आफ्नै निवास पुगेका देउवालाई ओलीको जवाफ ‘संसद रोकिन्छ’
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद चल्न नदिने पुरानै हठ दोहोर्याउनु भएको छ।
शनिबार साँझ कांग्रेस सभापति देउवा ओली निवास बालकोट गएर संसद् अवरोध हटाउने विषयमा छलफल गर्नु भएको हो। तर, ओलीले तत्काल आफूहरु संसद् अवरोध हटाउन नसक्ने भन्दै आइतबार पार्टीको बैठकपछि थप छलफल गर्न सकिने आश्वासन देउवालाई दिनु भएको छ। ‘ओलीको पुरानै हठ छ,’ देउवा निकट स्रोतले भन्यो, ‘आइतबार पार्टीको बैठकपछि पुन छलफल गर्ने भन्नु भएको छ।’
देउवाले भने मतगणना जारी राख्नेकी मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै संसद र सरकारको कुनै भूमिका नहुने भन्दै संसद अवरोध हटाएर अन्य विकल्पमा अघि बढ्न आग्रह गर्नु भएको छ।
देउवाले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले पनि त्यसलाई संसदले निर्देशन समेत दिन नमिल्ने भएकाले एमाले जस्तो जिम्मेवार पार्टीले संसद अवरोध हटाउन ओलीलाई आग्रह गर्नु भएको छ।