'देउवालाई प्रधानमन्त्री बनाउँछौं'
काठमाडौं : आइतबार हुने प्रधानमन्त्री निर्वाचनमा विपक्षी दल एमालेले सहभागी नहुने र संसद् अवरोध गर्ने जनाए पनि माओवादी केन्द्रले निर्वाचनबाटै प्रधानमन्त्री छनोट गर्ने बताएको छ ।
शनिबार बसेको एमालेको स्थायी समिति बैठकले संसद् चल्न नदिने निर्णय गरे उसको निर्णयले मात्रै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया नबिथोलिनेमा माओवादी केन्द्र आशावादी छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार संसद्मा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्काको समर्थनमा देउवाले उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रधानमन्त्री छनोटका लागि व्यवस्थापिका संसद्ले आइतबार मतदान हुने सूचना टाँस गरिसकेको छ ।
माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीका अनुसार प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरे छलफल र वार्ता गरी प्रक्रिया अघि बढाउने रणनीति माओवादीले बनाएको छ । ‘एमालेले संसद् अवरोध गरेर निर्वाचन हुन नदिएलाजस्तो हामीलाई लाग्दैन । त्यस्तो परिस्थिति आए प्रतिपक्षसँग संवाद र छलफल गरी प्रक्रिया अघि बढ्छ । जस्तोसुकै परिस्थितिमा पनि हामी देउवालाई प्रधानमन्त्री बनाएरै छाड्छौं', उहाँले अन्नपूर्णसँग भन्नुभयो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एउटा संवैधानिक निकायले गरेको निर्णयलाई लिएर विपक्ष दल एमालेले संसद् अवरुद्ध गर्न खोज्नु गैरजिम्मेवारीपन भएको बताउनुभयो । ‘आइतबार जे-जस्तो परिस्थिति उत्पन्न भए पनि संसद् चलाउने विषय सभामुखको कुरा भएकाले प्रधानमन्त्री छनोट प्रक्रिया टुंगिनेमा हामी आशावादी छौं', उहाँले भन्नुभयो ।