नमूना नगरपालिका बनाउने थापाको अठोट
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णहरी थापाले नगरपालिकालाई नमूना बनाउने अठोट लिनुभएको छ । जेठ १० गते सपथ खाएर पद बहाली गरेसँगै थापाले वडाबाटै काम हुनेगरी अख्तियारी दिइसक्नुभएको छ । विकास निर्माण, जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणीकरण जस्ता सबै काम वडा कार्यालयबाट गर्ने निर्णय गरिसकेको उहाँले बताउनुभयो ।
प्रत्येक वडालाई सक्रिय बनाएर वडाको काम वडाबाटै गर्ने सोचका साथ वडालाई नै जिम्मेवारी दिएको थापाले बताउनुभयो । वडाको काममा नगरपालिका अल्झिँदा नगरपालिकाले गुणात्मक विकास गर्न नसक्ने उहाँले बताउनुभयो ।नगरपालिकाले योजना ल्याउने, मनिटरिङलगायतको काम गर्ने थापाले बताउनुभयो । कागेश्वरी नगरपालिकालाई स्मार्ट सिटी बनाउनेतर्फ लागेको थापाले बताउनुभयो । ‘मतदाताले मत दिइसकेपछि धेरै आंकाक्षा राख्छन्, उहाँहरुको मर्म र भावनाअनुसार काम गर्ने छु' उहाँले भन्नुभयो।
मत दिइसकेपछि मतदाताले अपेक्षा राख्नु स्वभाविक भएकाले मतदाताको हितका लागि नगरपालिकाले प्रत्यक्ष समन्वय गर्ने थापाले बताउनुभयो । थापाले हरेक वडामा सिसी क्यामेरा जडान गर्ने, एप्स बनाइने बताउनुभयो । ‘म नगरपालिकाको कार्यालयमा भन्दा फिल्डमा बढी खटिएर काम गर्ने छु ।' उहाँले भन्नुभयो।
थापा २०५४ सालमा पनि गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ‘त्यतिबेला २५ लाखको गाविस चलाएको थिएँ अहिले २८ करोड बजेट परेको छ', उहाँले भन्नुभयो-‘ अधिकार पनि अहिले धेरै नै दिइएको छ । आन्तरिक स्रोत परिचालन गरेर ५० करोडको काम गर्न सकिन्छ ।'
पैसा छरेरमात्रै काम नहुने उहाँको भनाई छ । थापाले प्रत्येक वडामा पाँच/पाँच बेडको अस्पिटल बनाउने, सडक पुर्याउने सोच बनाउनुभएको छ । एम्बुलेन्स सञ्चालन, पर्यटनको विकास, गाउँ जोड्ने सडक निर्माण गर्ने थापाको योजनामा छ । ‘यहाँको मुख्य आकर्षण कृषि र पर्यटन नै हो, यसैका माध्यमबाट नमूना नगरपालिका बनाउँछु ।' उहाँले भन्नुभयो ।
अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्ने गर्नेगरी प्रक्रिया अघि बढाइको नगरपालिका प्रमुख थापाले बताउनुभयो । ठाउँ हेरी विकासका आवश्यकता र प्राथमिकता चयन गरेर काम गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेका तर्फबाट प्रमुखमा निर्वाचित हुनुभएका थापा सहकारीकर्मीसमेत हुनुहुन्छ । थापा समबृद्वि बचत तथा ऋण सहकारीको अध्यक्ष एवम् सहयात्री बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार हुनुहुन्छ ।
२०५४ सालमा गाविस अध्यक्ष भएदेखि नै थापाले आर्थिक संमृद्विका लागि काम गर्दै आउनुभएको थियो । आजभन्दा झण्डै २० वर्षअगाडि देखि नै सहकारीको माध्यमबाट आर्थिक रुपान्तरण गर्न सकिन्छ भनेर लागेको र अहिले पनि जीवनस्तर सुधारको मुख्य आधार सहकारी नै भएको उहाँले बताउनुभयो। बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारीको सट्टा उत्पादनमूलक सहकारीमा ध्यान दिन सके आर्थिक विकास संभव हुने उहाँको बुझाई छ ।
सहकारीलाई करमुक्तको बहस चलिरहेपनि सहकारीलाई कर लगाउनै पर्ने उहाँको भनाई छ । ‘सहकारीले कर नतिर्ने भन्ने हुँदैन तर कर घटाउन सकिन्छ ।' उहाँले भन्नुभयो । २०५८ सालको जनगणना अनुसार काम गरिरहेकाले नगरपालिकाको पछिल्लो तथ्यांक संकलन गर्ने तयारी थापाको छ । ‘सर्वप्रथम यहाँको वास्तविक चित्रण अध्ययन गर्छु र प्राथमिकता तय गरेर काम गर्छु ।' उहाँले भन्नुभयो ।