चितवनमा माओवादीले माग्यो एमालेबाट सुरक्षा
चितवन : नेकपा माओवादी केन्द्र चितवनले भरतपुर महानगरपालिकाको निर्वाचन र त्यस क्रममा देखिएका विवादको विषयलाई लिएर एमालेले आफ्ना नेता कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ ।माओवादीले आफ्ना नेता कार्यकर्ताको जिउ ज्यानको सुरक्षा गरिदिन जिल्ला प्रशासन कार्यलय चितवनलाई आग्रह गरेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्ला प्रशासन कार्यलय चितवनमा दिनुभएको उजुरीमा सुरक्षाको माग गर्नुभएको हो ।उजुरीमा भरतपुर महानगरको निर्वाचनको विषयलाई प्रतिशोध बनाई एमाले निकट युवा संघ र अनेरास्ववियुका जिल्ला तथा केन्द्रका नेताले आफ्ना नेता कार्यकर्तामाथि निरन्तर ज्यान मार्नेसम्मको धम्की दिइरहेको भनी उल्लेख गरिएको छ ।
माओवादी केन्द्रका द्रोणबाबु सिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अन्जन कुमार तिमल्सिना, साजन अधिकारी, सुरज सिहं ठकुरी, उत्तम गुरङ, दिलीप पौडेल, बसन्त आचार्य लगायतका कार्यकर्ता र जिल्लामा रहेका अन्य नेतालाई समेत एमाले सम्बद्ध व्यक्तिले निरन्तर रुपमा धम्की दिएको आरोप माओवादीले लगाएको छ ।
माओवादीले धम्कीका कारण आफ्ना कार्यकर्ताको दैनिक जीवन यापनमा असर पर्नुका साथै जिउ ज्यानको जोखिम भएकाले धम्की दिन विरुद्ध कारवाही गरी आफूहरुको सुरक्षा गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।