आयोगको निर्णयबारे भरतपुर महानगरका दलहरुको मिश्रित प्रतिक्रिया

आयोगको निर्णयबारे भरतपुर महानगरका दलहरुको मिश्रित प्रतिक्रिया

चितवन: निर्वाचन आयोगले भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्।

यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए।

गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आए सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने जनाएको छ।

आयोगको निर्णयसँगै नेपाली काँग्रेस, (माओवादी केन्द्र) र राप्रपाले आयोगको निर्णयअनुरुप अघि बढ्ने बताएका छन् भने नेकपा (एमाले)ले आयोगको निर्णयको विरोध गर्दै कानुनी प्रक्रियामा जाने जनाएको छ।नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विधि र विधानसम्मत आयोगले गरेको निर्णयको कार्यान्वयनमा जाने बताउनुभयो।

काँग्रेसका सबै उम्मेदवारको जीत सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएका कारण पुनः मतदानमा जानुपर्ने बाध्यता आए पनि आयोगको निर्णयलाई स्वीकार गरी आजैबाट प्रचार अभियानमा जुटेको बताउनुभयो।

उता नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले भने आयोगको निर्णय एकतर्फी भएको बताउनुभयो। उहाँले कानुनी प्रक्रियामा जाने र शान्तिपूर्ण आन्दोलन गरेर आयोगको निर्णयको विरोध गर्ने बताउनुभयो।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले आयोगले जे निर्णय गरेपनि मान्ने यसअघि नै बताएको भन्दै यो निर्णयअनुरुप पुनः हुने निर्वाचनमा जुट्ने बताउनुभयो।

माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्तरुपमा प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ऐन नियम र कानुन सबैले मान्नुपर्ने भन्दै मिति घोषणासँगै प्रचारमा जुट्ने बताउनुभयो।

भरतपुर महानगरका २९ वडामध्ये वडा नम्बर १९ को मत गणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर २० को मात्र मतगणना गर्न बाँकी रहेको छ। दुई वडाको मत गणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि हुनुहन्थ्यो।

यसैबीच एमालेसहित चार राजनीतिक दलले आज साँझ संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरेका छन्। एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, नेकपा (माले)का जिल्ला सदस्य सन्तोष श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री र नयाँ शक्ति चितवनका सहसंयोजक पदमबहादुर गुरुङले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा हार्नेहरुले मतपत्र च्यातेर पुनः मतदान गराउन पाउने सिद्धान्तलाई स्थापित गरिए निर्वाचन प्रणालीप्रति नै अनास्था जागृत हुने उल्लेख छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.