिएका जिल्लामा सरकार र आन्दोलरत पक्ष दुवै उत्तिकै दोषी पाइएको आयोगको भनाइ छ । सुरक्षाकर्मीबाट जथाभावी गोली चलाएको पाइएको आयोगले जनाएको छ । आन्दोलनका क्रममा मानवअधिकार उल्लंघन भए÷नभएको छानबिन गर्न राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन मगाएर आयोगले अहिले अध्ययन गरिरहेको छ । आन्दोलनकारीबाट लुटपाट, चोरी र उच्छृंखल गतिविधि पनि भएको आयोगले जनाएको छ ।

अदालतमा मुद्दा चलाएका घटनाको भने आयोगले छानबिन गरेको छैन । काम गर्दा राजनीतिक दबाब नआएको र दोषी जोसुकैलाई पनि कारबाही सिफारिस गर्ने आयोगको भनाइ छ । घटनामा घाइते भएकालाई आयोगले क्षतिपूर्तिको सिफारिससमेत गर्नेछ । सरकारले टीकापुर घटनामा संलग्न रहेका व्यक्तिका मुद्दा फिर्ता लिने निर्णय गरे पनि ती घटनालाई आयोगले छानबिन गरिरहेको अध्यक्ष लालले बताउनुभयो ।

१८ जिल्लामा भएको घटनाको छानबिन गर्न गठित आयोगले १३ जिल्लाको अनुगमन सकेको छ । तराई आन्दोलनमा सुरक्षाकर्मीसहित ५२ जनाको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता तथा आयोग सदस्य बालकृष्ण पन्थीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.