हेलिकोप्टर कुर्दाकुर्दै शिशुको ज्यान गयो
गोरखा : सरकार चुस्त स्वास्थ्य सेवा र सुधारको कुरा गरिरहेको छ तर दुर्गमका बासिन्दा सामान्य ब्यथाको पनि उपचार नपाएर मरिरहेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँमा उपचार नपाएर एक शिशुले जीवन गुमाएकी छन् । गाउँमै उपचार नपाएकी दुई महिने शिशु छेवाङ रिन्जिङलाई राजधानी लैजान हेलिकोप्टर कुर्दाकुर्दै बिहीबार निधन भएको वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिनुभयो ।
रिन्जिङ तीन दिनदेखि ज्वारोले सिकिस्त थिइन् । गाउँको स्वास्थ्यचौकीमा सीएमए र अनमि मात्र थिए । त्यहाँको औषधिले कुनै प्रभाव नपारेको लामाले बताउनुभयो । ‘तीन दिनदेखि इन्तु न चिन्तु थिइन्', उहाँले भन्नुभयो, ‘हेल्थपोस्टको औषधिले छुँदै छोएन । अनि मैले काठमाडौंबाट हेलिकोप्टर बोलाएँ । तर हेलिकोप्टर नपाएर बच्चा मर्यो ।' काखमै छोरीको मृत्यु भएपछि बुबा नोर्बु र आमा धावा ल्हामोको रुवाबासी छ ।
तिब्बतको सीमानामा रहेको सामागाउँ गोरखा सदरमुकामबाट सात दिनको पैदल यात्रापछि पुगिने ठाउँ हो । यहाँ स्तरीय स्वास्थ्य सेवाको अभाव छ । नजिक उपचार गराउन लैजाने ठाउँ पनि छैन । सडकसम्म पुग्न यहाँबाट सात दिन हिँड्नुपर्छ ।
यस भेगका बिरामीलाई उपचार गर्न हेलिकोप्टर चार्टर गरेर राजधानी पुर्याउनुको विकल्प छैन । छेवाङको उपचारका लागि पनि दुई लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टर बोलाइएको थियो । ‘हेली पहिलो दिन आएन । दोस्रो दिन आउन त आयो तर पानी पर्ने, हिउँ पर्ने भइरहेको थियो । मौसम सफा नभएर स्यालासम्म आएर फर्कियो', वडा अध्यक्ष लामाले भन्नुभयो, ‘तेस्रो दिन त बच्चा नै गयो । बाबुआमा रोइरहेका छन् ।'
हिमालपारिका यी गाउँमा यस्तो घटना भइरहने अर्का स्थानीय कर्मा छेवाङ बताउँनुहुन्छ । ‘यस्तो घटना वर्षमा दुईचारवटा भइरहन्छन्', उहाँले भन्नुभयो, ‘हेलिकोप्टर पाए बाँच्यो, पाएन भने मर्यो ।' गाउँमा हेलिकोप्टर चार्टर गर्न पनि महँगो छ । ‘अघिल्लो वर्षसम्म एक लाख असी हजार तिर्नुपथ्र्यो । यो वर्षदेखि त दुई लाख भन्न थालेका छन्', उहाँ भन्नुहुन्छ, ‘उपचार खर्च त कहाँ हो कहाँ, भाडा मात्रै दुई लाख चाहिन्छ । निकाल्न सक्ने बाँच्छन् ।
२ लाख एकपटक हेलिकोप्टर प्रयोग गर्दा तिर्नुपर्छ ।
नसक्ने घरमै काल पर्खिनुपर्र्छ ।' गाउँमा सँधै स्वास्थ्यकर्मी पनि बस्दैनन् । समयमै औषधि पनि पुग्दैन । ‘धेरैजसो त डाक्टर हुँदैनन्', उहाँ भन्नुहुन्छ, ‘डाक्टर भए पनि औषधि हुँदैन । औषधि भए पनि मिति सकिएको हुन्छ । जति खाए पनि बिरामी २० को १९ हुँदैन ।' गाउँमै उपचार नपाउँदा जडिबुटी बेचेर कमाएको पैसाले हेलिकोप्टर चार्टर गर्नेहरू बाँच्ने नसक्नेहरू अकालमै मर्नुपर्ने हुन्छ ।
उपचारको अभावमा अधिकांश बिरामी लामा र धामीको भरमा हुन्छन् । बिरामी भएपछि फलाम तताएर ज्यानमा डामेर र उनेर उपचार गर्न बाध्य हुने अर्का स्थानीय वीरबल घलेको भनाइ छ । ‘कतिपय बिरामी त पैसा भएर पनि हेलिकोप्टर आउँदा आउँदै मर्ने गर्छन्', घले भन्नुहुन्छ, ‘सबै ठाउँमा टेलिफोनको व्यवस्था पनि छैन । हेलिकोप्टर बोलाउन टेलिफोन सेवा भएको ठाउँमा जाँदाजाँदै पनि बिरामी मरेको रेकर्ड छ ।'