भारतको चौकीदारी छोडेर व्यवसायिक तरकारी खेतीमा
बझाङ : बुंगोल नगरपालिका ५ विजगडाका प्रमोद कुँवर भारतको चौकीदारी काम छोडेर गाँउमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । नोकरीका लागि भारतमै चौकीदारी गर्न जाने यहाँका युवाहरुको प्रचलन भएपनि कुँवर जागिर छाडेर तरकारी खेति गर्दै आउनुभएको छ ।
दुई वर्ष अगाडि भारतको तामिलनाडुको एक बजारमा चौकीदारी गर्दागर्दै गाँउमै केही गर्ने सोचले उहाँ नेपाल फर्किनुभएको हो । उहाँलाई आफ्नो मालिकले तलब माग्दा अपमानजनक व्यवहार गरेपछि गाउँमै व्यवसायी बन्ने सोच बनाउनुभएको हो ।
बुंगोल नगरपालिकाको केन्द्रमा रहेको विजगडामा उहाँले व्यावसायिक तरकारी खेति गर्दै आउनुभएको छ । २२ वर्षका प्रमोदले बुबाआमाले परम्परागत रुपमा गर्दै आएको धान गहुँ लगाउने खेतमा टिनको टहरामा बस्ने घर बनाई वरपरको ३ रोपनी खेतजमा तरकारी खेति गर्नुभएको छ । ‘मेरो खेत बाहेक अन्य खेत पनि भाडामा लिएको छु’ उहाँले भन्नुभयो । गाँउठाँउमा पनि पैसा कमाउन सकिने उहाँमा विश्वास बढेको छ ।
उहाँले बगैँचामा मौसमी, बेमौसमी तरकारीहरु लगाउनुभएको छ । दाई भाउजु र उनीहरु छोराछोरी सहित आमा गरि ७ जनाको परिवार नै तरकारी खेतिमा सक्रिय छन् ।
प्रमोदले लालु प्याज, टामटर भन्टा फलाउनुभएको छ । घर छोडेर तरकारी लगाउने खेतमै रात दिन बस्ने गरेका प्रमोदले मासिक ३५ हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।
तरकारी व्यावसायबाट राम्रो आम्दानी हुनुका साथै तरकारी बिक्रीका लागि पसल पनि खोल्नु आवस्यक भएकाले उनका दाई कमल कुँवरले किराना तथा तरकारी पसल राख्नुभएको छ ।
‘म पनि इण्डियामै बस्थेँ, प्रमोदका दाई कमलले भन्नुभयो-‘भाईले गरेको तरकारी पेशा फस्टाएपछि अहिले म पसलमा बस्छु।’ डेड वर्षदेखी व्यावसायिक तरकारी खेती गर्दै आएका प्रमोदलाई उहाँको मेहनत देखेर अहिले पहल भन्ने संस्थाबाट थप प्राविधिक तथा आर्थिक सहयोग गरे पछि हौसला मिलेको बताउनुभयो ।
घरको आर्थिक अवस्थाले पढ्न नसकेर भारत हिड्नु परेका प्रमोदले तरकारी व्यावसाय अगाँलेर मनग्गे आम्दानी हुनथालेपछि गाँउमा रहेका अन्य बेरोजगार युवालाई पनि प्रेरणा मिलेको स्थानीय चक्र कुँवरले बताउनुभयो ।
यहाँका युवा बेरोजगार भारतमै जाने गरेका छन् । गाँउमा यातायतको सुविधा र पहल लगायतका संघसंस्थाले युवालाई व्यावसायिक तरकारीमा लाग्न सहयोग गरेको छ । । यस्तै लक्ष्मी कुमारी भण्डारीले पनि संस्थाको सहयोग पाएपछि तरकारी खेती गर्न थाल्नुभएको छ ।