रेलमार्गमा चार अर्ब : एक वर्षभित्र ३० किलोमिटर तयार हुने

रेलमार्गमा चार अर्ब : एक वर्षभित्र ३० किलोमिटर तयार हुने

 काठमाडौं : सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेट वक्तव्यमार्फत रेलमार्ग निर्माणका लागि चार अर्ब रुपैयाँ विनियोजन गरेको छ । पूर्वी खण्डको ३० किलोमिटर रेलमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताइएको छ । रेल विभागका अनुसार आगामी वर्षको लागि विनियोजन भएको रकमबाट पहिलो प्राथमिकताका रूपमा महोत्तरीको बर्दिवासदेखि पश्चिम खण्डको ३० किलोमिटर रेलमार्ग निर्माण सम्पन्न हुनेछ ।

विभागका सूचना अधिकारी प्रकाश उपाध्यायका अनुसार बर्दिवासबाट लालगढसम्म सिभिल इन्जिनियरिङको काम भइरहेको छ । यो मार्ग पूरा गर्नु नै आगामी बजेटको प्रमुख उद्देश्य भएको उपाध्यायले बताउनुभयो । उहाँका अनुसार रेलमार्गमा माटो भर्ने, पुलपुलेसा बनाउने तथा रेलमार्गको लागि बाटो बनाउने काम भइरहेको छ । रेलमार्ग बाटो बनाएजस्तो एकै लेबलबाट नहुने भएकाले फरकफरक तहबाट काम भइरहेको छ । यो काम सकिएपछि स्लिपर तथा रेलको लिक बिछ्याउने काममात्रै बाँकी हुनेछ ।

यो मार्ग पूरा भएपछि राष्ट्रिय गौरबका आयोजनाको सूचीमा रहेको पूर्वपश्चिम रेलमार्गको एउटा खण्ड तयार हुनेछ । उपाध्यायका अनुसार रेल विभागले आगामी आवको लागि १० अर्ब रुपैयाँ माग गरेको भए पनि चार अर्ब रुपैयाँ मात्रै छुट्टाइएको छ । यो बजेटबाट निजगढसम्मको ठेक्का निकाल्ने, सुरु भएको योजनालाई पूरा गर्ने र पूर्व खण्डको दुई र पश्चिमतर्फको चारवटा खण्डको डीपीआर तयार गर्ने विभागले बताएको छ ।

रेल विभागका अनुसार पूर्व खण्डको बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्म डीपीआरको काम आगामी आवमा पूरा हुनेछ । पश्चिम खण्डको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड- गड्डाचौकीसम्मको डीपीआर बनाउने काम पनि आगामी आर्थिक वर्ष पूरा हुने विभागको दाबी छ । ‘त्यसपछिको काम निर्माण चरणमै जाने हो,’ उपाध्यायले भन्नुभयो ।

रेल विभागले पूर्वपश्चिम रेलमार्गको काम विभिन्न सीमानाबाट भारतसँग जोडेर अगाडि बढाइरहेको छ । यसअन्तर्गत सम्भाव्यता अध्ययन पूरा भएको १३६ किलोमिटरको बर्दिवास-सिमरा-वीरगन्ज खण्ड छ । यो खण्डमा भारतको रक्सौल हुँदै वीरगन्जबाट सिमरासम्म भारतीय रेल आउने उल्लेख छ । भारतले रक्सौलबाट पाँच किलोमिटर रेलमार्ग बनाएको छ । यो मार्गले पनि नेपाली भूमि छोइसकेको छ । भारतीय पक्षबाट वीरगन्जतर्फको आठ सय मिटर लामो रेलमार्ग निर्माण भइसकेको छ ।

भारतले जयनगरबाट जनकपुर हुँदै बर्दिवास जोड्ने रेलमार्गसमेत बनाइरहेको छ । यो रेलमार्ग ६९ किलोमिटरको छ । यो मार्ग पनि पूर्वपश्चिम रेलमार्गमै आएर जोडिन्छ । जोगबनीबाट विरानगर हुँदै आउने रेल पनि इटहरीमा आएर जोडिन्छ । यो मार्ग पनि भारत सरकारले बनाउँदैछ । बुटवलबाट पश्चिम गड्डाचौकीसम्म डीपीआर तयार गर्न विभागले परामर्शदाता नियुक्त गर्ने तयारीमा छ ।

बर्दिवास-लालगढ खण्डमा पुलपुलेसाको काम सकिएपछि स्लिपर तथा रेलको लिक बिछ्याउने काममात्रै बाँकी हुनेछ ।

काठमाडौं-वीरगन्ज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनको लागि परामर्शदाता छनोटको काम अन्तिम चरणमा पुगेको छ । त्यसका लागि विभिन्न १५ वटा परामर्शदाताले आवेदन दिएका थिए । ती मध्येबाट ६ वटा कम्पनी छनोट गरिनेछ । त्यसमध्येबाट छानिएको उत्कृष्ट कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मा दिने विभागले जानकारी दिएको छ ।

अहिलेसम्मको प्रगति न्युन

रेल विभागका अनुसार अहिलेसम्म भएको प्रगति न्युन छ । आवश्यक जनशक्ति र बजेटको अभावले रेलमार्गमा प्रगति हुन नसकेको हो । अहिलेसम्म भएको समान्य कामलाई नै विभागले प्रगतिको रूपमा व्याख्या गर्ने गरेको छ । चालू आर्थिक वर्षमा निजगढ-हेटौंडा-भरतपुर रेलमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । पूर्वपश्चिम रेलमार्गको बर्दिवास काकरभिट्टा खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने काम पनि आधाजसो सकिएको छ ।

पूर्वपश्चिम रेलमार्गको बुटवल-गड्डाचौकी खण्डको डीपीआर तयार गर्ने कामको लागि सम्झौता भइसकेको छ । काठमाडौं-वीरगन्ज लिंक रेलमार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाताको संक्षिप्त सूची तयार हुने क्रममा छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर-जनकपुर-बर्दिवास रेलमार्गको जयनगर-जनकपुर खण्डमा ट्रयाक बेड निर्माण अन्तिम चरणमा पुगेको तथा स्लिपर, ब्लास्ट र अन्य निर्माण सामग्री आयात भएको छ ।

जयनगर-जनकपुर-बर्दिवास रेलमार्गको बिजुलपुरा-बर्दिवास खण्डमा जग्गा अधिग्रहणको सूचना प्रकाशित भइसकेको छ । पूर्वपश्चिम रेलमार्गको बर्दिवास खण्डअन्तर्गत बर्दिवास-लालबन्दी उपखण्डमा २० किमि ट्रयाक बेड निर्माण भएको छ । काठमाडौं-केरुङ रेलमार्गको अध्ययन तथा निर्माणको लागि सरकारीस्तरबाट चीनसँग अनुरोध गरिएको भौतिक पूर्वाधार तया निर्माण मन्त्रालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.