आदिम मन्त्रजस्तो शैली

आदिम मन्त्रजस्तो शैली

बजारमा केही पसल छन्, केही झुन्ड छन् । तिनलाई केही स्कुल भनिदिँदा हुन्छ । धेरैजस्तो कवि तिनै स्कुलबाट बन्छन्, धेरैजस्तो कविता तिनै स्कुलबाट आउँछन् । स्कुलमा शिक्षकले पढाएको नै तिनलाई सबथोक लाग्छ, त्यतै सुनेको नै कविता लाग्छ । ती केटाकेटी कवि उही स्कुलमा बसेर कविता लेख्छन्, आ-आफ्ना शिक्षकलाई देखाउँछन् । शिक्षकले लगेर पत्रपत्रिकामा छापिदिन्छन्, केटाकेटीहरू रातारात कवि हुन्छन् ।

Prasanna-Ghimireअचानक एका दुई त्यो भीडबाट हराउँछन्, कलेजको कोठाबाट हराएको कुनै विद्यार्थी जस्तो । ती अक्सर जीवनसँग सोझो संवाद गर्न हिँडेका हुन्छन् । शिक्षकले पढाएकोले नपुगेर बजारका स्कुलबाट बाहिर निस्कने त्यस्ता कवि एक्लै हिँड्छन्, चुपचाप लेख्छन् अनि केही वर्षपछि चुपचाप कविताको पुस्तक ल्याएर पाठकको हातमा थमाइदिन्छन् । त्यसरी बजारका स्कुलबाट बाहिर निस्केर, एक्लै हिँडेका कवि नवीन प्राचीनले नयाँ कविता संग्रह 'उभिएर एक्लै' पाठकको हातमा थमाएर आफू भने गोष्ठी, बहस कतै नदेखिएर फेरि बेपत्ता छन् ।

नवीन बहसको मञ्च, गोष्ठी, दारुमहल, चिया महल, कवि कुना कतै भेटिँदैनन् । यी कविका जीवनसाथी क्यानडा बस्छिन्, यिनी बस्छन् दमक । तैपनि यिनी एक्लो लाग्दैनन्, खाली लाग्दैनन् । आफैंमा भरिपूर्ण लाग्छन् जसले जीवनलाई कविताले भरिपूर्ण बनाएको छ । यस्ता कवि यो सहरमा बिरलै भटिन्छन् । यस्ता सर्जकका सिर्जना पढ्दा ओठमा मिठास आउँछ ।

यिनको बारेमा दुई वर्षसम्म सुनेँ- एउटा कवि छ जो भीडमा आउँदैन, राम्रो कविता लेख्छ । दुई वर्षपछि खोज्दै गएर भेटें । केही कविता सुनेँ र फर्किएँ ।अचानक आयो यिनको किताब 'उभिएर एक्लै', जब कि यहाँका साहित्यिक सेलिब्रेटीको किताबको बारेमा एक वर्ष अगाडि नै थाहा हुन्छ । राम्रा लेखकहरू आफ्नो समयमा झुर हुने परम्परा पुरानै हो, जुन जारी छ ।

'उभिएर एक्लै' भित्रका कविताको विषय जिन्दगी हो, जुन सबैको साथमा हुन्छ । जति नै खोजे पनि कविताको विषय जीवनभन्दा पर देखिँदैन ।

विमोचनमा गएँ, वक्ता थिए उपेन्द्र सुब्बा । 'यी भाइ आइरहन्थे मेरोमा तर यति मीठा कविता लेख्छन्, थाहा नै थिएन । आफूले त दुइओटा केही न केहीको संग्रह निकालेपछि मात्रै हो, कविता के हो भन्ने जानेको । तर, नवीन भाइले त पहिलो कृतिमै यति मीठा कविता लेखे,' उपेन्द्र सुब्बाको लिम्बू लवजमा यिनै शब्दमा परेका थिए।

'उभिएर एक्लै' भित्रका कविताको विषय नै जिन्दगी हो, जुन सबैको साथमा हुन्छ । जति नै खोजे पनि कविताको विषय जीवनभन्दा पर देखिँदैन । जीवनले बोकेको सपना र स्वासभन्दा पर हुँदैन । तथापि टैगोरको कविता अलग छ, खलिल जिब्रानको अलग छ । कवितामा आउने पनि उही जीवन हो, उही जीवनसँग गाँसिएका दैनिक विषय हो । उही जीवन अनि जीवनले बोकी हिँडेको विषयलाई जिब्रान एक तरिकाले हेर्छन्, टैगोर अर्को तरिकाले । कवि श्यामल अनि विमल निभालाई नै हेरौं, यो फरक देखिन्छ ।

जिन्दगी अलग हो, जसरी बाँच्ने शैली अलग हुनुपर्छ । सिर्जना अलग हुन् र त्यसको प्रस्तुति अलग । उही 'हेम्लेट'लाई विशाल भारद्वाजले 'हैदर' बनाइदिएका छन् । आफ्नो कथालाई प्रस्तुत गर्ने अलग शैलीले यस्तो हुन्छ । बजारका स्कुलमा बसेर लेख्ने धेरै कविलाई महसुस नभएको यही कुरा नवीनलाई महसुस छ, 'उभिएर एक्लै' पढ्दा थाहा हुन्छ ।

नेपाली कविता जबदेखि गद्यमा चल्न थाल्यो क्रमश: त्यसले छोड्दै गयो मन्त्रको पदचाप । यति लामो समयपछि मन्त्रको त्यो पदचाप नवीनको कवितामा महसुस हुन्छ । गद्यमा पनि मन्त्रको सहद राख्न सकिन्छ, यस्तो हुँदा कवितालाई रद्दिमा फालिने हैसियतबाट माथि उठाउन सकिन्छ ।

'उभिएर एक्लै'मा नवीनबाट यो कोसिस भएको छ । टपटेनमा कतै यो किताब पर्ने छैन, राम्रो सिर्जनाको मूल्यांकन यत्ति चाँडो कहीँ कतै हुँदैन, यहाँ पनि हुँदैन । तर, २० वर्षपछि केही राम्रो पुस्तकको नाम लिनु पर्दा यो किताबको नाम छुट्ने छैन, अहिले टपटेनका थुप्रै पुस्तक भने पप गीत जस्तो कतै छुटिसकेका हुनेछन् अर्को वर्ष नै । टपटेनको लिस्ट बोकेर हिँड्ने कतिसँग यो पुस्तक नै हात परेको हुँदैन अहिले त । उनीहरूको हातमा त बजारले हल्ला गरेर व्यापार गरेका कमसल पुस्तक नै हुनेछन् ।

कुनै पार्टीको झन्डा बोकेर आन्दोलन गरिहिँडेको नेताजस्ता लेखकहरू सेलिब्रेटी भइरहन्छन् बजारमा, अनि उसैगरी हराउँछन् पनि । नवीनजस्ता कवि गुमनाम रहेरै पनि आउँछन् । पाठकले 'उभिएर एक्लै' संग्रहका कविता पढेपछि नवीनलाई नखोजी बस्नै सक्दैनन् । एकान्तमा बसेर कविता लेख्ने उपेन्द्र सुब्बालाई जसरी खोज्यो पाठकले, उसैगरी कुनै दिन नवीनलाई खोज्नेछ । मनु मञ्जिलको नयाँ कविता कहिले आउँछ भनेर खोजिरहने थुप्रै पठक भेटिन्छन् । केही समयपछि नवीनका नयाँ कविता पर्खिरहने पाठक भेटिनेछन् । 'उभिएर एक्लै' पढेपछिको मेरो विश्वास हो यो ।

जस्तो पायो उस्तै कवितालाई कवितै होइन, कवितै भएन भनेर भनिदिँदा धेरै कविहरूको तारोमा परिरहने मनु मञ्जिलले पनि यो पुस्तकबाट आफू प्रभावित भएको कुरा लेखेका छन् । मनु लेख्छन्, 'नवीनका कविता छ मेरो हातमा । उनको कविता पढ्पछि अरू केही पढ्ने मन छैन । आदिम मन्त्रजस्तो शैली । प्रत्येक शब्दको ध्वनि सुन्दै हरफहरूमा बुन्दै गए जस्तो । क्रमश: चाप बनाउँदै जाने र अन्तमा मनमा असर छाड्ने । यो वान्कीको कविता हामीमा नयाँ छ । झेन कविहरूको जस्तो ध्यानमा जाँदा आदिम ध्वनि संकलन गरेझैं गरी कविता लेख्दा रहेछन् प्रतिभाशाली नवीन प्राचीन । नितान्त आफ्नै शैली र भाषामा लेख्न सक्नु असामान्य खेल हो । उनको यो सुन्दर वान्कीको लेखनबाट म आफ्नो गहिराइसम्म प्रभावित छु ।'

समाज अनि जीवनका जटिलतालाई सजिलोसँग बताउन नवीनले आफ्ना कवितामा मसिना कुरालाई विषय बनाएका छन् । 'जाने भयौ भने सँगै लिएर जानु मैले फेर्ने सास पनि÷तिमी नहुँदा त मलाई सास फेर्नसमेत जाँगर चल्दैन' जान्छु भन्ने प्रेमिकालाई केही भन्ने उनको तरिका यस्तो छ । नुनको कथामा उनी भन्छन् - हरे ! कस-कसको आँसु-पसिनाको स्वाद लिइरहेछु म गाँस-गाँसमा ?

एकजना चाइनिज आउँछ अनि पोखरा नजिक भाडामा जमिन लिएर तरकारी खेती गरेर जिन्दगी बनाउँछ, एक इन्डियन आउँछ अनि तराईको जमिन भाडामा लिएर गहुँखेती गर्छ । अनि हामी भने यहाँ काठमाडौंमा कि त सरकारलाई गाली गरि बस्छौं, कि त मेनपावर कम्पनीमा धाउँछौ, अनि ४० वर्षपछि रमाउने कुरा गर्छौं । यही कुरा आउँछ नेपाली कवितामा पनि दिनहुँ । नेपाली समाजलाई पलायनतिर धकेल्न चाहनेहरूको खेल हो यो सब । यहीँनेर नवीन प्राचीनजस्ता कविहरू आवश्यक हुन्छन् । एउटा कविता छ 'दृष्टि' । मानसिकताले कसरी हिँडाउँछ हामीलाई त्यो उनले गज्जबसँग लेखेका छन् ।

कविता साधारण छ । तर, त्यही एउटा कवितालाई पनि ग्रहण गर्न सक्ने हो भने हामी यहाँ धेरै सुन्दर काम देख्न सक्छौं, हामी यतै सयांै सम्भावना देख्न सक्छौं । अर्को एउटा कविता छ फरक शीर्षकको । उनले कवितामा प्रेम गर्ने दुईटा तरिका प्रस्तुत गरेका छन् । पन्छीलाई स्वतन्त्र उडान भर्न दिएर गरिने प्रेम र पन्छीलाई पिँजडामा राखेर गरिने प्रेमको बारेमा बताएर उनले हाम्रो समाजको प्रेम गर्ने शैलीमाथि तिखो टिप्पणी गरेका छन्, त्यो टिप्पणी चट्टान काट्ने पानीको बगाइजस्तो छ । नेपाली समाजले छोरी चेलीमाथि गरेको प्रेम लगभग चरालाई पिँजडामा राखेर गरेजस्तै छ । कुनै आँधीमा हराउनु बेस हो, पिँजडामा रहनुभन्दा । यो कुरा यो समाजले मनन नगरेकोमा कवि दु:खी छन् ।

समाज, जीवन, जीवनका अनेक आयाममाथि कवि प्राचीनले गरेको कवितात्मक टिप्पणी हो, 'उभिएर एक्लै' । यो मीठो छ, नौलो छ अनि हृदयमा राख्ने धेरै थोक छ यसमा । संग्रहमा बलराम अधिकारीले गरेको कविताको अंग्रेजी अनुवाद पनि छ । संग्रहमा सबै कविता एक सय एक त छैनन्, कति कविताभित्र अनेक भाव एउटै कवितामा आएका छन्, त्यसलाई छुट्टाछुट्टै कविता बनाउँदा राम्रो हुन्थ्यो, अझै बढी मन्त्र जस्तो हुन्थ्यो, कविता पढ्दै गर्दा यो महसुस हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.