मधेसीबाहेकका दलले उम्मेदवारी टुंगो लगाए

मधेसीबाहेकका दलले उम्मेदवारी टुंगो लगाए

विराटनगर : मधेसवादीबाहेकका राजनीतिक दलले दोस्रो चरणको निर्वाचनमा पूर्वका स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । प्रदेश नं १ र २ मा उम्मेदवार चयन गर्ने क्रम बढेको छ ।राजनीतिक शक्तिका हिसाबले महत्व राख्ने महानगर र उपमहानगरमा भने उम्मेदवार चयन गर्न अझै रस्साकस्सी चलिरहेको छ । गठबन्धन हुन सक्ने केही नगरपालिका र गाउँपालिकामा भने उम्मेदवारको नामावली थाती राखिएको छ ।

उम्मेदवारको टुंगो लगाउने प्रमुख दलमा कांग्रेस, माओवादी र एमाले अगाडि छन् । राप्रपा नेपाल र संघीय लिम्बुवान पार्टीले पनि कतिपय ठाउँमा उम्मेदवारको टुंगो लगाएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको तालमेलमा मिलेका नाम पनि सार्वजनिक भएका छन् ।

मोरङमा एमालेले तेह्रवटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । चारवटा तहमा टुंगो लगाउन सकेको छैन । विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको टुंगो लाग्न बाँकी छ ।एमालेको १ नं प्रदेश कमिटीको बैठकले मोरङका १७ मध्ये १३ वटामा तहमा उम्मेदवारको टुंगो लगाएको हो । विराटनगर महानगरपालिकाको मेयरमा भने पार्टी अध्यक्ष विनोद ढकाल, संगठन विभाग प्रमुख बाबुराम कार्की र पूवअध्यक्ष महेश रेग्मीको नाम सिफारिस गरेको छ ।

बूढीगंगा गाउँपालिका प्रमुखका आकांक्षीमा बलभद्र सरदार र राजन केसी, सुन्दरहरैंचा नगरपालिका मेयरमा केदार गुरागाईं र राजकुमार ओझा, बेलबारी नगरपालिकाको मेयरमा डीपी राई र ज्ञानेन्द्र सुवेदी हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको माओवादी केन्द्र मोरङले पनि उम्मेदवारको टुंगो लगाएको छ । उसले १७ स्थानीय तह रहेको मोरङमा १६ वटामा उम्मेदवार चयन गरेको छ ।

राजनीतिक शक्तिका हिसाबले महत्व राख्ने महानगर र उपमहानगरमा भने उम्मेदवार चयन गर्न रस्साकस्सी चलिरहेको छ ।

मोरङको बूढीगंगा गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा उम्मेदवार छनोट गरिएको माओवादी केन्द्र मोरङका नेता गणेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार १ महानगर, ८ नगरपालिका र ७ वटा गाउँपालिकामा उम्मेदवाको टुंगो लगाइएको हो ।

माओवादीले १६ वटा स्थानीय तहका प्रमुख-उपप्रमुखसहित सबै वडाध्यक्षको समेत टुंगो लगाएको छ । माओवादीले माओवादी विराटनगरको मेयरमा भोगेन्द्र यादव र नमिता न्यौपाने, उर्लाबारी नगर मेयरमा राजेन्द्र पौडेल र उपमेयरमा धनमाया धिमाल, पथरी शनिश्चरेमा जहरमान लिम्बू र राधिका गौतम, बेलबारीमा तिलक राई र सुशीला भट्टराईलाई उम्मेदवार बनाएको छ ।

सुन्दर हरैंचामा लक्ष्मी न्यौपाने र नवराज चापागाईं मेयर र उपमेयरका उम्मेदवार हुनुहुन्छ । लेटाङ नगरपालिकामा गोपाल नेपाली र शान्ता राई, रतुवामाई नगरपालिकामा प्रकाश पौडेल र लीलामाया तामाङ, रंगेलीमा दिलीप बगडिया र केशवबहादुर बराल र सुनवर्षी नगरपालिका मेयरमा श्याम राजवंशीको नाम टुंगो लगाएको छ ।

मिक्लाजुङ गाउँपालिका प्रमुखमा प्रेम मिभक लिम्बू र उपप्रमुखमा जमुना दाहाललाई अघि सारेको छ । केराबारी गाउँपालिकामा हस्तबहादु गुरुङ र मनमायाँ सुवेदी, कानेपोखरीमा सूर्य धिमाल र तारा ओझा राजवंशी, ग्रामथानमा रमेश भगत थारू र रेणुका चौधरीलाई माओवादीले उम्मेदवार बनाएको छ ।

कटहरी गाउँपालिकामा योगेन्द्र यादव र बिन्दी मि श्रा, जहदा गाउँपालिकामा राजकुमार यादव र धनपाल गाउँपालिकामा विक्रम पासवानलाई प्रमुखको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले जहदा र धनपाल गाउँपालिका एवं सुनबसी नगरपालिकामा उपप्रमुखको नाम टुंगो लगाएको छैन । कांग्रेस मोरङले धेरै नाम सिफारिस भई आएकाले उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।

सुनसरीका प्रमुख दलले धेरैजसो ठाउँमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाएका छन् । १२ वटा स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा कांग्रेस र एमालेले वडाध्यक्षका उम्मेदवार चयन गरेका छन् । तर मेयर र उपमेयर पदमा भने प्रतिस्पर्धा बढी भएकाले चयन हुन बाँकी छ ।

कांग्रेसले बराह नगरपालिका मेयरमा बाबुराम विष्ट, कोसी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः अहिब अन्सारी र अनिता यादव, भोक्राहा गाउँपालिका अध्यक्षमा अजमल अख्तर मियाँ र उपाध्यक्षमा अन्जुदेवी मेहता, गडी गाउँपालिका अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा राजकुमारी चौधरी, हरिनगरा गाँउपालिका अध्यक्षमा गफार अन्सारी, उपाध्यक्षमा रिमझिम भगत, देवानगन्ज गाउँपालिका अध्यक्षमा लालीप्रसाद मेहता र उपाध्यक्षमा पुनिता देवी यादव, बर्जु गाउँपापालिका अध्यक्षमा इस्रायल अन्सारीलाई उठाउने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।

एमालेले धरान उपमहानगर मेयरमा तारा सुब्बा, इनरुवा नरपालिकामा मेयर पोस्टकुमार नेपाल, बराह नगरपालिकामा मेयर नीलम खनाल र उपमेयर कमला मगर, एमालेले बर्जु गाउँपालिकामा प्रमुख फणिलाल चौधरी र उपप्रमुख सोमकुमारी गुरुङ राय, हरिनगर गाउँपालकामा प्रमुख लस्करी अन्सारी र उप्रमुख विनीता मेहेता, बडी गाउँपालिकामा भद्रनारायण चौधरी र रिभा कर्णलाई उठाउने निर्णय भएको एमाले सुनसरी उपाध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो । इटहरी उपमहानगर, रामधुनी, दुहबी नगरपालिका र देवानगन्ज, भोक्राहा, कोसी गाउँपालिकामा टुंगो लगाउन सकेको छैन ।

माओवादी केन्द्रले धरानको मेयरमा अइन्द्रविक्रम बेघा र उपमेयरमा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने भएको छ । इटहरीमा मेयरमा हरिमाया जिमी र उपमेयर सागर सुवेदीलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला इन्चार्ज शारदा पोखरेलले बताउनुभयो ।इनरुवामा मेयरमा नरेन्द्रबहादुर कटवाल, उपमेयर तोया पोदार गिरी, दुहबीमा मेयरमा अर्थलाल चौधरी, उपमेयर रोजिना खातुन, रामधुनीमा मेयर दिनेश चौधरी, बराह नगरपालिकामा मेयर कमलबहादुर कटवाल, उपमेयरमा संगीता राईलाई उठाउने भएको छ । हरिनगरामा प्रमुख दिलु मोहमद मियाँ, उपप्रमुख मुन्नी मेहता, कोसी गाउँपालिकामा प्रमुखमा पञ्चनारायण मण्डललाई उठाउने भएको छ । बाँकी गाउँपालिकामा निर्णय हुन सकेको छैन ।

राप्रपा नेपालले धरानमा मेयर तारा शाक्य, उपमेयरमा प्रकाश राई, इटहरीमा मेयरमा रोहितबहादुर कार्की र उपमेयर माया रायमाझीलाई उठाउने निर्णय गरेको छ । बराहमा मेयरमा नेत्र घिमिरे, उपमेयर होमकुमारी निरौलालाई उठाउने भएको छ । बाँकी नगर र गाउँपालिकामा निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ ।
संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक र साझा पार्टीले उम्मेदवार घोषणा गर्न बाँकी छ । समाजवादीले धरानमा माओवादीलाई मेयरमा समर्थन गरी उपमेयरमा पारस काङमाङ राईलाई उठाउने निर्णय गरेको छ । 'धरानबाहेकका स्थानमा माओवादी र नयाँ शक्तिबीच तालमेल गर्ने पहल हुँदैछ', समाजवादीका केन्द्रीय सदस्य भीम राईले भन्नुभयो ।

सप्तरीमा ९ नगरपालिका र ८ गाउँपालिकासहित १७ स्थानीय तहमा उम्मेदवार छनोट टुंगिन लागेको छ । एमालेले पाँच नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छानिसकेको छ । केहीमा बाँकीमा चार दिनभित्र निर्णय हुने एमाले जिल्ला सचिव शम्भु यादवले बताउनुभयो ।

कांग्रेसका नेता प्रमुख पदको टुंगो लगाउन व्यस्त छन् । प्रमुख पदको टुंगो लगाएपछि बाँकी उम्मेदवार छनोट गरिने कांग्रेसका जिल्ला सभापति दिनेश यादवले बताउनुभयो । 'आकांक्षी धेरै छन्, अरू पार्टीबाट प्रभावशाली नेता प्रवेश गर्ने सम्भावना रहेकाले पनि पर्खिएर बसेका छौं', उहाँले भन्नुभयो ।

माओवादी नेता एवं सांसद उमेश यादवले स्थानीय तहमा दुईदेखि तीनजनासम्मको नाम आएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको मतदान सकिएलगत्तै जिल्ला फर्किएपछि निष्कर्षमा पुग्ने उहाँको भनाइ छ । पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहेको संघीय समाजवादी फोरम नेपाल पनि नयाँ शक्तिसँग समन्वय गरेर उम्मेदवारी दिने तयारीमा लागेको छ ।

अधिकांश पार्टीका नेताले जेठ २५ गतेसम्म उम्मेदवार तय गरिसक्ने जनाएका छन् । राजविराज नगरपालिकामा मेयरका दाबेदार सुखराम यादव फोरम त्यागेर एमालेबाट उठ्नुहुने भएको छ । राजपा त्यागेका भीमराज यादव पनि फोरमबाट मेयरमा उठ्ने तयारीमा हुनुहुन्छ । सिरहामा उम्मेदवार छान्न नसके पनि कांग्रेस, माओवादी र मधेसवादी दलले प्रचारप्रसारु सुरु गरेका छन् । ती दलले वडावडामा र्‍याली गरिरहेका छन् ।

एमालेले उम्मेदवारको टुंगो लागेका ठाउँमा कार्यक्रम गरिरहेको छ । संघीय समाजवादी फोरमले उम्मेदवार घोषणा गरेको छैन । तर मतदाता भेटघाटलाई तीव्रता दिएको छ । तल्लो तहबाट सिफारिस भई आएकै नामलाई प्राथमितामा दिएर छनोट गरिने कांग्रेस जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले बताउनुभयो ।
एमालेले नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष छान्न तीनदेखि पाँचजनासम्मको प्रदेश कमिटीलाई सिफारिस गरेको छ । यता माओवादी केन्द्रको आन्तरिक विवादका कारण उसले धेरै ठाउँमा उम्मेदवार टुंगो लगाउन सकेको छैन । सिरहामा ७ नगरपालिका र १० गाउँपालिका छन् ।

उदयपुरमा कांग्रेस र एमालेले उम्मेदवारको टुंगो लगाएका छन् । माओवादीले पाँच तहमा टुंगो लगाएको छ । चौदण्डीगढी नगरपालिकामा मेयर-उपमेयरमा कांग्रेसबाट खगेन्द्र राई र सम्झना राई, एमालेबाट नरेन्द्र राउत र कान्ता राई उठ्नुहुने भएको छ । आठ स्थानीय तह रहेको उदयपुरमा कांग्रेस र एमालेले सबै र माओवादी केन्द्रले पाँच स्थानमा उम्मेदवारी टुंगो लगाएको छ । वडामा भने हालसम्म कांग्रेसले मात्र उम्मेदवारी टुंगो लगाएको छ । एमाले र माओवादीले ७५ प्रतिशत वडामा टुंगो लगाएको दाबी गरेका छन् ।

त्रियुगा नगरपालिकामा एमालेले जिल्ला इन्चार्ज बलदेव चौधरीलाई मेयर र जिल्ला सदस्य सिर्जना दनुवारलाई उपमेयरको टिकट दिएको छ । कांग्रेसले क्षेत्रीय सभापति वसन्त बस्नेत र देवीकुमारी चौधरीलाई टिकट दिएको छ ।

धनकुटामा कांग्रेस र संघीय समाजवादी फोरमबीच 'एलायन्स' हुने भएको छ । साँगुरीगढी, चौबीसे गाउँपालिका र धनकुटा नगरका केही पदमा एलायन्स हुने पार्टी सचिव विजयसन्तोषी राईले बताउनुभयो ।

साँगुरीगढीमा कांग्रेसका जितेन्द्र राई मेयर, समाजवादी फोरमका बलबहादुर राई उपमेयर, चौबीसेमा कांग्रेसका हर्क चेम्जोङ प्रमुख हुनुहुनेछ । धनकुटा नगरमा मेयर कांग्रेसका दिनेश राई, उपमेरमा रेणु श्रेष्ठको टुंगो लागेको छ । एमालेले भने एकल उम्मेदवारी दिने जनाएको छ । माओवादीले खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा मात्रै उम्मेदवारको टुंगो लगाएको पार्टी सहइन्चार्ज उज्ज्वल किराँतीले बताउनुभयो ।

सात गाँउपालिका र एक नगरपालिका रहेको पाँचथरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले अधिकांश ठाँउमा उम्मेदवारको टुंगो लगाएका हुन् । माओवादी एक महिनाअघि नै उम्मेदवारको टुंगो लगाएर प्रचारमा व्यस्त छ । कतिपय ठाउँमा तालमेलको कसरत भइरहेको माओवादीका नेता ठाकुरसिंह नेम्बाङले जानकारी दिनुभयो । कांग्रेसले याङवरक गाउँपालिकाको उपप्रमुखबाहेक अन्यमा टुंगो लगाएको उहाँको भनाइ छ । 'एक नगरपालिकासहित सातवटै गाउँपालिकामा कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ', जिल्ला सचिव बृजहाङ आङ्देम्बेले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.