निजी विमान कम्पनीसँगको सहमतिपछि हुम्ला बन्द खुल्यो
सिमकोट : स्थानीय यात्रु र सामान बोक्न विमान कम्पनी सहमत भएपछि हुम्ला बन्द खुलेको छ । निजी विमान कम्पनीले कैलास मानसरोवर जाने भारतीय मात्रै बोक्न थालेपछि उद्योग वाणिज्य संघ हुम्लाको अगुवाईमा भएको हुम्ला बन्द शनिबार खुलेको हो ।
हवाई यातायातमा मात्रै निर्भर रहेको हुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले विदेशी नागरिकलाई मात्रै बोक्न थालेपछि निकै समस्यामा परेका आक्रोसित हुम्लाका स्थानीयले बन्दको आयोजना गरेका थिए ।
लामो समयको हडताल गर्दा समेत निजी विमान कम्पनीले नटेरेपछि हुम्ला बन्दको आयोजना गर्नु परेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्गले बताउनुभयो ।
विमानलाई समेत चल्न नदिने गरी हुम्ला बन्दको आयोजना गरेपछि निजी विमान कम्पनीका प्रतिनिधि र जिल्लाका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि बीचको वार्तापछि बन्द खुलेको वार्तामा सहभागी एमाले अध्यक्ष दल रावलले बताउनुभयो ।
सिमकोटमा भएको वार्ताबाट हरेक उडानमा चार जना नेपाली यात्रुलाई टिकट दिने, निजी विमान कम्पनीले प्रति किलो कार्गोको नेपालगञ्जबाट एक सय १५ र सुर्खेतबाट एक सय पाँच नेपाली रुपैयाँ लिने सहमति भएपछि बन्द फिर्ता भएको हो ।